logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

गीत ‘तिम्रो झझल्को’ को चिरफारः प्रेम र कारुणिक भावको मार्मिक प्रस्तुति

गीत ‘तिम्रो झझल्को’ को चिरफारः प्रेम र कारुणिक भावको मार्मिक प्रस्तुति


  • बुधबार, माघ २ २०८१
  • 3K
    SHARES

    यसपटक तृप्ति खड्का गुरुङले रामकृष्ण ढकाल र उदित नारायण झासँग सहकार्यमा दुई नयाँ गीत बजारमा ल्याउने तयारी गरिरहेकी छिन्।

    लोकसारथि, २ माघ। गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वरमा सजिएको नयाँ गीत तिम्रो झझल्को करिब १५ दिन अघि सार्वजनिक भएको छ। यस गीतले प्रेम, बिछोड र स्मृतिको गहिरो भावनालाई मार्मिक र कारुणिक ढंगले प्रस्तुत गरेको छ। गीतमा तृप्ति खड्काको संगीत र कवि तथा गीतकार हरि उप्रेतीका मनछुने शब्दहरु रहेका छन्। यो समाचार बनाउन शुरु गर्दासम्म भिडियोले १ लाख ३८ हजार भ्युज पाइसकेको थियो भने समाचार प्रकाशन गर्दासम्म भ्युज बढेर १ लाख ५५ हजार ९९५ पुगिसेको छ ।

    गीतको संगीत संयोजन राजेन्द्र श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेले तयार पारेका हुन्। सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको यस गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको जीवन्त अभिनय देख्न सकिन्छ।

    भिडियोको निर्देशन विजय गुरुङले गरेका छन्। दृश्यलाई सुन्दर बनाउन सिनेमाटोग्राफी र ड्रोन अपरेसनमा प्रकाश खड्काको भूमिका रहेको छ भने भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माले गरेका छन्। कलाकारहरूको श्रृङ्गारको जिम्मा कविता तोलाङ्गीले सम्हालेकी छिन्।

    भिडियोको कथा र प्रस्तुति
    भिडियोको कथावस्तुमा प्रेम, साहस र सपना देखाइएको छ। सुरुवातमा तीन गुण्डाले जंगलमा एउटी केटीलाई पछ्याइरहेको देखिन्छ। यही बेला एक केटा आएर केटीलाई बचाउँछ। त्यसपछि उनीहरू प्रेमिल क्षणमा डान्समा रमाउँछन्। तर, भिडियोको अन्त्यमा पनि गुण्डाहरुले पछ्याइरहेको दृश्य दोहोरिन्छ। यसबीचमा कहिल्यै केटालाई सपना देखेर झस्किएको देखाइन्छ भने कहिल्यै उनीहरूलाई रमाइलो नृत्यमा रमाइरहेको देखाइन्छ।

    भिडियोले कथावस्तुलाई सशक्त बनाउन खोजे पनि दृश्यक्रम स्पष्ट र बोधगम्य छैन, जसले दर्शकलाई कथा बुझ्न केही चुनौती पुर्याउन सक्छ।

    तृप्ति खड्का गुरुङ: भर्सटाइल गायिका
    सात दर्जनभन्दा बढी गीत गाइसकेकी तृप्ति खड्का गुरुङ बहुआयामिक गायिका हुन्। उनले हरेक प्रकारका गीत, गजल, र भजन गाउन सक्ने कला राख्छिन्। यसपटक उनले रामकृष्ण ढकाल र उदित नारायण झासँग सहकार्यमा दुई नयाँ गीत बजारमा ल्याउने तयारी गरिरहेकी छिन्।

    तिम्रो झझल्को गीतले नेपाली संगीत क्षेत्रमा एक नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। संगीतप्रेमीहरूले यो गीतलाई प्रेम, बिछोड र भावनाको गहिराइमा डुबुल्की मार्न एक अवसरका रूपमा लिनेछन्।

    प्रकाशित : बुधबार, २ माघ २०८१ , ०६:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend