आजका समाजमा फास्ट फूडको बढ्दो लोकप्रियता र अस्वस्थ जीवनशैलीको प्रचलनले मानिसको स्वास्थ्यमा गम्भीर असर पारेको छ। कुरकुरे, आलु चिप्स, चाउचाउ, म:म: र चाउमिनजस्ता खाद्य पदार्थमा पाइने खराब ट्रान्सफ्याट र माइक्रोप्लास्टिकले हाम्रो शरीरमा गम्भीर र दीर्घकालीन असर पुर्याउन सक्छ। यी पदार्थमा मसालाको विशेष संयोजन गरिन्छ, जसले शरीरलाई लतको शिकार बनाउँछ र स्वस्थ्यका लागि खतरनाक रोगहरूको जन्म दिन्छ।
फास्ट फूडका यी पदार्थहरूको सेवनले डिप्रेशन, क्यान्सर, डाइबिटिज, किड्नी फेल्योर र फ्याटी लिवर जस्ता जटिल रोगहरूको जोखिम बढाउँछ। साना बालबालिकाहरूसँग त यसका प्रभावहरू अझ गम्भीर हुन्छन्, किनकि बालबालिकाहरूले चिनी, सेतो नुन, रिफाइन्ड तेल, र फ्रिजमा चिस्याइएको पानी जस्ता अस्वस्थ पदार्थहरूको धेरै सेवन गर्दछन्। यी पदार्थहरू जीवनशैलीका अवयव बनेका छन्, जसले अन्ततः तिनको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। ताते ताते गर्दै हिँड्ने अबोध बालबालिकाले कुरकुरे, आलु चिप्सको प्याकेटतर्फ चाहियो भन्ने भावले आफ्नी आमा वा बुवासामु किराना पसल अघि इसारा गरेको मैले अनेकौँ पटक देखेको छु ।
अभिभावकहरूले आफ्ना बालबालिकालाई स्वास्थ्यवर्धक आहार दिनका लागि सचेत रहनु अत्यन्त महत्त्वपूर्ण छ। अधिकांश अभिभावक आफूलाई थाहा नहुनसक्दा या उपभोक्तावादको प्रभावमा पर्नसक्दा आफ्ना सन्तानलाई यस्ता हानिकारक खाद्य पदार्थ दिन्छन्। यसका परिणामस्वरूप, बालबालिकामा यस्ता पदार्थको लत र स्वास्थ्य समस्याहरू देखिन थाल्छन्।
बजारमा पाइने अधिकांश उपभोग्य वस्तुहरूमा मिलावट गरिएको छ, जसले खाद्य सुरक्षा र स्वास्थ्यको लागि ठूलो चुनौती खडा गरेको छ। न केवल यी खाद्य पदार्थको सेवनले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ, तर उत्तम स्वास्थ्य अभ्यासको अभाव र अस्वस्थ जीवनशैलीले पनि मानिसलाई बुढ्यौली र दुर्बलताको सिकार बनाइरहेको छ। आजको समाजमा रोगको उपचारका लागि अस्पताल धाउन र त्यसमा धन खर्च गर्नु सामान्य कुरा जस्तो भएको छ। सन्तान र परिवारको स्वास्थ्यलाई ठुलो धन मान्ने हाम्रा अभिभावकहरूले अब स्वास्थ्य सचेतना र एक सही जीवनशैली अपनाउनु आवश्यक छ।
समाजमा स्वास्थ्य सचेतना फैलाउने काम केवल चिकित्सक, स्वास्थ्य सेवा प्रदायक र सरकारी निकायहरूको मात्र जिम्मेवारी होइन। हामी सबैलाई आफ्नो जीवनशैलीमा सुधार गर्दै अस्वस्थ बानीहरू त्याग्न आवश्यक छ। पिज़्जा, बर्गर जस्ता हानिकारक फास्ट फूडको लतलाई नियन्त्रण गर्न, स्वस्थ खानेकुराहरूको सेवनलाई प्राथमिकता दिन र शारीरिक सक्रियता कायम राख्नका लागि समाजका सबै निकायहरूको सक्रियता महत्त्वपूर्ण छ।
हामी हाम्रो शरीर र स्वास्थ्यलाई जिम्मेवारीपूर्वक सँगाल्नु पर्दछ। सही खानपान, नियमित व्यायाम र मानसिक स्वास्थ्यको ख्याल राखेर हामी जीवनलाई दीर्घकालिक र स्वस्थ बनाउन सक्छौं। स्वास्थ्य सचेतना वृद्धिको खाँचो छ र यसका लागि जिम्मेवार निकायहरूले पनि थप कदम चालेका हुनुपर्दछ। यसमा हामी सबैको सामूहिक प्रयास अपरिहार्य छ, ताकि भविष्यमा हामी र हाम्रा सन्तानलाई स्वस्थ र समृद्ध जीवन प्राप्त होस्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
