सम्पादकीय
म भारतमा जन्मिएँ, भारतमै हुर्किएँ । आफ्नो देश आफ्नै हो, देशका लागि केही गर्नुपर्छ । सुख्खा रोटी नुनखुर्सानीसित मात्रै खाए पनि वा भोकै बसे पनि कम्सेकम सम्मानित जीवन त बाँच्न सकिन्छ भनी २०५३ सालमा नेपाल आएँ । जनयुद्ध घोषणा भइसकेको थियो अर्थात् तीस वर्षअघि, २०५२ साल फागुन १ गते, नेपाली जनताले अन्याय, शोषण, र दमनविरुद्ध विद्रोहको राँको बालेका थिए। यस ऐतिहासिक आन्दोलनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्यायो। तथापि, तीन दशकपछि पनि, नेपाली समाजका धेरै समस्याहरू जस्ताको तस्तै छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस अवसरमा शुभकामना सन्देश जारी गर्दै जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले जनयुद्धकै कारण आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गरे।
तर, जनयुद्धको प्रभाव समाजमा कस्तो रह्यो ? विभेद र शोषण अन्त्य गर्न संघर्ष गरिएको भए पनि जातीय र सामाजिक सद्भाव बलियो बन्न सकेन। नेपाली समाज ‘हामी नेपाली, हामी सबैको नेपाल’ को मूल सिद्धान्तमा एकीकृत हुनुपर्नेमा विभिन्न जातीय, धार्मिक, र क्षेत्रीय समूहमा विभाजित भएको देखिन्छ।
आज, भ्रष्टाचार उन्मूलन हुनुको सट्टा झन् मौलाएको छ। गरिबी उकालो लागेको छ, बेरोजगारी उच्च छ, र युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्। मुलुकलाई आफ्नो सीप, श्रम र सिर्जनाले समृद्ध बनाउने नागरिकको सर्वाेच्च हैसियतको पहिचानलाई दलित’ भनेर वैश्वीकरण गरिनु आफैंमा लज्जास्पद छ। जनयुद्धले सबै नेपालीलाई एउटै मापदण्डमा राखेर गरिबी निवारणका कार्यक्रम ल्याउनुपर्नेमा जातीय र समूहगत पहिचानलाई बलियो बनायो, जसले समाजलाई झनै ध्रुवीकरण गरायो।
न्याय, समानता, र समृद्धिको सपना बोकेर गरिएको विद्रोहले अन्ततः समाजलाई झनै टुक्राटुक्रा पारेको छ। आरक्षण, समानुपातिक प्रतिनिधित्व, र अन्य नीतिहरूले सत्तामा पहुँच पुर्याए पनि, समाजमा वास्तविक समानता स्थापित हुन सकेको छैन।
सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गर्नु केवल कानुनी निर्णय मात्र होइन, यो नेपाली समाजमा जनयुद्धको प्रभावमाथि गम्भीर समीक्षा गर्ने अवसर पनि हो। अबको बाटो भनेको समृद्ध नेपाल निर्माणका लागि सबै नेपालीलाई एउटै मापदण्डमा राखेर अघि बढ्नु हो, जहाँ गरिबीको स्तरलाई प्रमुख आधार बनाइ आरक्षण र सुविधा उपलब्ध गराइने छ, न कि जातीय वा धार्मिक पहिचानलाई प्राथमिकता दिइने।
नेपालले अब आर्थिक, सामाजिक, र सांस्कृतिक समृद्धिको बाटो समात्नुपर्छ। विगतका गल्तीबाट पाठ सिक्दै अब सबै नेपालीलाई समान अवसर र अधिकार सुनिश्चित गर्ने नीति अवलम्बन गर्नुपर्छ। जनयुद्धले ल्याएको संघीय लोकतान्त्रिक प्रणालीलाई सही दिशामा लैजान सकिएन भने मुलुकलाई समृद्ध बनाउने सपना अधुरै रहनेछ।
स्मरण रहोस्, हाम्रो पहिचान तीनवटा आधारमा निर्धारण हुन्छ: १) जातीयताको आधारमा, २) राष्ट्रियताको आधारमा, र ३) आध्यात्मिकताको आधारमा। जातीयताको आधारमा हामी मानव हौँ, राष्ट्रियताको आधारमा हामी नेपाली हौँ, र आध्यात्मिकताको आधारमा हामी आत्मा, शुद्ध चेतना, अखण्ड ज्योति वा सच्चिदानन्द हौँ। पहिलो दुई पहिचान जीवनभर कायम रहन्छन्, तर अन्तिम पहिचान अनन्तकालसम्म स्थिर रहन्छ। यो यथार्थलाई जनयुद्धले चिन्नै सकेन ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
