सम्पादकीय
शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो। शिक्षाले मात्र समृद्धि सम्भव छ, तर वर्तमान परिप्रेक्ष्यमा नेपालको शिक्षा प्रणाली संकटग्रस्त देखिन्छ। राज्य, शिक्षण संस्था, विद्यार्थी, अभिभावक तथा नागरिक समाज सबै यसमा सरोकारवाला छन्, तर यथार्थ यो हो कि नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि धमाधम विदेश पलायन भइरहेका छन्।
विद्यार्थी पलायनको प्रमुख कारण शिक्षाको गुणस्तरमा देखिएको कमजोरी हो। अधिकांश शिक्षकहरू विषयवस्तु प्रस्तुत गर्न हिच्किचाउँछन्, जिज्ञासु विद्यार्थीहरूलाई निरुत्साहित गर्छन्, अनि पाठ्यक्रम बाहिरका जटिल अवधारणाहरू परीक्षा प्रश्नपत्रमा राखेर अनावश्यक बोझ थोपर्छन्। परीक्षाको मूल्यांकन प्रणाली अवैज्ञानिक छ, जसले गर्दा विद्यार्थीहरू मानसिक तनावमा परेर स्वदेशी शिक्षाप्रति नै वितृष्णा राख्न थाल्छन्।
शिक्षा व्यवस्थापनको अर्को जटिलता भनेको निरङकुश शुल्क संरचना हो। निजी विद्यालय र विश्वविद्यालयहरूले मनोमानी ढंगले शुल्क असुलिरहेका छन्, जुन सर्वसाधारणका लागि थेग्नै नसकिने स्थिति बनिसकेको छ। शिक्षालाई व्यवसायिककरण गर्दै बिना गुणस्तर शुल्क वृद्धि गरिनु शिक्षा प्रणालीको असफलताको संकेत हो।
अर्काे विकराल समस्या आफ्ना बालबालिकाको पढाइ र शैक्षिक रुचिप्रति अभिभावकले चासो नराख्नु वा सक्रियता नदेखाउनु हो । म शिक्षकको भूमिकामा शिक्षण पेशामा आबद्ध छँदा एउटा घटनाको स्मरण हुन्छ । कक्षा ५ मा अध्यापन गर्दै थिएँ आजभन्दा करिब १२–१३ वर्ष पहिला । मलाई प्राचार्यको कार्यालयमा बोलाइयो । प्राचार्यले भन्नुभयो–‘‘एकजना अभिभावक आएर कम्प्लेन गर्नुभएको छ । तपाईले पाठ्यपुस्तकमा जे छ त्यो नपढाएर त्योभन्दा बाहिरको पढाउनुहुन्छ रे ।’’ मैले भनेँ, ‘‘सर बाहिरको होइन, मैले पाठ्यपुस्तकको पाठमा दिइएको विषयवस्तु सम्बन्धी थप जानकारी दिन्छु व्याख्या गर्ने क्रममा । पाठ्यपुस्तकमा दिइएको पाठ्यवस्तु पर्याप्त छैन ।’’ प्राचार्यले सुझाव दिनुभयो–अभिभावकले चाहनुहुन्न भने पाठ्यपुस्तकमा जे छ त्यतिको मात्रै व्याख्या गरिदिनुस्, भइ गो । मैले हुन्छ सर भनेर कक्षा कोठामा फर्केँ ।
‘‘आज एउटा जानकारी प्राप्त भएको छ मलाई । पुस्तकमा दिइएको पाठलाई राम्ररी बुझाउन तिमीहरुलाई शीर्षकसँग सम्बन्धित थप जानकारी दिने गरेको छु । यो कुरा कुनै कुनै अभिभावकलाई मन परेन । त्यसैले आजदेखि म त्यतिनै व्याख्या गर्छु जति पुस्तकमा लेखिएको छ ।’’ मैले विद्यार्थीहरुसामु कुरा राखेर पढाउन थालेँ । अनुच्छेदमा जे छ त्यतिको मात्रै व्याख्या गरिदिन्थेँ । दिनदिनै पारम्परिक शैलीमा पढाउँदा म भित्रैदेखि खुशी भने थिइनँ । करिब दुई सातापछि एकजना विद्यार्थी पछाडिको पंक्तिबाट उठेर भन्छ– ‘‘सर पहिलाकै शैलीमा पढाउनुहोस् ।’’ विद्यार्थीले पुस्तकमा दिइएकोभन्दा बढी जानकारी दिनुस् पहिला झैँ भन्ने आशय प्रकट गरेकी थिइन् । ती छात्रा उनै अभिभावककी छोरी थिइन् जसले अफिसमा आएर कम्प्लेन गरेका थिए ।
आफ्नै सन्तानको बौद्धिक आवश्यकता र रुचि के कति छ भन्ने कुरा सम्बन्धमा आजकलका अभिभावक अनभिज्ञ छन् । आजभोलिका विद्यार्थीको बौद्धिक माग पुस्तकको पारम्परिक ज्ञानभन्दा अतिरिक्त ज्ञानको छ । यसले आधुनिक शैक्षिक जगतको प्रतिस्पर्धामा उत्रिन बल प्रदान गर्छ । पुस्तकमा भएको जानकारी त त्यसैमा छ, विद्यार्थीले जतिबेला पढ्न चाह्यो पढ्न सक्छ । परन्तु त्यही कुरालाई अतिरिक्त खुराकले पुष्ट पार्न शिक्षक पनि अनिच्छुक देखिन्छन् । यस्तै मनोदशा भएका अभिभावकका कारण ।
नेपालमा औपचारिक शिक्षा प्राप्त गरे पनि रोजगारीको सुनिश्चितता छैन। हजारौँ युवाहरू बेरोजगार छन्, शिक्षित बेरोजगारीको समस्या महामारीको रूपमा देखापरेको छ। उच्च शिक्षा प्राप्त गरे पनि देशमै अवसर नपाएर युवा विदेशिन बाध्य छन्। नेपालले उत्पादन गरेको जनशक्ति मुलुककै श्रम बजारमा नअट्दा राष्ट्रलाई नै घाटा भइरहेको छ।
सीपमूलक तथा व्यवहारिक शिक्षाको खाँचो छ। सरकारले विद्यालय तहमा प्राविधिक तथा व्यवसायिक धार लागू गर्ने प्रयास गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। आवश्यक भौतिक पूर्वाधार, प्रयोगशाला, कार्यशाला तथा दक्ष जनशक्ति अभावका कारण विद्यार्थीहरूलाई सीपमूलक शिक्षा दिन सकिएको छैन। जब शिक्षाले वास्तविक जीवनका लागि उपयोगी सीप प्रदान गर्न सक्दैन, तब विद्यार्थीहरू विदेश पलायन हुनु स्वाभाविक हुन्छ। अध्यापनका लागि दक्ष जनशक्ति चाहिन्छ भन्ने कुरालाई उपेक्षा गरिन्छ । यो पनि जल्दोबल्दो अर्काे शैक्षिक समस्या हो । अंग्रेजी बोल्न सक्ने हुनुपर्यो, बोर्डिङ स्कूलमा जुन विषय पढाए नि हुन्छ भन्ने अभ्यास प्रायः धेरै स्कूलहरुमा छ । उदाहरुका लागि स्वास्थ्य विषयलाई लिन सकिन्छ । यो विषय बोर्डिङ स्कूलहरुमा जसले पढाए नि हुन्छ । दक्ष वा विशेषज्ञ शिक्षक चाहिँदैन ।
यस समस्याको समाधान खोज्न ढिला भइसकेको छ। राज्यले अब गम्भीरताका साथ शिक्षा नीतिलाई पुनरावलोकन गर्न आवश्यक छ। शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीको रुचि, आवश्यकतासँग मेल खाने पाठ्यक्रम विकास गर्नुपर्छ। परीक्षा प्रणालीलाई पारदर्शी, वैज्ञानिक र प्रभावकारी बनाउन जरुरी छ। शिक्षालाई नाफामूलक व्यवसाय होइन, राष्ट्रिय हितको साधनका रूपमा स्थापित गर्नुपर्छ।
योजनाबद्ध रूपमा आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षानीति अवलम्बन गरिनुपर्छ। नेपाललाई कुन क्षेत्रमा कति दक्ष जनशक्ति आवश्यक छ भन्ने यकिन गरिनुपर्छ। अध्ययन सकिएपछि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ नीति निर्माताहरूको ध्यान जानुपर्छ।
अब अभिभावक, विद्यार्थी र नीति निर्माताहरूले चेतनशील बन्नुपर्ने समय आइसकेको छ। शिक्षालाई राष्ट्रिय आवश्यकतासँग जोडेर समसामयिक, गुणस्तरीय, व्यावसायिक तथा जीवनोपयोगी बनाउने हो भने मात्र विद्यार्थी पलायन रोक्न सकिन्छ। अन्यथा, नेपालको शिक्षा प्रणालीको अधोगति रोक्न कठिन हुनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
