सम्पादकीय
धर्म समाजलाई सकारात्मकताले भरिपूर्ण बनाइदिने प्रमुख आधार हो। तर जब धर्मको दुरउपयोग हुन्छ तब अराजकता मच्चिन्छ, त्यसले समाजमा विभाजन, अस्थिरता र हिंसा निम्त्याउँछ। पोखरामा विजय भण्डारी उर्फ बालेश्वर महाराजको पछिल्लो गतिविधि यही प्रकारको अराजकताको उदाहरण हो। असल धार्मिक आस्थाले मानिसको मन, वचन र कर्ममा सन्तुलन ल्याउँछ । विडम्बना ! आजको समाज पूर्णतया असन्तुलित बन्दै गएको छ । मानिसले मानिसलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । आध्यात्मिक ऊर्जाका रुपमा नहेरेर आफ्ना निकृष्ट स्वार्थ पूरा गर्ने वा जति सक्यो उति भोग्नुपर्ने साधनको रुपमा हेर्न थालिएको छ मानिसलाई । यस्तै कार्यमा संलग्न देखिन्छन् विजय भण्डारी ।
विगतमा ठगीको आरोपमा कैद भोगेका भण्डारी आफुलाई कृष्णमूर्ति घोषित गर्दै आएका छन्। धार्मिक आस्थाका नाममा उनले पोखरामा ‘‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ’ आयोजना गर्ने घोषणा गरे। यो आयोजनाले विवाद जन्मायो, किनभने यसको लागि प्रयोग गरिएको बाराही घाट क्षेत्रको जग्गा भाडामा दिने निर्णय विवादित रह्यो। महानगरपालिकाले यसको अनुमति नदिएपछि समेत उनले भूमिपूजन सम्पन्न गरे, जुन कानुनको ठाडो उल्लङ्घन हो।
शुक्रबार भएको घटनाले भण्डारीको अतिवादी सोचलाई थप उजागर गर्यो। उनले हतियारधारी समूह परिचालन गर्दै नगर प्रहरीमाथि निर्मम आक्रमण गरे। फलामे रड, बेतको लौरो, ढुंगा र चक्कु प्रयोग गरेर उनले आफ्नो प्रभाव देखाउन खोजे। उनको योजनाबद्ध हिंसाले प्रशासनलाई चुनौती दियो। तर प्रशासनको भूमिकाले गम्भीर प्रश्न खडा गरेको छ।
पोखराका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कानुनी प्रक्रिया कुर्ने भन्दै विजय भण्डारीलाई कारबाही गर्न सकेका छैनन्। पोखरा महानगरपालिकाले कोटीहोम रोक्न लिखित निर्णय गरिसकेको छ, तर उच्च अदालतको आदेशका कारण प्रशासन निरीह देखिएको छ। अझ खतरनाक पक्ष के छ भने, विजय भण्डारीको पछाडि राजनीतिक संरक्षण रहेको देखिन्छ। विश्व हिन्दू महासंघका उपाध्यक्ष तथा राप्रपाका नेता शंकर खरालले उनलाई खुलेर समर्थन गरेका छन्। यस्तो स्थितिमा प्रशासनको निष्क्रियता झनै गम्भीर देखिन्छ।
विजय भण्डारीको अभियान धार्मिक भन्दा पनि आर्थिक फाइदा र राजनीतिक प्रभाव विस्तार गर्ने रणनीति हो। उनले धर्मको आडमा सार्वजनिक सम्पत्ति दोहन गर्ने, वातावरणीय क्षति गर्ने, र कानुन हातमा लिने जस्ता कार्य गर्दै आएका छन्। पिपल र समीको रुख काटेर धार्मिक काम सम्भव हुँदैन, बरु यस्तो गतिविधिले धर्मको बदनाम गर्छ। धार्मिक संस्थाहरू, सनातनी धर्मगुरुहरू तथा सचेत नागरिकहरूले यस्तो कार्यको भर्त्सना गर्नुपर्छ।
विजय भण्डारीको अराजकता चरममा पुगेको देखिन्छ । प्रहरिमाथि समेत ज्यान लिने मनशायसहित सांघातिक आक्रमण गरिएको छ । प्रशासनको खिल्ली उडाइएको छ । प्रशासनले कानुन हातमा लिने जो कोहीलाई कडा कारबाही गर्नु आवश्यक छ। पोखरा धार्मिक नगरी हो, यहाँ धार्मिक पर्यटनले अर्थतन्त्रलाई टेवा पुर्याउन सक्छ। तर धर्मको नाममा हिंसा, अराजकता, र गैरकानुनी कामलाई प्रश्रय दिनु पोखराको सौन्दर्य र शान्तिलाई नै ध्वस्त पार्ने कार्य हुनेछ। विजय भण्डारीमाथि यथाशीघ्र कडा कारबाही हुनु आवश्यक छ, अन्यथा यो घटनाले अझ ठूलो दुर्घटनाको रूप लिन सक्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
