logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राजावादी भनाउँदाहरु पनि उनै अवसरवादी नै त हुन्

राजावादी भनाउँदाहरु पनि उनै अवसरवादी नै त हुन्


  • मंगलबार, फाल्गुन २७ २०८१
  • 1.5K
    SHARES

    सम्पादकीय

    पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतपछि राजनीतिक माहोल तातेको छ। काठमाडौंमा राजावादीहरुद्वारा आयोजित स्वागत समारोहपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम धनगढी पुगेर प्रतिक्रिया दिएका छन्। उनले कुनै अद्भुत घटना भएको छैन, केही भएकै छैन। कसैले उचालेको पनि छैन भन्दै राजावादी आन्दोलनप्रति अनभिज्ञता जनाएका छन्।

    यद्यपि, देउवाको भनाइ विपरीत काठमाडौंको दृश्य फरक थियो। राजावादीहरुको उत्साह बढेको देखिएको छ। आइतबारको प्रदर्शनमा युवा पुस्ताको उल्लेखनीय सहभागिता रहनुले जनमानसमा असन्तुष्टि रहेको संकेत गर्छ। विश्लेषकहरुका अनुसार हालका शासकहरूप्रति जनता आक्रोशित छन्, किनकि सत्तामा पुगेका दलहरूले सुशासनका नाममा भ्रष्टाचार प्रवर्धन गरेको आरोप खेपिरहेका छन्।

    राजनीतिक परिदृश्यमा तत्कालीन घटनाले तनाव बढाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर पूर्वराजालाई पार्टी खोल्न चुनौती दिइरहेका छन्, भने प्रचण्डले आफ्नो पदमा असहजता महशुस गरिरहेको चर्चा छ। सरकार पनि स्थिति नियन्त्रणमा राख्न सतर्क देखिएको छ।

    राजावादीहरुको आन्दोलन तीव्र हुने संकेत पाएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको छ। राष्ट्रपति कार्यालय (शीतल निवास), उपराष्ट्रपति कार्यालय (हरित गृह), सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन नयाँ बानेश्वर क्षेत्र आसपासमा ५ जनाभन्दा बढी भेला भएर विरोध कार्यक्रम गर्न रोक लगाइएको छ।

    प्रशासनका अनुसार निषेधाज्ञा फागुन २५ गते आइतबारदेखि लागू भई आगामी २ महिना कायम रहनेछ। निषेधाज्ञाको आदेशमा, अत्यावश्यक सेवा, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्तिको सुरक्षामा असर पर्ने विरोध प्रदर्शन रोक्नुपर्ने उल्लेख गरिएको छ।

    राजनीतिक रूपमा संवेदनशील यो अवस्थामा ओली, देउवा, र प्रचण्डका अभिव्यक्तिहरू प्रतीक्षित छन्। राजावादी आन्दोलनले राजनीतिक भूगोलमा कस्तो प्रभाव पार्नेछ भन्ने अझै स्पष्ट छैन, तर सत्तासीन दलहरूमाथि दबाब भने बढेको देखिन्छ। यद्यपि राजा फकाँऔँ को जनभावनाजन्य आन्दोलनले यतिको तीव्रता लिनु आफैमा परिवर्तनको सूचक हुन सक्छ । जनमनमा प्रश्न अझै उही छ के राजा फर्काएर देश समृद्ध होला ? के जनता सुखी होलान् ? किनकि राजावादी भनाउँदाहरु पनि उनै अवसरवादी नै त हुन् जसले आफ्नो स्वार्थ पूरा गर्न उचाल्न र खसाल्न बाहेक केही गर्न जान्दैनन् । राष्ट्रहितमा समर्पित भई निःस्वार्थ भावले योगदान दिन कोही त जन्मियोस् !

    प्रकाशित : मंगलबार, २७ फाल्गुन २०८१ , ०२:०८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend