logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गणतन्त्रको रक्षा: वर्तमान चुनौती र साझा निकास

गणतन्त्रको रक्षा: वर्तमान चुनौती र साझा निकास


  • शनिबार, चैत्र २ २०८१
  • 2.5K
    SHARES

    सम्पादकीय

    नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ। समाजवादी मोर्चाले हालै गरेको निष्कर्ष अनुसार, राजतन्त्र पुनर्स्थापनाका लागि भइरहेको षड्यन्त्र र सरकारको मनोमानी प्रवृत्तिका कारण जनतामा असन्तुष्टि चुलिँदै गएको छ। नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त गणतन्त्रलाई पुनः उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न सशक्त प्रतिवाद गर्नु आजको अपरिहार्य कार्यभार बनेको छ।

    राजनीतिक अस्थिरता, भ्रष्टाचार, कमिसनतन्त्र, कालोबजारी, सरकारको अपारदर्शी कामकारबाही, र कानूनी प्रक्रिया कमजोर पार्ने प्रवृत्तिले गणतन्त्रलाई कमजोर बनाइरहेको छ। यस्तो अवस्थामा, जनता नै निराश भएर विकल्प खोज्न बाध्य भइरहेका छन्, जसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने प्रयास गरिरहेका छन्। राजावादी तत्वहरू धमिलो पानीमा माछा मार्ने मनसायले सक्रिय भइरहेका छन्, जसले नेपाली लोकतन्त्रलाई नै संकटमा पार्न सक्छ।

    नेपालको वर्तमान संकटको मूल कारण केवल राजावादी शक्ति मात्र होइन, राज्यसत्ता सम्हालेका व्यक्तिहरूको अलोकतान्त्रिक रवैया पनि हो। सत्तासीन दलहरूभित्रको अस्थिरता, आपसी गुटबन्दी, सरकार सञ्चालनमा स्वेच्छाचारिता, संसदीय व्यवस्थाको उपहास, नीति निर्माण प्रक्रियालाई निष्क्रिय तुल्याउने गतिविधिहरू, र जनताको प्राथमिकतालाई वेवास्ता गर्ने प्रवृत्तिले जनता सरकारबाट विमुख भइरहेका छन्। राजनीतिक दलहरलाई अवसर दिएर पनि केही गर्न सकेनन् देशको समृद्धिका पक्षमा भन्ने खालका अभिव्यक्तिहरु आइरहेका छन् । यस्तो अवस्थामा, राजतन्त्र पुनःस्थापनाको बहसलाई जनतामाझ पुनः स्थापित गर्न खोज्ने प्रयास भइरहेको छ।

    समाजवादी मोर्चाले सहीरूपमा औंल्याएझैं, गणतन्त्रको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता हो। तर, गणतन्त्रको रक्षा केवल घोषणाले सम्भव छैन; यसको लागि संस्थागत सुधार, सुशासनको प्रत्याभूति, भ्रष्टाचार र कमिसनतन्त्रको अन्त्य, लोकतान्त्रिक मूल्य-मान्यताप्रति सरकारको प्रतिबद्धता, र जनतासँगको उत्तरदायी सम्बन्ध आवश्यक छ। दल र दलीय संगठनको विकासका लागि सार्वजनिक पदको दुरउपयोग होइन, बरु देश र जनताको उच्चतम विकासकालागि इमानदारीपूर्वक राजनीतिक ज्ञान, बल र बुद्धिको सदुपयोग गर्नसक्नुपर्छ । यद्यपि, अब सत्ता हातबाट गुम्ने भयो, बहुदलवाद केन्द्रित राजनीति अवसान लिने अवस्थामा पुग्दै छ, बरु सबै मिलेर राजावादीहरुको प्रतिकार गरेमा बाँडिचुँडी त देशको ढुकुटी खान पाइन्छ भन्ने भावका साथ समाजवादी मोर्चा अस्तित्वमा आएको हो भन्ने तर्क पनि जनताले दिन थालेका छन् ।

    राजावादीहरूको पुनरुत्थानको प्रयासलाई परास्त गर्न राजनीतिक दलहरूले परिपक्वता देखाउनुपर्छ। पारदर्शी, उत्तरदायी र समावेशी सरकार सञ्चालन नै गणतन्त्रप्रति जनताको विश्वास पुनःस्थापित गर्ने बलियो उपाय हो। राजनीतिक दलहरू आन्तरिक रूपमा सुधारमुखी हुनुपर्छ, भ्रष्टाचार र स्वार्थी गुटबन्दीको अन्त्य गर्नुपर्छ, जातीय विभेद अन्त्य हुनुपर्छ, संविधानबाटै दलित शब्द हटाइनुपर्छ र जनअपेक्षाअनुसार काम गर्दै जनताको मनोबल उच्च बनाउनु पर्छ।

    राजनीतिक अस्थिरता, बेथिति, र आर्थिक संकटलाई समाधान गर्दै मात्र गणतन्त्रको जग मजबुत बनाउन सकिन्छ। अन्यथा, जनता विकल्प खोज्न बाध्य हुनेछन्, जसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउनेछन्। अतः, लोकतान्त्रिक शक्तिहरूले समयमै सचेत भई समावेशी, पारदर्शी र उत्तरदायी सरकार निर्माण गर्नतर्फ अग्रसर हुनुपर्छ। यही नै साझा निकास हो।

    प्रकाशित : शनिबार, २ चैत्र २०८१ , ०२:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend