logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

स्त्रीको पतन : समाजको अधोगति

स्त्रीको पतन : समाजको अधोगति


  • बिहिबार, चैत्र ७ २०८१
  • 806
    SHARES

    सम्पादकीय

    हालै मेरठमा घटेको सौरभ कुमार हत्याकाण्डले समाजलाई हल्लाइदिएको छ। पत्नी मुस्कानले आफ्नै प्रेमी साहिलसँग मिलेर निर्दोष पतिलाई विभत्स तरिकाले हत्या गर्नु केवल एक आपराधिक घटना मात्र होइन, समाजमा बढ्दो नैतिक संकटको झल्को पनि हो। यो घटनाले हामीलाई नारीको भूमिकाप्रति पुनर्विचार गर्न बाध्य बनाएको छ।

    सनातन धर्मले स्त्रीलाई अत्यन्त सम्मानको दृष्टिले हेर्दछ। नारीलाई केवल घरपरिवारको आधारशिला मात्र होइन, संस्कार, सभ्यता र नैतिकताको वाहकका रूपमा चित्रण गरिन्छ। तर, जबदेखि हाम्रो समाजमा पश्चिमी प्रभाव बढ्न थाल्यो, जबदेखि सनातनी संस्कारलाई पुरातनपन्थी भन्दै नकार्न थालियो, त्यतिबेलादेखि नै नारीको चारित्रिक पतन र समाजको नैतिक अधोगति द्रुत गतिमा अघि बढिरहेको छ।

    वर्तमान समयमा महिलाले आफ्नो नैतिकतामाथि आँच आउने कार्य गर्न थालेका उदाहरणहरू हरेक दिन सतहमा आउँदैछन्। विवाहपूर्वको शारीरिक सम्बन्ध, बहुविवाह जस्तै बहुपति-बहुपत्नी संस्कार, विवाहपछि नैतिक विचलन, सम्बन्ध विच्छेद, हत्या र धोखाधडी जस्ता घटनाहरू दिनानुदिन बढिरहेका छन्। सामाजिक संजालको दुरुपयोग, स्वार्थपरक प्रेम सम्बन्ध, भौतिक सुख-सुविधाको लोभ आदिले महिलालाई मात्र होइन, समग्र समाजलाई संकटमा पुर्‍याइरहेको छ।

    मेरठ घटनामा मुस्कानले आफूलाई देवीको रूपमा चित्रित गरी प्रेमीलाई मानसिक रूपमा नियन्त्रण गर्न खोज्नु, तन्त्र-मन्त्रको नाममा हत्या गर्नु, आफ्नै पतिलाई निर्ममतापूर्वक हत्या गरी उसका अंशहरू ड्रममा हाल्नु— यी सबै घटनाले हामीलाई गहिरो प्रश्न सोध्न बाध्य पार्दछ : के हामी नैतिक मूल्यहरू गुमाउँदै गएका छौं? के महिलाले आफ्नो मर्यादा गुमाएर समाजलाई अराजकतातर्फ धकेल्दैछन्?

    स्त्री शक्ति सृजनाको प्रतीक हो, विध्वंसको होइन। जबसम्म महिलाले आफ्नो शक्ति र क्षमतालाई सृजनात्मक बाटोमा प्रयोग गर्दैनन्, जबसम्म उनीहरू आफ्नो नैतिक आचरणको रक्षा गर्न अग्रसर हुँदैनन्, तबसम्म समाजले सही दिशा लिन सक्दैन। नारीले आफ्नो असली महिमा पहिचान गर्नुपर्ने समय यही हो। सनातन संस्कार र नैतिक शिक्षा नै समाजको उन्नति र सन्तुलनको प्रमुख आधार हुन्। त्यसैले, हामी सबैले आफ्नो मूल संस्कारमा फर्किनु आवश्यक छ, जसले समाजलाई पुनः एक स्वस्थ र सभ्य दिशामा डो-याउनेछ।

    स्त्रीको चरित्र, मर्यादा र नैतिकता समाजको मेरुदण्ड हो। जब स्त्री आफ्नै शक्तिको गलत प्रयोग गर्न थाल्छिन्, तब सिंगो परिवार, समाज र राष्ट्र नै अस्थिरतातर्फ धकेलिन्छ। तनाव, मानसिक रोग, कलह, क्लेश, डाक्टर–अस्पतालको दौडधुप, मनोपरामर्श केन्द्रको भरपर्नुपर्ने अवस्था—यी सबै समस्याहरूको जड अमर्यादित र अनैतिक जीवनशैली हो। क्षणिक सुखका लागि समाजिक र नैतिक मूल्यहरूलाई त्याग्ने प्रवृत्ति विशेषगरी स्त्री पक्षबाट बढ्दै गएमा, यसले दीर्घकालीन रुपमा भयानक परिणाम निम्त्याउनेछ।

    पुरुषलाई पर राख्ने कि वर तान्ने भन्ने निर्णय धेरै हदसम्म स्त्रीकै हातमा हुन्छ। यदि स्त्रीले आफ्नो स्थान, मर्यादा र कर्तव्यलाई बुझ्न सकिनन् भने, स्वतन्त्रताको नाममा अनियन्त्रित बनेर आफू र परिवारलाई विनाशतर्फ धकेल्न थालिन् भने, त्यसको मूल्य सम्पूर्ण समाजले चुकाउनुपर्छ। सभ्य समाजको निर्माण स्त्री–पुरुष दुवैको संयमित व्यवहारबाट मात्र सम्भव छ। त्यसैले स्वतन्त्रताको नाममा अनैतिकता नबढोस्, मर्यादा नटूटोस्, र समाजले सन्तुलित र समुन्नत मार्ग अवलम्बन गरोस् भन्ने चेतना प्रत्येक नारीमा हुन जरुरी छ।

    प्रकाशित : बिहिबार, ७ चैत्र २०८१ , ०७:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend