logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हिमनदी संरक्षण र पानी संकट: विश्वव्यापी चुनौती

हिमनदी संरक्षण र पानी संकट: विश्वव्यापी चुनौती


  • शनिबार, चैत्र ९ २०८१
  • 1.4K
    SHARES

    सम्पादकीय

    बढ्दो जलवायु परिवर्तन, सहरीकरण र पानी संकटबारे जनचेतना अभिवृद्धि गर्न आज (शनिबार) विश्वभर पानी दिवस मनाइँदैछ। यस वर्षको पानी दिवसको मूल नारा ‘हिमनदी संरक्षण’ रहेको छ।

    पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै जानु र त्यसले मानव जीवन तथा सम्पूर्ण प्रकृतिमा पार्ने असरलाई मध्यनजर गर्दै यस वर्ष हिमनदी संरक्षणलाई विशेष महत्त्व दिइएको छ। जलवायु परिवर्तन, औद्योगीकरण, अत्यधिक पानीको उपयोग र वर्षाको ढाँचामा आएको परिवर्तन जस्ता कारणले विश्वव्यापी रूपमा पानी संकट गहिरिँदै गएको छ।

    संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९३ देखि हरेक वर्ष २२ मार्चका दिन पानी दिवस मनाइँदै आइएको छ। सुरक्षित र स्वच्छ पानीको महत्त्वलाई उजागर गर्दै यसको व्यवस्थापन र संरक्षणका लागि आवश्यक रणनीति तयार पार्न तथा जनचेतना अभिवृद्धि गर्न यस दिवसले योगदान दिँदै आएको छ।

    पानी संकट गहिरिँदै

    विश्वभर कुल ९७.५ प्रतिशत पानी समुद्रमा रहेको छ, जुन नुनिलो भएकाले प्रत्यक्ष उपभोगका लागि उपयुक्त छैन। उपलब्ध कुल पानीमध्ये मात्र २.५ प्रतिशत पिउनयोग्य छ, जसमा मूल, खोला, नदी र हिमनदीबाट प्राप्त हुने पानी मुख्य स्रोत हुन्।

    अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक व्यक्तिलाई वार्षिक रूपमा ९,००० घनमिटर पानीको आवश्यकता पर्छ। तर, औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण परम्परागत पानीका स्रोतहरू सुक्दै गएका छन्। पछिल्लो तथ्यांकअनुसार विश्वका करिब एक अर्ब मानिस पानी अभावको समस्यामा परेका छन्।

    पानीको दुरुपयोग प्रमुख चुनौती

    संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वभर उपलब्ध पानीमध्ये ४० देखि ६० प्रतिशत पानी चुहावट तथा दुरुपयोग हुने गरेको छ। हाल सात अर्बभन्दा बढी जनसंख्या रहेको विश्वमा यदि प्रत्येक व्यक्तिलाई २५ लिटरका दरले पानी वितरण गर्नुपर्ने हो भने दैनिक रूपमा एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ।

    विशेष गरी औद्योगिक राष्ट्रहरूको अनियन्त्रित औद्योगीकरण, बढ्दो सहरीकरण र तापमान वृद्धिका कारण पानीका स्रोतहरू संकुचित हुँदै गएका छन्। जलवायु परिवर्तनका कारण हिमनदीहरू सुक्दै गइरहेका छन्, जसले भविष्यमा थप ठूलो संकट निम्त्याउने अनुमान गरिएको छ।

    पानीको अभाव: विश्वव्यापी समस्या

    विगत केही दशकमा विश्वभरका दुई तिहाइ हिमनदीहरू लोप भइसकेका छन्। विभिन्न देशहरू पानी अभावको चपेटामा पर्दै गएका छन्। अफ्रिकाका देशहरू— केन्या, इथियोपिया, सोमालिया लगायतका क्षेत्रमा पानीको चरम संकट छ। मध्यपूर्वका यमन, जोर्डन, इराक र इरानजस्ता राष्ट्रहरूमा पानीको स्रोतहरू सुक्दै गएका छन्। भारतको केही भागहरू, विशेष गरी राजस्थान र महाराष्ट्र, पानी अभावका कारण खेतीपाती र जनजीवन प्रभावित भइरहेका छन्।

    पानी प्रदूषण र मानव स्वास्थ्यमा असर

    पिउनयोग्य पानीको अभाव मात्र होइन, प्रदूषणकै कारण पनि समस्या चुलिँदो छ। औद्योगिक फोहोर, कृषि रसायनको अत्यधिक प्रयोग, प्लास्टिकजन्य प्रदूषणले जलस्रोतहरूलाई दूषित बनाउँदै लगेका छन्। संक्रामक रोगहरूको एक प्रमुख कारण दूषित पानी हो। डायरिया, हैजा, हेपाटाइटिस, टाइफाइड जस्ता रोगहरू दूषित पानीकै कारण फैलिने गर्छन्।

    जल संरक्षणको आवश्यकता

    बढ्दो पानी संकट समाधानका लागि जलस्रोतको उचित व्यवस्थापन, दुरुपयोग रोकथाम, जलवायु अनुकूलन नीति निर्माण र जनचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ। हिमनदी जोगाउन तथा सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रले तत्काल प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन्।

    प्रकाशित : शनिबार, ९ चैत्र २०८१ , ०१:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend