सम्पादकीय
नेपालको वर्तमान परिस्थितिमा नेपाली युवाहरूको अवस्था अत्यन्तै दयनीय र हृदयविदारक बन्दै गएको छ। अवसरको अभाव, गरिबी, बेरोजगारी, र भ्रष्टाचारका कारण नेपाली युवाहरू विदेशी भूमिमा आफ्नो जीवन जोखिममा राखेर बाँच्न बाध्य छन्। हालै कोरियाको केबीएस टिभिले प्रसारण गरेको रसिया-युक्रेन युद्धसम्बन्धी रिपोर्टले यो कटु यथार्थ पुनः उजागर गरिदिएको छ।
महेन्द्र कुँवरको फेसबुकबाट साभार: “आज विहान उठेँर यहाँको (कोरिया) केबीएस टिभि हेर्दै थिएँ । ‘वर्तमान विश्व परिवेश’ भन्ने कार्यक्रममा रसिया युक्रेन युद्धमा नेपाली युवाहरूको प्रयोगसम्बन्धी रिपोर्टिङ गरिएको रहेछ । कार्यक्रम अवधिभर धेरैपटक रोएँ । नेपाल र नेपालीको पीडा त नेपाली भएकै नाताले राम्रोसंग थाहा छ, तर आज त्यो पीडा, दुःख, कष्ट, अभाव, गरिबी, सबै कुरा एउटा विदेशी टिभि च्यानलबाट विदेशी भाषामा हेर्नु र देख्नु पर्दा कताकता मन पोलेर, मुटुमा गाँठो पर्दो रहेछ । आज त्यो दिन आएछ, एउटा वीर गोरखालीको छोरो विदेशी च्यानलमा पीडा पोख्नु परेको छ । विदेशी भुमीको लडाईको अग्रपंक्तिमा उभिएर छातीमा गोली थाप्नु परेको छ । आज त्यो दिन आएछ, एउटा नेपाली युवाले मरिमरि काम गरे पनि महिनामा ८ देखि १० हजार कमाउन सकिँदैन, कसरी यो देशमा बाँच्नु ? भनेर विदेशी भाषामा विदेशी टेलिभिजनमा आफ्नो पीडा पोख्दै छन् । आज त्यो दिन आएछ, नेपालीहरू रूस युक्रेन युद्धमा किन गए भन्दा नेपालीहरूको ओसत तलवको १० गुणा बढी तलव युद्धमा गएर छातीमा गोली थापेबापत पाईन्छ भनेर । आज त्यो दिन आएछ, विदेशी भुमीको युद्धमा आफूसंग गएका साथीहरू आफ्नै अगाडि मारिएपछि लुक्दै भाग्दै प्राण जोगाउन सफल भएको खबर विदेशी च्यानलले प्रसारण गरिदिनु पर्ने । कठै, केटाकेटीको विद्यालय शुल्क तिर्नकै लागि बाउ रूस युक्रेन युद्धमा लड्न गएको र उतै मारिएको दर्दनाक खबर विदेशी भाषाको विदेशी च्यानलबाट हेर्न र सुन्न पय्रो आज । गरिबीकै कारण विदेशी भूमिमा प्राणको बाजि थाप्दै गर्दा पनि नेपाली झण्डा छातीमा टाँसेको फोटो देख्दा त झनै रूवायो कथाले । अन्तमा पत्रकारले मनमा पीडा भएको र यिनीहरूको समस्यातर्फ ध्यान दिनुपर्ने भन्दै कार्यक्रम अन्त्य भयो । म रोएँ, यो कार्यक्रमको अवधिमा मेरो आँखाबाट धेरै पटक आँसु झय्रो । तर मसंग अरू केही विकल्प थिएन, छैन केबल केपि र शेर बहादुर अनि यिनका मतियारहरूको मृत्युको कामना गर्नुवाहेक हामीसंग केही विकल्प छैन ।”
राजनीतिक असफलता र यसको प्रभाव
महेन्द्र कुँवरले व्यक्त गरेको भावनाले हाम्रो देशको राजनीतिक असफलताको तीतो यथार्थ प्रष्ट पार्छ। नेपालमा राजनीतिक दलहरू त धेरै जन्मे, तर तिनले देश र जनताको हितमा कुनै ठोस काम गर्न सकेनन्। नेताहरूको भ्रष्टाचार, अहंकार, र आफ्नै स्वार्थपूर्तिको राजनीतिले गर्दा आम नेपाली जनता गरिबी र अभावको चरम सीमामा पुगेका छन्।
आजको नेपाली युवाहरूको अवस्था हेर्दा स्पष्ट हुन्छ कि नेपाली राजनीतिले आफ्नो बाटो गुमाइसकेको छ। काम गर्न सक्ने युवाहरू देशमै सम्मानजनक रोजगारी पाउने वातावरण नभएर युद्धभूमिमा जान बाध्य छन्। आफ्ना परिवारको जीविका चलाउन उनीहरू आफ्नो प्राणको बाजी लगाएर विदेशी युद्ध लड्न जान्छन्, तर देशका नेता भने सिंहदरबारभित्र सुविधाभोगी जीवन बिताइरहेका छन्।
समाधान र आवश्यक कदमहरू
अब नेपालीहरूले आँखा खोल्न आवश्यक छ। नेताहरूको झुटा आश्वासनको पछि लागेर बस्ने समय सकिएको छ। अब देशभक्तहरूले राष्ट्र निर्माणमा सक्रिय रूपमा लाग्नुपर्छ। परिवर्तनका लागि राजनीतिक दलको सदस्यता लिनैपर्ने होइन, तर देशका लागि केही गर्नुपर्छ भन्ने भावना चाहिन्छ। यदि हामीले हाम्रा युवाहरूलाई विदेशीनबाट रोक्न सकेनौं भने नेपाल नामको राष्ट्र केवल कागजमा मात्र सीमित हुनेछ।
राजनीतिले काँचुली फेर्नुपर्छ। देशभक्त नेतृत्व स्थापित हुनुपर्छ। भ्रष्टाचारमुक्त सरकार, उचित शिक्षा, रोजगारी, र आर्थिक आत्मनिर्भरता सिर्जना नगरेसम्म यो समस्या समाधान हुने छैन। अब समय आएको छ, देशप्रेमी नेपालीहरू जुट्नुपर्छ र नेपाल आमाको ऋण तिर्न कम्मर कस्नुपर्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
