logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

सम्पादकीय: नयाँ वर्ष २०८२, भ्रमको भीडमा ब्रह्म (सत्य)को खोज

सम्पादकीय: नयाँ वर्ष २०८२, भ्रमको भीडमा ब्रह्म (सत्य)को खोज


  • सोमबार, बैशाख १ २०८२
  • 1.3K
    SHARES

    सम्पादकीय

    आज विक्रम संवत् २०८२ साल वैशाख १ गते। सूर्यले मीन राशि छोडी मेष राशिमा प्रवेश गर्दै नवसंवत्सरको उद्घोष गरेको दिन। नेपालभर नयाँ वर्षको स्वागत हर्षोल्लासका साथ हुँदैछ। हात मिलाउने, गालामा टक्र्याउने, शुभकामना आदान–प्रदान गर्ने यो समयपात्रको बदलिँदो पन्नासँगै, हाम्रो मनपनि केही नयाँ, केही सुदृढ, केही सार्थक बन्ने आकांक्षाले भरिन्छ।

    तर, नयाँ भन्न साथ साँचै नै नयाँ के आउँछ जीवनमा? वर्ष फेरिँदैमा दृष्टिकोण फेरिन्छ? समयको चक्र त एकनासले घुमिरहन्छ—बिना थकान, बिना विश्राम, निहुँ बिना नै। एक संवत् बित्छ, अर्को सुरु हुन्छ। परिवर्तनका नाममा हामीले बाहिरी कुरामा मात्र ध्यान दिने चलन बसाल्यौं—नयाँ कपडा, नयाँ सवारी, नयाँ मोबाइल, नयाँ गीत… नयाँ व्यक्तिको भोग तर आत्मा, जसले जीवन चलाउँछ, त्यो भने अधुरो र अपरिचित रूपमै बसिरहन्छ।

    वैज्ञानिक छ विक्रम संवत्, तर चेतनामा पुरानै शून्यता

    विक्रम संवत् सूर्यको गतिसँग चल्ने शाश्वत संवत् हो। मीन राशिबाट सूर्यले मेष राशिमा प्रवेश गर्दा वर्षको शुरुवात हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका विद्वानहरू भन्छन्—यो वैज्ञानिक मात्र होइन, आध्यात्मिक सन्तुलनमा आधारित संवत् हो। सौरमान र चान्द्रमानको समन्वयले यसलाई थप विशिष्ट बनाएको छ।

    तर प्रश्न उठ्छ—वैज्ञानिक संवत् भए पनि हाम्रो चेतना अझै वैज्ञानिक भएको छ? जीवनप्रति हाम्रो दृष्टिकोण अझै आध्यात्मिक, विवेकी वा गहिरो भएको छ? भगवद चिन्तनतर्फ अग्रसर छ ?

    जीवन: समयको बैंकमा घट्दो खातो

    मानिसको जीवन एक चक्र हो—कहिले मिलन, कहिले बिछोड; कहिले हाँसो, कहिले आँसु। हामी हरेक दिन आयुरूपी खाताबाट केही न केही खर्च गरिरहेका हुन्छौं। यो खातामा ब्याज, बोनस, लाभांश केही थपिदैन। एक दिन रित्तिन्छ—शून्यमा विलीन हुन्छ।

    संसारभर फैलिएको एक मानसिकता यो हो कि, जीवन भनेको पद, प्रतिष्ठा, सम्पत्ति, सम्बन्ध, भोग्य वस्तुहरूमै सीमित छ। मानौँ, यही हो जीवनको सार। तर यिनै कुराहरू त क्षणिक छन्, नश्वर छन्, भ्रम हुन्। सत्य के हो? त्यो त आत्मस्वरूपको पहिचान हो, परमात्मासँगको आत्मिक सम्बन्ध हो।

    नयाँ वर्ष, नयाँ दृष्टिकोण

    नयाँ वर्षको अवसरमा हामी भौतिक लक्ष्य त तय गर्छौं—घर बनाउने, गाडी किन्नु पर्ने, जागिर बदल्नु पर्ने, कमाई बढाउनु पर्ने। तर के कहिल्यै सोच्यौं? म को हुँ? मेरो जीवनको उद्देश्य के हो? मैले अहिलेसम्म के गुमाएँ, के पाइँ?

    यो नयाँ वर्षको साँचो स्वागत त तब हुन्छ, जब हामी आफूलाई बुझ्ने संकल्प गर्छौं। सत्यको खोजीमा एक पाइला अघि बढाउँछौं। संसारका लाखौं आकर्षणहरूमाथि संयम राख्दै, भोगभन्दा त्यागको आनन्द चाख्न सुरु गर्छौं। सत्य खोज्ने ती केही व्यक्तिहरू जसले जीवनभर कष्ट सहन्छन्, तर अन्तिममा शान्तिपूर्वक मर्छन्। त्यस्तो मृत्यु मात्र होइन, त्यस्तो जीवन नै सफल हुन्छ।

    शुभकामनाको सार्थकता

    नयाँ वर्षको शुभकामना भनेको केवल “नयाँ वर्षको शुभकामना!” भन्ने कुरा होइन। त्यो शुभकामना त तब सार्थक हुन्छ जब हामी अर्कालाई सत्य, चेतना र आत्म–जागरणको मार्गतर्फ डोऱ्याउँछौं।

    यस वर्ष २०८२ मा हामी सबैको जीवनमा सत्यको साक्षात्कार होस्। आत्मचेतना बढोस्। मायाकृत संसारको मोह हटोस्। भोगभन्दा योग, बाहिरीभन्दा भीत्रि, भ्रमभन्दा ब्रह्मको खोज सशक्त बनोस्।

    जीवनले दिशा पाओस्, गति पाओस्, र अन्ततः सार्थकता पाओस्—यसैमा साँचो नयाँ वर्षको शुभकामना निहित छ।

    जय राधाकृष्ण, जय राधाकृष्ण, जय राधाकृष्ण !!!!

    प्रकाशित : सोमबार, १ बैशाख २०८२ , ०६:५७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend