आज प्रत्येक मानिस सुखको खोजी गर्ने प्रतिस्पर्धामा काम, क्रोध, लोभ, मोह, अहँकार जस्ता पापसागरमा हाम फालिहाल्न कत्ति डराउँदैन । जति नै पौडिएर सुरक्षित रहन चाहेता पनि परिणाम स्वरुप महासंतापको पाशमा परिनै हाल्छ । जीवनको अन्तिम चरणमा पश्चातापको कठोर अग्निले मन जलाउँछ । यो पनि चाहियो, त्यो पनि चाहियो भन्दै यश, पद, सम्पत्ति तथा भोगका साधनहरु संग्रह गर्नलाई सारा जीवन लगाइदिन्छ । यिनैका लागि दौडधूप गर्छ । भए जतिका भंगार जोड्न व्यस्त छ । जसको (भागवत) प्राप्तिका लागि मानव जन्म लिएको हो त्यसतिर त ध्यान नै जाँदैन । भागवत प्राप्ति अर्थात् श्रीकृष्णको आश्रय नै जीवनको मुख्य गन्तव्य हो भन्ने कुरा विस्मृत भइसकेको अवस्थामा अन्धविश्वास, सम्प्रदाय मानवनिर्मित संस्कृति, कर्मकाण्ड आदिलाई नै मेरो धर्म हो भन्दै भौंतारिएको छ । श्रीप्रेमानन्द महाराजको प्रवचनलाई आधार मान्दै राजा भर्तृहरि र रानी पिङ्गलाको चरित्रले दिने सन्देश प्रवाहमा केन्द्रित छ आजको सम्पादकीय ।
जब चक्रवर्ती सम्राट महाराज भर्तृहरि युवावस्थामा पुगे, तब उहाँको हृदयमा भोगतर्फ आकर्षण भयो। हामीले जति कल्पना गर्न सक्छौं, त्योभन्दा धेरै सम्पत्ति महाराज भर्तृहरिका साथमा थियो। उज्जैनका महान, बलशाली र बुद्धिमान राजा विक्रमादित्य उहाँका साना भाइ थिए। भर्तृहरि जीको हृदयमा स्त्रीतर्फ आकर्षण भयो, र सबै प्रकारको सामर्थ्य भएका उहाँले आदेश दिनुभयो कि संसारकी सबैभन्दा सुन्दरी राजकुमारीलाई उहाँकी पत्नीका रूपमा ल्याइयोस्।
भर्तृहरि र पिङ्गलाको विवाह
खोजी गरेपछि एक पिङ्गला नामकी अत्यन्त सुन्दरी युवती फेला परिन् । उनैलाई भर्तृहरिले पत्नीका रूपमा स्वीकार गर्नुभयो। उहाँले सोच्नुभयो कि आखिर भोगहरूमा के सुख हुन्छ, यो जान्नै पर्छ, र त्यसका लागि मलाई एकान्त चाहिन्छ। उहाँले विक्रमादित्यलाई भन्नुभयो कि जबसम्म म सम्पूर्ण भोगहरूको अनुभव गर्दिन, तबसम्म तिमीले राज्यको शासन सम्हाल। महलमा दरबारसम्बन्धी कुनै कुरा लिएर कोही पनि नआओस्। मलाई पूर्ण स्वतन्त्र छोडियोस्।
आगोमा घ्यू हालेर आगो निभ्छ र? त्यसैगरी भोगहरूलाई भोगेर कामाग्नि शान्त हुँदैन, अझ बढ्छ।
एक दिन एक्लै बसेका बेला पिङ्गला महलको पछाडिको झ्यालबाट हेर्दै थिइन्। महल पछाडि राज्यको घोडा पालन केन्द्र (अश्वशाला) थियो। त्यहाँ घोडाहरूको सेवा र हेरचाह गर्ने अश्वपाल आफ्ना सहयोगीहरूसँग कार्यरत थियो। ऊ निकै हृष्टपुष्ट, जवान र खाइलाग्दो जिउसितको थियो, र उसलाई देखेर रानी पिङ्गला उसप्रति आसक्त भइन्।
पिङ्गला अश्वपालप्रति आसक्त भइन्
रानी अश्वपालसँग एकान्तमा भेट गर्न थालिन्। दुबैबिच शारीरिक सम्बन्ध हुनथाल्यो । गुप्तचरहरूको माध्यमबाट यो कुरा भर्तृहरिका भाइ विक्रमादित्यलाई थाहा भयो। उनीभित्र निकै पीडा भयो। उनी सोच्दै थिए कि के गर्ने ? यदि केही भन्छन् भने आफैंमाथि आरोप लाग्न सक्थ्यो, तर केही नभने राजा तथा आफ्ना दाजुप्रति विश्वासघात हुने थियो।
विक्रमादित्यले महाराज भर्तृहरिसँग एकान्तमा भेटेर आफू र अश्वपाल बिचको सम्बन्धका विषयमा बताउने भए भन्ने कुरा पिङ्गलाले थाहा पाइन् । पिङ्गलाले बुझिन् कि विक्रमादित्यले सबै कुरा थाहा पाइसकेका छन्। विक्रमादित्यले राजा भर्तृहरिलाई बताउनुभन्दा अघि नै पिङ्गलाले महाराजलाई भनिन्, “देओरले ममाथि खराब नियत राखेका छन् । स्वीकृति नदिँदा ममाथि आरोप लगाउन सक्छन्।” भर्तृहरिलाई आश्चर्य लाग्यो।
विक्रमादित्यले भने, “महाराज, कृपया मेरो कुरामा विश्वास गर्नुहोस्। महारानी पिङ्गलाको चरित्र ठीक छैन। उनी अश्वपालसँग नाजायज सम्बन्ध राख्छिन् भन्ने कुरा मलाई गुप्तचरहरूले थाहा दिएका छन्।”
महाराज आवेशमा महलमा प्रवेश गर्नुभयो। रानीले भनिन्, “म तपाईंलाई बताउँछु, तपाईंका भाइले तपाईंलाई के भने होलान्। उहाँले अवश्य भनेका होलान् कि मेरो अश्वपालसँग गलत सम्बन्ध छ।”
महाराजले सोधे, “तिमीलाई कसरी थाहा भयो महारानीरु”
रानीले भनिन्, “तपाईंका भाइ चरित्रहीन छन्।”
राजाले प्रमाण मागे। रानीले धन दिएर एउटा परिवारलाई राजी पारिन् कि उनीहरूले राजसभा सामु भनून् कि विक्रमादित्य जीले आफ्नी बुहारीप्रति गलत दृष्टि राखेका छन्।
सो परिवारले डरका कारण सभामा त्यस्तै बोले। महाराज भर्तृहरि पिङ्गलामा अत्यन्त आसक्त थिए र अब प्रमाण पनि मिलिसकेको थियो। उनले पिङ्गलाको सल्लाहमा, केही नसोची, विक्रमादित्यलाई राज्यबाट निष्कासित गर्न आदेश दिए।
भर्तृहरिलाई अमर फल प्राप्त भयो
जो धर्मयुक्त हुन्छ, भगवान् तिनको रक्षा अवश्य गर्नुहुन्छ। विक्रमादित्यको पनि रक्षा हुनु नै थियो।
एकजना ब्राह्मण धन प्राप्तिको लागि तपस्या गर्दै थिए। देवराज इन्द्र तिनको सामु प्रकट भए। उनले ब्राह्मणलाई अमृत फल दिए (जसलाई खाएपछि अमर हुन्छ) र अन्तर्ध्यान भए। ब्राह्मणले सोच्यो, “म गरिब छु, भोकले मरिरहेछु, अमर भएर के गर्नु ? मलाई त धन चाहिएको थियो।”
त्यसपछि उनले विचार गरे कि यो फल म महाराज भर्तृहरिलाई दिन्छु। यदि धर्मात्मा राजा दीर्घायु भए भने प्रजा सुखी हुनेछ। महाराजले अमृत फल स्वीकार गरे र आदेश दिए कि ब्राह्मणलाई जति धन चाहिन्छ, दिइयोस्।
जतिसम्म भोग गरे पनि तृप्ति हुँदैन
एकान्तमा महाराजले विचार गरे, “म त पूर्ण रूपमा पिङ्गलामा आसक्त छु, म अमर भएर के गरूँ? यदि पिङ्गला अमर हुन्छे भने म जिउँदो हुँदासम्म उनी मसँग रहनेछिन्।”
त्यसपछि उनले अमर फल पिङ्गलालाई दिए र उनले पवित्र भएर खाने वाचा गर्दै स्वीकार गरिन्। पिङ्गलाले सोचिन्, “यदि अश्वपाल अमर भए भने हाम्रो मिलन सधैं भइरहनेछ।” त्यसैले उनले अमृत फल अश्वपाललाई दिइन्।
अश्वपाललाई दरबारमा नृत्य गर्ने एकजना वैश्यमाथि आसक्ति थियो। उसले त्यो फल वैश्यालाई दियो, ताकि अमर फल खाएर अमर भएकी वेश्यासँग उनी सधैं भोग गर्न सकून्। वैश्याले सोचिन्, “म जसको दरबारमा नाच्दछु, यदि त्यही राजा अमर भए भने राम्रो हुनेछ।”
उनले राजासँग भेटको याचना गरिन् र महाराजलाई भेटेर अमृत फल दिइन्।
फल देख्नासाथ महाराज चकित भए। उनले वैश्यालाई भने, “तिमीलाई कुनै दण्ड दिइने छैन, तर सत्य बताऊ, यो अमृत फल तिमीलाई कसले दियो ?” वैश्याले भनिन्, “मेरा एक प्रितम छन् जो राजपरिवारको घोडा हेरचाह गर्छन्, उनले मलाई यो फल दिएका हुन्।”
महाराजले अश्वपाललाई बोलाए र भने, “म तिमीलाई टुक्राटुक्रा पार्न सक्छु, तर यदि तिमीले मलाई सत्य बतायौ भने म तिमीलाई क्षमा गर्छु।” डरले काँप्दै अश्वपालले भन्यो, “रानी पिङ्गलाले मलाई त्यो अमृत फल दिएकी हुन्।” रानी र आफू बिच सम्बन्ध रहेको अश्वपालले स्वीकार गरे ।
महाराज चकित भए। उनले सोच्न थाले, “म जस्तो चक्रवर्ती सम्राटबाट पिङ्गला सन्तुष्ट छैनन्, उनी अश्वपालमा आसक्त छिन्, तर अश्वपाल पनि रानीबाट तृप्त छैन र वैश्यामा आसक्त छ। धिक्कार छ यस्तो काम र मोहलाई!”
उनीभित्र तत्काल वैराग्य उत्पन्न भयो। उनले घोषणा गरे, “भोलिदेखि म राज्य त्याग्नेछु।” कार्वाही स्वरुप राज्यबाट निष्काशन गरिएका भाइको स्मरण आयो भर्तृहरिलाई । भाइमाथि अनावश्यक अन्याय भएकोमा ग्लानिबोध गर्दै गुप्तचरहरूलाई पठाएर विक्रमादित्यलाई पुनः बोलाए।
राजा भर्तृहरि बने वैरागी
महाराजले सम्पूर्ण प्रजाको सामु राजसभामा भने, “मेरो राज्यका ब्राह्मणहरूको तपस्याको फल आज देख्न पाइन्छ। म मेरो तरवारले महारानी पिङ्गलाको टाउको काट्नेछु, तर उनी मर्ने छैनन्, किनकि उनले अमृत फल खाएकी छन्।”
जसै उनले प्रहार गर्न लागे, रानी चिच्याउँदै भनिन्, “रोक्नुहोस् महाराज ! मैले अमृत फल खाएकी छैन। मैले त्यो अश्वपाललाई दिएँ, किनकि म उसप्रति आसक्त थिएँ।”
महाराजले केही भन्नु भएन। राजा भर्तृहरिले आफ्नो मुकुट सिंहासनमा राख्दै भने, “विक्रमादित्य ! अब यो राज्यको पालन तिमी गर। म यस्तो निकृष्ट संसारमा बस्न सक्दिनँ। धिक्कार छ यो भ्रामक संसार र यस्तो भोगलाई — म चक्रवर्ती सम्राट हुँदा पनि पिङ्गला मबाट तृप्त हुन सकिनन्, अश्वपाल रानीबाट तृप्त भएन र वैश्याप्रति आसक्त भयो। धिक्कार छ यस झुटो संसारको मायालाई।”
त्यसपछि उनले राज्य त्याग गरेर वैराग्यमय जीवन बिताए। भगवान् शिवको दर्शन गरी यस्तो वरदान मागे, “म कहिल्यै सम्मानपूर्वक भिक्षा नपाऊँ, किनकि सम्मानले फेरि संसारको राग पलाउँछ।”
निष्कर्ष
निरन्तर भगवानको भजन तबमात्र हुनसक्छ जब हामीलाई भोगप्रति अरुचि उत्पन्न हुन्छ। हामी भोगहरूलाई नै सत्य ठानिरहेका छौं। यही हाम्रो दुःख, क्लेश र अशान्तिको कारण हो। केवल यही मानव जीवनमा भगवान् प्राप्ति सम्भव छ।
सम्पूर्ण त्रिभुवनले जुन सुख अनुभव गरिरहेको छ, त्यो भगवान् रूपी आनन्द सागरको एक थोपा मात्र हो। सोच्नुहोस् यदि तपाईंलाई नै त्यो आनन्द सागर प्राप्त भयो भने तपाईंलाई कस्तो सुख मिल्ला ?
जबसम्म त्यो प्राप्त हुँदैन, तबसम्म जति भोग गरिए पनि तृष्णा मर्दैन। अँगालो हाली देह चाटेर केही बेर शरीरले सुख पाएको आभास होला तर आत्माको कहिल्यै प्यास मेटिँदैन, मायाकृत चिजवस्तु वा व्यक्तिको जति भोग गरे पनि वास्तविक सुखको प्राप्ति हुँदैन । हाम्रो स्वरुप शरीर होइन, अनादि अनन्त आत्मा हो, आत्माले आनन्द, परमानन्द सबै पाउन सक्छ तर शरीर र चिजवस्तुको भोग गरेर होइन, परमात्मासँग योग गरेर अर्थात् जोडिए मात्र सम्भव छ । ‘‘बुढेसकाल लागेपछि योगतिर ध्यान दिउँला’’ यो सोच सबैको रहन्छ । तर स्मरण गर्नुहोस् त तपाई चारदिनको बासी भोजन गर्नुहुन्छ ? ओइलाइसकेको फूल पूजामा चढाउनुहुन्छ ? जवाफ आउँछ ‘‘नाइँ’’ । बल छँदासम्म छल गर्ने, बुढ्यौलीले शरीर अशक्त बनेपछि जीवन–सुख र सफलताको एषणा राख्ने कार्य अज्ञानी वा मूर्खले मात्रै गर्छ । ज्ञानीले बेलैमा परमात्मातिर आफूलाई मोड्छ । परमात्मातिर जोडिनका लागि नश्वर चिजवस्तु र शारीरिक मोहको मजबुत जालोलाई ज्ञानबल प्रयोग गरेर तोड्नै पर्छ ।
निश्चय गर्नुहोस् — संसारमा सुख छैन। आनन्द पाउन आनन्दसिन्धु अर्थात् परमात्मा श्रीकृष्णको आश्रय लिनु परमावश्यक छ । सबै सन्तहरुले यही निष्कर्ष निकालेका छन् । श्रीप्रेमानन्द महाराजजीको दिव्य प्रेरणा स्वरुप यो सम्पादकीय प्रकाशित भएको छ । उहाँ भन्नुहुन्छ भक्तिबललाई पुष्ट पार्न जननेन्द्रिय र रसेन्द्रियलाई संयमबलले नियन्त्रणमा राख्नु अति आवश्यक छ । चरित्रहीन रानी पिङ्गलाको छलकपट देखेर वैरागी बनेका राजा भर्तृहरि भन्छन् :
‘‘यां चिन्तयामि सततं मयि सा विरक्ता
साप्यन्नमिच्छति जनं स जनोन्यसक्तः ।
अस्मत्कृते च परिशुष्यति काचिदन्या
धिक्तां च तं च मदनं च इमां च मां च ।।’’
अर्थात् म जुन स्त्रीलाई सधैँ सम्झिरहन्छु, ऊ त मप्रति बिल्कुलै आकर्षित छैन ।
तर ऊ त अर्कै मानिसको लागि लालायित छ, र जसका लागि ऊ लालायित छे त्यो मानिस चाहिँ अरू कसैप्रति आसक्त छ ।
जो स्त्री मप्रति आसक्त (प्रेममा) छे, उसका लागि मेरो हृदयमा प्रेम छैन ।
धत्तेरी ! धिक्कार छ त्यस स्त्रीलाई, धिक्कार छ त्यस व्यक्तिलाई, धिक्कार छ प्रेमका देवता (कामदेव)लाई , धिक्कार यो (मप्रति आसक्त) स्त्रीलाई र धिक्कार छ म स्वयंलाई पनि ! जय श्रीराधा !!!
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
