आज मे १८, विश्व एड्स वैक्सीन दिवस। यो दिन संसारभर एचआईभी/एड्सविरुद्धको सम्भावित उपचारको खोजी—वैज्ञानिक अनुसन्धान र जनचेतनाको प्रतिबद्धता व्यक्त गर्ने दिवस हो। यद्यपि यो पनि स्वीकार गर्नुपर्छ कि एचआईभीको आजसम्म कुनै पूर्ण वैक्सीन बनेको छैन। कारण के हो भने यो भाइरस लगातार रूप परिवर्तन गर्दै जान्छ, जसले वैज्ञानिक प्रयासहरूलाई चुनौती दिन्छ। एचआईभी शरीरको इम्युन सिस्टमलाई झुक्याउन सिपालु छ, त्यसैले यसको स्थायी वैक्सीन बन्ने सम्भावना अझै कमजोर छ।
तर यसले त्यो कुरा संकेत गर्दछ कि हामीले मात्र चिकित्सा प्रविधिमाथि निर्भर भएर यो समस्या समाधान गर्न सक्दैनौं। यो संकटको सामना गर्न जीवनशैली नै परिवर्तन गर्नुपर्छ। आज हामी भन्छौं, ‘सुरक्षित यौन सम्पर्क गर्नुहोस्’, ‘कन्डम प्रयोग गर्नुहोस्’, ‘संक्रमित रगत नलिनुहोस्’ — यथार्थतः यी सबै उपायहरू संकट रोक्न होइन, संकट घटाउनका लागि मात्र हुन्। प्रश्न उठ्छ, त्यो अवस्था नै किन ल्याउने ?
एचआईभी/एड्सको वास्तविक समाधान : संयम र सनातन मूल्य
एचआईभी/एड्स संक्रमित हुने मुख्य दुई माध्यम हुन् — असुरक्षित यौन सम्पर्क र संक्रमित रगत। यी दुई बाटोबाट जोगिन सकियो भने यो भाइरसबाट शतप्रतिशत बच्न सकिन्छ। अब विचार गर्नुपर्ने कुरा के हो भने, यी दुबै माध्यमबाट आफूलाई अलग राख्नका लागि कस्तो जीवनशैली आवश्यक पर्छ?
उत्तर स्पष्ट छ — संयमित, मर्यादित र मूल्ययुक्त जीवनशैली। अर्थात् सनातन संस्कारअनुसारको जीवन।
सनातन धर्मले ब्रह्मचर्य, शुचिता, एकपत्नी/एकपतिकेन्द्रित निष्ठापूर्ण वैवाहिक सम्बन्ध, नैतिकता, सेवा, सत्संग, ध्यान, योग, परोपकार जस्ता अभ्यासलाई जीवनको मूल आधार मानेको छ। जबसम्म यिनै मूल्यहरू हाम्रो जीवनशैलीमा थिए, तबसम्म यस्ता यौनजन्य र रक्तजन्य रोगहरूको नामसम्म पनि थाहा थिएन।
तर भोगवादी पश्चिमी संस्कृतिको अन्धानुकरणले गर्दा अहिले हामी ‘स्वच्छन्दता’लाई स्वतन्त्रता ठान्न थालेका छौँ। एक रातको सम्बन्ध, पब पार्टी, डेटिङ एप्स, बहु–यौन सम्बन्ध, र रासायनिक सुरक्षाको भ्रम–यी सबैले मानवता एक नयाँ प्रलयतर्फ डोर्याइरहेछ।
नेपालमा तीज, भ्यालेन्टाइन डे, ‘फ्रेन्ड्स विथ बेनेफिट’जस्ता प्रवृत्तिहरूमा कन्डमको रेकर्ड तोड बिक्री हुनु के संकेत गर्छ? यो मानवमूल्यको पतन हो। सत्यानाश त त्यहीँबाट सुरु हुन्छ, जहाँ संयम हट्छ र अनैतिकता स्थापित हुन्छ।
समाधान के हो?
एड्सको समाधान कन्डम होइन, सुसंस्कार हो।
हामीले हाम्रो शिक्षा प्रणालीमा शास्त्रीय नैतिकता पढाउनुपर्छ। सामाजिक कार्यक्रम र मिडियाले संयम, ब्रह्मचर्य, सत्संग र आध्यात्मिक अनुशासनलाई प्रचार गर्नुपर्छ। किशोरावस्थादेखि नै आत्मसंयम र विवेक निर्माण गर्ने संस्कार विकास गर्नुपर्छ।
यदि हामी एड्सको वास्तविक अन्त्य चाहन्छौं भने–
“सेक्स एजुकेसन” होइन, “सेल्फ-डिसिप्लिन” चाहिन्छ।
“कन्डम वितरण” होइन, “संस्कार प्रवाह” चाहिन्छ।
“स्वतन्त्र यौन सम्बन्ध” होइन, “सनातन गृहस्थ धर्म” चाहिन्छ।
यसका लागि हाम्रै सनातन मूल्य–जसमा सृष्टिसँग मेल खाने जीवनशैली, अध्यात्म र आत्मसंयम छ– त्यसलाई फेरि आत्मसात् गर्न आवश्यक छ।
निष्कर्ष
विश्व एड्स वैक्सीन दिवस हामीलाई फेरि सम्झना दिलाउँछ कि विज्ञान मात्र पर्याप्त छैन, सुसंस्कार पनि चाहिन्छ। एड्स एक भाइरस होइन, जीवनशैलीको पतन हो। त्यसको अन्त्य केवल प्रयोगशालाबाट होइन, चेतनाबाट सम्भव छ।
त्यसैले अब कन्डम होइन, संयमको संकल्प गरौं। सनातन मूल्यमा फर्कौं र सुरक्षित, स्वस्थ, अध्यात्मिक जीवनको पुनर्निर्माण गरौं।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
