logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: नेता नास्तिक असल कि आस्तिक ?

सम्पादकीय: नेता नास्तिक असल कि आस्तिक ?


  • शनिबार, जेष्ठ २४ २०८२
  • 1.3K
    SHARES

    मार्गदर्शक सिद्धान्तलाई सम्यक् ढंगले व्यवहारमा उतार्नसक्ने क्षमता भएको व्यक्तिलाई नेता भन्न सकिन्छ । नेताको आवश्यकता किन छ ? भन्ने प्रश्नको जवाफमा ‘‘नेता समाजको पथप्रदर्शक हो, कमजोरहरुको साहस हो, सकारात्मक परिवर्तनको मूल प्रेरणा हो ।’’ यो वाक्यांश गागरमा सागर साबित हुन्छ । नेतालाई मूली वा अगुवा पनि भन्ने चलन छ । मूली अर्थात् कुनै पनि संघसंस्था, परिवार वा टोलीको मूल सदस्य । यो देशको हकमा पनि लागु हुन्छ । अगुवा भन्नाले विषम परिस्थितिमा समेत स्वयं अघि लागेर अन्य सबैलाई सुरक्षित र समृद्ध बनाउन आवश्यक पर्ने भूमिकाको कुशल निर्वाहकर्ता हो । कृषि, स्वास्थ्य, अनुसन्धान, मानवाधिकार, न्याय, शिक्षा, अर्थ, विज्ञान, सुरक्षा, राजनीति आदि जुनसुकै क्षेत्र होस्, सबैमा स्पष्ट दृष्टिकोण बोकेको इमानदार अगुवाको खांचो पर्दछ ।

    अगुवा वा नेताको अभावमा अन्योलले आश्रय पाउँछ र यसले मानिसहरुलाई भ्रमित एवं सफलतालाई अनिश्चित बनाउँछ अनि क्रमशः मानव सभ्यता नै पतनतिर उन्मुख हुन्छ । अदूरदर्शी नेताको उपस्थितिमा सिंगो संघसंस्था वा समाज पतनको बाटोमा लाग्छ । जीवनमाथि संकट पैदा हुन्छ । बर्बादीको यो श्रृङ्खलाले संस्कृतिको स्वरुप धारण गर्छ । नेता जीवनसँग सम्बन्धित सर्वाङ्गिन विकासको सवालमा संवेदनशील छैन भने विकास हासिल गर्ने परिकल्पना पूर्ण हुन सक्दैन । विकास भन्नाले समस्याको समाधान हो, आवश्यकताको पूर्ति हो । ५० किलोमिटर लामो सडकमा लघुस्वरुपका १०% खाल्डाखुल्डिहरु छन् भने त्यस सडकलाई पूर्णतया उधेनेर सडकको पुनःनिर्माणका लागि त्यसमा १० करोड बजेट खर्चिनु र सडक निर्माणलाई अन्जाम दिन खोज्नु बुद्धिमता होइन । १०% खाल्डाखुल्डिलाई ५ लाख खर्चेर मरम्मत गर्ने र बाँकी ९ करोड ९५ लाख रुपैयाँले रोजगारी सिर्जनार्थ उद्योग, कलकारखाना निर्माण गर्ने निर्णयलाई कुशल नेताको उत्तम पहल मान्न सकिन्छ । किनकि यो निर्णयले सडकको जीर्णाेद्धार र बेरोजगारीको समस्या त समाधान हुन्छ नै, सँगसँगै दैनिक आवश्यकताको आपूर्तिका लागि आयात प्रणालीमा आश्रित हुनुपर्ने बाध्यताको सहजै अन्त्य पनि हुन्छ । मानिसका हजार समस्या एउटै समयमा देखा पर्न सक्छन् । तर ती हजार समस्यामध्ये एकलाई प्राथमिकताका आधारमा पहिचान गरेर समाधान दिनसक्ने व्यक्तिलाई क्षमता भएको नेता मान्न सकिन्छ ।

    असल र सफल नेतामा मानवीयतादेखि लिएर आध्यात्मिकतासम्मका सबै गुणहरु हुनु आवश्यक छ । गाइ काटेर खाने अनि अहिंसा र शान्ति अपनाउनुपर्छ भन्दै भाषण छांट्ने नेताका यी दुई व्यवहार परस्पर विरोधाभासका पक्ष हुन् । स्वयंले छलकपट गर्ने अनि अरुले इमानदारितको पालना गर्नुपर्छ भन्दै पाठ सिकाउन खोज्ने नेताको ठिम्मल स्वभावले कल्याण हुनैसक्दैन । जाडोमा आगो, गर्मीमा छाया, दुर्बलमा बल, शोषितहरुमा न्याय, व्यभिचारीमा सदाचार, आलस्यमा परिश्रम, अज्ञानमा ज्ञानकोभाव प्रवाहित पार्नसक्ने नेताको खांचो छ समाजलाई । यी गुणस्वाभाव बजारबाट किनेर पाइदैन, अनन्त जन्मको सुकर्मले आर्जन गरेको हुनुपर्दछ । सुकर्मको प्रेरणा कुकर्मीको संगतले होइन सुकर्मीकै संगतले प्राप्य छ । पराक्रमीको आश्रय लिनसक्ने नेता पराक्रमको उदाहरण प्रस्तुत गर्न सफल हुन्छ, यसमा संशय छैन । नेतामा सहानुभूति मात्रै होइन परानुभूति पनि हुनुपर्दछ । आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने सम्भावना रहँदासम्म हिजो सानो संकटमा दया प्रकट गर्नु, आज ठुलो समस्या आइपर्दा सहानुभूति दर्शाउन समेत ताउर माउर नदेखाउनु, यो नै आजका नेताहरुको स्वभाव हो जुन अनिष्टकारी छ । हुने बिरुवाको चिल्लो पात भनेझैं असल नेताका गुणविशेषता जन्मजात नै हुन्छन् । तिनै गुणविशेषताहरु कालान्तरमा नेतृत्वक्षमताका रुपमा विकसित हुन्छन् । निपुण नेतृत्वका लागि आध्यात्मिक आचरणको अनिवार्यतालाई शास्त्रहरुले पनि समर्थन प्रदान गरेका छन् ।

    ‘‘यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः।
    स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते॥’’

    अर्थात् जे जस्तो आचरण ठुला मानिस (नेता)हरुले गर्छन्, सामान्य जनताले त्यसलाई नै अनुशरण गर्दछन् । नेताले गर्ने वा गरेको कर्मलाई जनताले आदर्श र प्रेरणाका रुपमा पछ्याइरहेका हुन्छन् । नेतृत्व पद वास्तवमा अधिकार होइन, आदर्श र जिम्मेवारी हो । तर विडम्बना, आजभोलिका नेता र प्रतिनिधिहरु मांसभक्षण, मदिरापान, व्यभिचार (परपुरुष वा परस्त्रीगमन), भ्रष्टाचार, बलात्कार, हत्या र झुटको खेती गरेर भ्रमको फसल काट्नमै व्यस्त देखिन्छन् । सारा मुलुक यिनै दुष्प्रभावी आचरणको कंटकले ढाकिएको छ । आध्यात्मिकता (धर्म) लाई अफीमको दर्जामा राख्नेहरु सत्ता सम्हाल्ने असफल कोसिसमा छन् । नीतिगत भ्रष्टाचारले पराकाष्ठा नाघ्दै छ । आत्मबोध बिना सकारात्मक आचरण सम्भव छैन । स्वयंलाई नचिनेसम्म अरुलाई सम्मान गर्नसक्ने क्षमताको विकास हुनसक्दैन । यो सृष्टि छ भने यसलाई रचनेवाला पनि छ भनेर मान्नु नै आस्तिकता हो भने यसको विपरीत परमशक्ति, सर्वज्ञ, अनन्त कोटिकोटि ब्रह्माण्डका स्वामी भन्ने कोहि छैन, मानिसको बल, बुद्धि, क्षमता आफैँमा सर्वेसर्वा हो भनी मानिलिनु नै नास्तिकता हो । भौतिकवादी नास्तिकहरु बिर्सिन्छन् कि उनै परमात्मा उनीहरुको मन, बल, बुद्धि र क्षमताका रुपमा त्यही शारीरिक अस्तित्वमा विद्यमान छन् र यो कृपा एकदिन परमात्मामै फिर्ता भइदिन्छ । त्यसपछि त्यो शरीर शवमा रुपान्तरित हुन्छ । काम, क्रोध, लोभ, मोह, अहँकार, धनसम्पत्ति, मानप्रतिष्ठा, पद र सम्बन्ध सबै समाप्त ।

    नेताको श्रेणीमा रहेर जनता र देशको सेवा गर्नुलाई साक्षात् परमात्माको सेवा हो भनेर जान्नु आस्तिक प्रवृत्ति हो । सृष्टि निर्माण र सञ्चालनको निश्चित विधि छ । विधि छ भने विधिको विधान छ । त्यसैगरी विधानका विधाता पनि छन् । शासकहरुको शासक छन् । कर्म र कर्मको फलसिद्धान्त छ । मानिस रुपमा कर्तव्यलाई सर्वाेपरि राख्दै यसलाई परमात्मा तत्त्वमा समर्पण गरिनुपर्छ भन्ने भावले नेतालाई जहिले नि सकारात्मक ऊर्जाको धनी बनाइराख्दछ र नैतिक पतन हुनबाट जोगाउँछ । नेताहरु नै नास्तिक भइदिनाले मुलुकभित्र नकारात्मक कर्महरुको प्रतिस्पर्धा चरममा छ । सकारात्मक कर्ममा प्रतिस्पर्धा चलाउनु छ भने आस्तिक प्रवृत्ति नै चाहिन्छ नेतामा हुनुनर्पे गुणविशेषताका रुपमा । जुन नेता नास्तिक छ ऊ स्वेच्छाचारी बन्छ । अधर्म र अनैतिकताको आश्रय लिन्छ । न्यायप्रणालीको ख्याल राख्दैन । नास्तिकले मृत्युपछिको अर्काे यात्रा पनि सुकर्मकै बलमा तय गर्नु छ भन्ने कुरालाई बिर्सिन्छ । आफू त गलत मार्गमा हिंड्छ नै, जनतालाई पनि दिग्भ्रमित बनाउँछ । राष्ट्र लज्जित अवस्थामा असफलताको घुंघटो ओढ्न बाध्य छ । देशलाई सम्पदा र स्रोतसाधनले मात्र नभई कर्तव्यकेन्द्रित सेवाभावले समेत समृद्ध बनाउनु छ भने आस्तिक परायण धर्मनुरागी नेता नै चाहिन्छ ।

    प्रकाशित : शनिबार, २४ जेष्ठ २०८२ , ०१:३१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend