logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : देशका लागि एकता होइन, पदका लागि सौदा !

सम्पादकीय : देशका लागि एकता होइन, पदका लागि सौदा !


  • मंगलबार, जेष्ठ २७ २०८२
  • 1.1K
    SHARES

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) र नेकपा (विप्लव समूह) सँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन्। तर यो ‘एकता’ जनताको दुःखद पीडाबाट पैदा भएको चाहना होइन, बरु सत्ता र पदकै लागि चलिरहेको सौदाबाजी हो भन्ने बुझ्न गाह्रो छैन।

    नेपाल जस्तो मुलुकमा सत्तामा पुग्नका लागि पार्टी एकताले प्राथमिकता पाइरहने देश हो भन्ने कुरा दिनदहाडै देख्न सकिन्छ। चाहे प्रधानमन्त्री पदमा बहालवाला होस्, चाहे निवर्तमान प्रम—सिंहदरबारदेखि खुमलटारसम्म ‘एकता’ नामको पदको प्रलोभन दिइन्छ, पार्टीमा प्रवेश गर्नलाई लालचको हड्डी फालेर अदूरदर्शी स्यालरूपी जनतालाई लोभ्याउने प्रयास गरिन्छ। यही हो नेपाली राजनीति !

    विगतका गल्ती सच्याउने, जनतासँग पुनः जोडिने, समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजाने भनिए पनि माओवादी केन्द्रका गतिविधिहरू यथार्थमा त्यसको ठीक उल्टो दिशामा छन्। विगतको अनुभवले सिकाएको छ—पार्टी एकता भन्दा मतदाता बाँड्ने र कार्यकर्ता भाड्ने प्रवृत्ति हावी छ।

    देश बेरोजगारी, भ्रष्टाचार, पलायन, अतिक्रमण र अपराधले घुडा टेकेको छ। अर्थतन्त्र धराशायी, कृषि लावारिस, स्वास्थ्य कमजोर, शिक्षा तुहिएको, सीमा विवाद बढ्दो, परनिर्भरता झन्झन् गहिरिँदो, तर नेताहरूको ध्यान सांसद किन्न र बहुमतको जोहो मिलाउनमै सीमित छ।

    चुनावमा दारु, पैसा, मासुको चोक्टा बाँडेर मतदातालाई किन्ने प्रयास चलिरहेछ। विकास होइन, ठेक्कापट्टा कार्यकर्तालाई बाँड्ने सोचले जरा गाडिसकेको छ। समर्थन गर्नेलाई मोहराको रूपमा प्रयोग गर्ने र नगर्नेलाई बाटोबाटै हटाइदिने प्रवृत्ति राजनीतिको नाममा मौलाइरहेको छ।

    प्रत्येक पार्टीमा यस्ता छुल्याहा, उपद्रवी छन्, जसलाई पार्टी नेतृत्वको आदेशमा जनता वा प्रतिद्वन्द्वीमाथि हतियार चलाउन प्रशिक्षित गरिन्छ। यस्तो प्रलोभन र प्रतिशोधको राजनीति जबसम्म समाप्त पारिँदैन, तबसम्म नेपालमा साँचो समृद्धिको मूल फुट्दैन।

    अतः अब समय आएको छ—पार्टीको विकास गर्न अनुचित हतकण्डा अपनाउने नेताहरूको उपस्थितिलाई शून्यमा झार्ने। जब मात्र जनता सार्वभौम सम्पन्न हैसियतमा सार्थक बन्नेछन्, अनि मात्र समृद्धिको सपना साकार हुनेछ।

    राजनीति अपराध होइन, उत्तरदायित्व हो भन्ने चेतनाले फेरि देश बनोस्। यही हो आजको आवश्यकता, आजको सम्पादकीयको अन्तर्निहित आवाज।

    प्रकाशित : मंगलबार, २७ जेष्ठ २०८२ , ०२:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend