logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : दुर्लभ मानव जीवनलाई श्रावण महिना ठानेर आध्यात्मिक पुरुषार्थ गरौँ

सम्पादकीय : दुर्लभ मानव जीवनलाई श्रावण महिना ठानेर आध्यात्मिक पुरुषार्थ गरौँ


  • बिहिबार, साउन १ २०८२
  • 1.2K
    SHARES

    सम्पादकीय

    सूर्य कर्कट राशिमा प्रवेश गर्दा, सनातन परम्परामा यो क्षण ‘कर्कट संक्रान्ति’ वा ‘श्रावण संक्रान्ति’का रूपमा चिनिन्छ । यही क्षणदेखि सुरु हुने श्रावण महिना न केवल ऋतुचक्रको दृष्टिले विशेष छ, तर आध्यात्मिक चेतनाको दृष्टिले अझ महत्त्वपूर्ण छ । स्कन्धपुराणको श्रावण महात्म्य अनुसार, अन्य महिनाको तुलनामा श्रावणमा गरिएको कुनै पनि शुभकर्म अनन्तगुणा फलदायी हुने विश्वास गरिएको छ ।

    यही सन्दर्भलाई पछ्याउँदै, ब्रह्मकुमारीहरुको मुरलीमा उल्लेख गरिएअनुसार, कलियुगको अन्त्य र सत्ययुगको प्रारम्भबीचको सन्धिकाल अर्थात् ‘संगमयुग’ जम्मा १०० वर्षको मात्रै हो भन्ने बताइएको छ । यदि हामीले यो गणनालाई गम्भीरतापूर्वक आत्मसात् गर्ने हो भने, अहिले हामी ती अन्तिम केही दशकको समयावधिमा प्रवेश गरिसकेको ठान्न सकिन्छ, जसमा हरेक जीवात्माले परमात्मप्राप्तिको अवसर पाउनेछ – तर केवल त्यही आत्माले जो संसारप्रतिको मोह त्याग्न तयार छ ।

    सनातन धर्मले सृष्टिलाई चार युगमा बाँडेको छ : सतयुग, त्रेतायुग, द्वापरयुग र कलियुग । यीमध्ये कलियुग अन्तिम युग हो, जसलाई अन्धकार, अधर्म र तामसिक प्रवृत्तिको युग भनिएको छ । तर आश्चर्यजनक रूपमा, यही युगमा ‘संगमयुग’को छोटो अवधिको आगमन हुन्छ, जुन पुनः धर्म स्थापनाको अवसर दिन्छ । यस अवसरमा, जो आध्यात्मिक पुरुषार्थमा संलग्न हुन्छ, उनले ८४ जन्मको शृंखलामा पनि सुन्दर जीवन प्राप्त गर्न सक्छ ।

    श्रावण महिना ठीक त्यस्तै विशेष काल हो, जसमा स्वयम् भगवान शिवले पनि भक्तजनलाई आध्यात्मिक पुरुषार्थमा प्रवृत्त हुन आह्वान गर्नुहुन्छ । यो महिना केवल जल चढाउने, उपवास बस्ने र मन्दिर जाने समय होइन ; यो त आत्मालाई शुद्ध पार्ने, मनलाई सात्विक बनाउने, तामसिक भोजन र व्यवहार त्याग्ने र आत्मिक लक्ष्यप्रति केन्द्रित हुने महिना हो ।

    हामी सबैलाई आत्मसमीक्षा गर्न जरुरी छ । के हामी वास्तवमै जीवनको लक्ष्यप्रति जागरूक छौं ? के हामी भगवदप्राप्ति चाहन्छौं, वा केवल इन्द्रियको तृप्तिमा जीवन बर्बाद गर्दैछौं ? राधाकृष्ण– जो समय, सृष्टि, मृत्यु र पुनर्जन्म सबैका आधार हुन्, जो त्रिकालदर्शी, सर्वव्यापक र सर्वज्ञ छन् – तिनैको आश्रयमा जानु नै वास्तविक आध्यात्मिक उन्नति हो ।

    कुनै पनि व्यक्तिले आफ्नो आत्मा र चेतनालाई राधाकृष्णप्रति समर्पित गर्न ठूला यज्ञ वा कठोर तपस्या गर्नु पर्दैन । श्रीकृष्णले स्वयं भगवद्गीतामा भन्नुभएको छ – “जो प्रेम, श्रद्धा र विश्वासले केवल एकपल मेरो नाम लिन्छ, म उसलाई अनन्त गुणा प्रेमले प्रतिउत्तर दिन्छु ।” त्यसैले आवश्यकता छ केवल एक दृढ निश्चयको – संसारको मोह त्यागेर एकमात्र राधाकृष्णको नाम, रूप, लीलामा मन अर्पण गर्ने ।

    आजको समय यन्त्रवत् भएको छ । मानिस दौडिरहेछ, तर दिशा हराउँदैछ । उसले आश्रय त लिएको छ, तर भौतिक वस्तुको । र त जसको स्वरूप क्षणिक छ, त्यसले आत्मामा शान्ति होइन, असन्तुष्टि मात्र दिन्छ । यदि हामी साच्चिकै शाश्वत शान्ति, सन्तुष्टि र परमानन्दको खोजीमा छौं भने, हामीले संसारको आश्रय होइन, परमात्माको आश्रय लिनुपर्छ । र त्यो परमात्मा राधाकृष्ण हुन् – जसका नाममा जीवन सफल हुन्छ, जसको शरणमा गएर मात्र आत्माको मोक्ष सम्भव हुन्छ ।

    श्रावण महिना एक प्रतीक हो – जीवनको त्यो कालखण्ड जसलाई हामी ‘संगमयुग’को अवसरका रुपमा लिन सक्छौं । जसरी विशेष अन्नबाली विशेष ऋतुमै लगाइन्छ, त्यसरी नै आध्यात्मिक पुरुषार्थ पनि विशेष महिनामा गरिए प्रभावकारी हुन्छभने झैँ यो सम्पूर्ण मानव जन्मलाई श्रावण मास ठानेर जहिले नि आधात्मिक पुरुषार्थ गर्न तत्पर हुनुपर्दछ । परमकल्याणकारी परमात्मामा मन लगाउन सकेमा मात्र यो मानवजन्म श्रावण महिना जस्तै परम पावन र पुण्यफलदायी बन्न सक्छ ।

    यसर्थ, आवश्यकता छ – हामी सबैले आफ्ना हृदयलाई श्रावण महिनातुल्य पवित्र तुल्याउन, आफ्नो मनोवृत्तिलाई सात्विक बनाउने, र राधाकृष्णप्रतिको सम्पूर्ण समर्पणमार्फत साँचो आध्यात्मिक उन्नतिको मार्ग अँगाल्ने । संसारको तमोमय आकर्षणलाई त्यागेर, राधाकृष्णको शरणमा जानु नै जीवनको परम सफलताको संकेत हो ।

    प्रकाशित : बिहिबार, १ साउन २०८२ , १०:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend