logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : प्रभुलीला, संसारसँगको प्यार र जीवनको अन्तिम श्वास

सम्पादकीय : प्रभुलीला, संसारसँगको प्यार र जीवनको अन्तिम श्वास


  • शनिबार, साउन ३ २०८२
  • 2.7K
    SHARES

    प्रभुलीला पनि अचम्मकै छ । बुझि नसक्नु । न इन्कार गर्न सकिन्छ न त प्रभावमा नपरी रहन । पवन, भानूको रश्मि, धरारज, वनस्पति जगत, नभ, सखासखी, सुखदुःख, वन्धुवान्धव, तृप्ति, भौतिक मनोरमता, विज्ञान, प्रविधि, भोक, शोक, रोग, जीवन, मृत्यु, पापपुण्य, ऋतु, निशादिवा, राग, वैराग, मायामोह, लोभ, अहँकार, पिण्ड सबै प्रभुलीलाकै अंग हुन् । परमेश्वरको लीलामा जो सत्य प्रतीत हुन्छ त्यो भ्रम हो । जो भ्रम लाग्छ त्यो सत्य । मन, बुद्धि, चित्त, अहँकार, इन्द्रियहरु आदिको संयोजन प्राप्त यो पञ्चभौतिक शरीरमा अनेक रहस्यहरु लुकेका छन् । यही स्थूल शरीरभित्र सूक्ष्म शरीर छ । प्राण, अपान, समान, उदान, व्यान जस्ता पाँच प्राण तथा नाग, कूर्म, कृकल, देवदत्त एवं धनंजय लगायतका पाँच उपप्राणहरु पनि यसैभित्र सुसज्जित छन् । मूलाधार, स्वधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा र सहस्त्रार जस्ता सात चक्रहरु जीवनपर्यन्त यही शरीरमा सक्रिय रहन्छन् । परमात्मा पनि यही हिलोयुक्त जलरुपी स्थूल शरीरभित्र नीरजवत् विराजमान छन्, अविनाशी, अनश्वर आत्मास्वरुपमा । तर अनौठो, आत्मा, पाँच प्राण, पाँच उपप्राण एव सात चक्र जस्ता अमूल्य मणिरत्नजडित देह अवसान भई एकदिन पुनः आकाश, जल, अग्नि, वायु र रज लगायतका पञ्चभूतहरुमा फर्किन्छ । प्रभुद्वारा सिर्जित यो लीला आफैमा परिपक्व एवं परिपूर्ण छ । यसलाई अध्यावधिक गर्नुपर्ने आवश्यकता नै छैन । न त यसमा कुनै त्रुटि नै छ । प्रभु अनन्त ब्रह्माण्ड क्षणमा बनाउन र ती ब्रह्माण्डहरुलाई पलभरमा नष्ट गर्न सक्षम छन् तर पनि प्रभुलीलाले समेत निश्चित नियम र मापदण्डकै अनुशरण गरिरहेको छ । सूर्यास्त, सूर्याेदय, ऋतुचक्र, धर्तीको उत्पादनशीलता, जन्म, मरण जस्ता सम्पूर्ण प्राकृतिक प्रणालीले त्यही नियम र मापदण्दलाई पछ्याउँदै आआफ्नो मूल कर्तव्य र अस्तित्वको रक्षा गरिरहेका छन् ।

    भौतिक शरीरसँग आत्माको संयोजनले जीवनभावयुक्त जीवात्माको अस्तित्व प्रारम्भ हुन्छ । जन्मदेखि मृत्युसम्मको संघर्षले जीवनको महत्वलाई निश्चित अर्थ र सम्मान प्रदान गर्दछ । करोडौंको हिसाब अन्तमा शून्य । कस्तो अनौठो लीला । एकदिन मानसम्मान, पदप्रतिष्ठा, प्रियजन, प्रियस्थान, नातासम्बन्ध, धनसम्पत्ति, भौतिक संसाधन सबै छुट्ने नै हुन् भन्ने कुराको प्रत्यक्ष प्रमाणसँग अवगत हुँदा पनि मनुष्यले संघर्ष गर्न रोक्दैन । कसैको साथसमर्थन होस् वा विरोध अथवा अहयोग, मिलन होस् वा वियोग, ईर्ष्या, घृणा वा प्रेम हर परिस्थितिमा संघर्ष जारी छ । जीवनका प्रत्येक उतारचढाउमा स्वांग र अभिनय गर्न जीवात्मा निरन्तर गतिशील छ । कुनै जीवात्मा स्वार्थपूर्तिका लागि जुनसुकै सीमा नाघ्न तयार छ भने कुनै जीवात्मा सत्यको खोजी गर्छु, परमतत्वसँग एकाकार हुन्छु, सत्यको मार्ग छोड्दिन, यो दुर्लभ जन्मको वचन, प्रतिबद्धता र लक्ष्य भुल्दिन भन्दै अथक साधना र पुरुषार्थको यात्रामा अगाडि बढिरहेको छ ।

    समयचक्रको प्रवाहसँगै जीवनका प्रमुख घटना दृष्टिगोचर हुने र पार्थिव देह विलीन बन्ने कार्यको निरन्तरताले प्रभुको लीलालाई नै दर्शाइरहेको छ । स्वजन, साथीभाइ, इष्टमित्र, छिमेकी आदिसँगको भेटघाट र वियोगमा सुखदुःखका अनन्त अनुभूतिहरुको मेला लागिरहेको छ । बलबुद्धि र क्षमता रहुन्जेल आफ्नो भूमिकामा जीवात्माले स्वयंलाई उत्कृष्ट साबित गर्न हर सम्भव प्रयास अपनाउँछ । आत्मा जन्ममरणको प्रभावमा पर्दैन । तथापि, धर्तीमा म जन्मिएको दिन हो भनी उक्त दिनलाई स्मरण गर्दै जन्मोत्सव त मनाउँछ तर प्राप्त पूर्ण आयुबाट एक वर्ष फेरि ऋणात्मक अर्थात् कटौति भएको कुरालाई भुलिदिन्छ । क्रमशः प्रत्येक वर्ष, प्रतिपल आयु कटौति हुँदैछ । संसारको क्षणभंगुर मेलामा रमाउन यतिसम्म व्यस्त छ मानिस कि आयुरुपी शीखरारोहणसँगै जीवनावधि क्रमशः ओराली लागेको पक्षलाई उसले चिन्तनमनन नै गर्दैन । यही हो प्रभुको लीला । अल्बर्ट आइन्स्टाइनले जीवनभर आफूलाई अत्यन्त साधारण रूपमा हेरेका थिए। उनले भनेको एउटा प्रसिद्ध भनाइ छ ‘‘म त अझै पनि समुद्रकिनारमा खेलिरहेको एउटा सानो बालकजस्तै मात्र हुँ, जब कि संसारले मलाई एक महान वैज्ञानिक भन्छ।’’ भाव भ्रमात्मक वा सत्यात्मक दुबै हुन सक्छ ।

    आइन्स्टाइन जस्ता वैज्ञानिकले स्वयंलाई अबोध बालक जस्तै ठानिरहे आजीवन । भ्रमात्मक भावले अहँकारलाई जन्म दिन्छ भने सत्यात्मक भावले मानिसलाई विनम्र र विनयशील बनाउँछ । भगवान कृष्ण भन्छन् जीवात्मालाई –‘‘तिमी निमित्त मात्रै हो, गर्ने गराउने र भोग्ने भोक्ता मै हुँ ।’’ भगवानको लीलालाई आत्मासात् गर्दै गहनपूर्वक सोच्ने हो भने त मानिसको हैसियत त्यति नै हो जति तृणको हुन्छ । तर स्वयंको कला, गुण, बलबुद्धि र उपलब्धिको घमण्ड चाहिँ आकाशभन्दा उँचो । परमेश्वरले सृष्टि रचने, सञ्चालन गर्ने र संहार गर्ने शक्ति सामर्थ्य राख्दछन्, त्यसका बावजुद उनीमा अहँकार लेसमात्र पनि छैन । सबैथोक श्रीराधाकृष्णकै लीला हो भने जीवात्मा आफैँले गर्नसक्ने के हो त ? यो एउटा मार्गनिर्देशक प्रश्न हो । जीवात्मा (मानिस)ले गर्नसक्ने भनेको एउटै कुरा हो अर्थात् चयन वा निर्णय । मानिसको निर्णय वा चयनले परिणतिको दिशा, किसिम, गति र उन्नति निर्धारण गर्दछ । श्रीकृष्ण भन्छन् विवेक र बलको स्वरुपमा म जीवात्मासँगै छु । सबै मेरो अधिनमा छ तर जुन मन र बुद्धि प्रदान गरेको छु, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने अधिकार वा स्वतन्त्रता जीवात्माकै हो । त्यस उपर मेरो हस्तक्षेप रहँदैन । सुखान्त वा दुःखान्त मानिसको कर्ममा अर्थात् निर्णय वा चयनमा निर्भर गर्दछ । मनुष्यको चयन र निर्णय कस्तो हुने भन्ने कुरा उसको मन र बुद्धिमा भर पर्दछ । यही मन र बुद्धि यदि भगवानमा लागेको छ भने जीवात्माले उचित चयन गर्ने वा निर्णय लिने सामर्थ्य राख्दछ । तर संसारी कुरामा मन, बुद्धि आश्रित भएमा चयन र निर्णयको औचित्यमाथि प्रश्न खडा हुनसक्छ । कारण बिनाको कुनै पनि घटना परिणामको रुपमा प्रकट हुँदैन । त्यही कारण भनेकै मानिसको कर्म अर्थात् चयन वा निर्णय हो । कर्मले भाग्य बनाउँछ, कर्मले प्रारब्ध रच्दछ । परमात्मालाई परमात्माको रुपमा मान्न कठिन लाग्दछ भने सखासखीका रुपमा मान्न जीवात्माका लागि परमावश्यक कार्य हो । अनि मात्र जीवनको अन्तिम श्वास लिन अत्यन्त सहज हुन्छ । संसारसँगको प्यारमा धोखा वा छल मात्र छ । संसारले प्रलोभन र ग्लानिबोध दिन्छ, अन्तिममा अवश्य रुवाउँछ, जबकि भगवानसित प्यार गरेमा परम कल्याण छ ।

    प्रकाशित : शनिबार, ३ साउन २०८२ , ०१:०२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend