logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: समाजमा बढ्दो चारित्रिक विचलन र प्रेमको पवित्रता: श्रीकृष्णको दृष्टान्त

सम्पादकीय: समाजमा बढ्दो चारित्रिक विचलन र प्रेमको पवित्रता: श्रीकृष्णको दृष्टान्त


  • बुधबार, साउन १४ २०८२
  • 3.3K
    SHARES

    संसारभरि भक्ति–भावनाको लहर फैलाउँदै इस्कोन (ISKCON) संस्था जब पोल्याण्डजस्तो यूरोपेली मुलुकमा श्रीकृष्णको प्रेम, भक्ति र लीला प्रचार गर्दै थियो, त्यही समयमा एक ननद्वारा श्रीकृष्णमाथि अदालतमा केस दर्ज भयो “जो स्वयं चरित्रहीन छन्, उनी कसरी भगवान ठानिए? इस्कोन बन्द (प्रतिबन्ध) गरियोस् “। यस प्रकारको आरोप वास्तवमा हाम्रो समाजमा व्याप्त गहिरो अज्ञानताको प्रतिनिधि हो, जसले प्रेम र वासना, पवित्रता र स्वार्थ, समर्पण र स्वार्थी सम्बन्धको भेद छुट्याउन सक्दैन। नन (Nun) भनेको इसाई धर्ममा परमेश्वरको सेवामा समर्पित महिलालाई भनिन्छ जसले विवाह नगर्ने, सांसारिक सुख–सुविधाबाट टाढा रहने, र धार्मिक नियमअनुसार जीवन यापन गर्ने व्रत लिएकी हुन्छिन्। ननहरूले प्रायः विद्यालय, अस्पताल, वृद्धाश्रम, अनाथालय जस्ता स्थानहरूमा सेवा गर्छन्। उनीहरू प्रार्थना, ध्यान र सेवा कार्यमार्फत जीवन बिताउँछन्। मदर टेरेसा विश्वप्रसिद्ध नन हुन्, जसले भारतमा जीवनभर गरिब, रोगी र परित्यक्तहरूको सेवा गरिन्।

    यस ऐतिहासिक मुद्दामा अदालतको तर्फबाट समन जारी भयो । इस्कोनको तर्फबाट एक भक्त अनुयायीले कटघरामा उभिएर ननलाई नन बन्दाको समयमा उनले के शपथ लिइकीथिइन् कृपया उनलाई अदालतको सामु सुनाउन भन्नुहोस् भनी जजसित प्रार्थना गरे । जजले ननलाई त्यो शपथ दोहोराउन आग्रह गरे तर ननले शपथ सुनाइनन्, मौन रहिन् । तब इस्कोनका विद्वानले जजसित भने कि यदि अदालतले अनुमति दिन्छ भने त्यस शपथलाई पढेर उनले सुनाउन चाहन्छन् । जजले अनुमति दिए । अन्ततः इस्कोनका विद्वान अनुयायीले अदालतसमक्ष ननको शपथ वाचन गरे— जसमा लेखिएको थियो, “Jesus Christ is my husband. I vow to remain his wife forever.” ( जिजस क्राइस नै मेरा पति हुन् । म आजीवन उनकी पत्नी बनेर रहनेछु ।) त्यसपछि विद्वानले प्रश्न गरे,  “मिलोड यसरी हेर्ने हो भने त सम्पूर्ण दुनियाँमा दस करोडभन्दा बढी नन छन् जो जिजस क्राइस्टकी विवाहिता पत्नी हुन् । जहाँसम्म श्रीकृष्णकी सोह्र हजार पत्नीहरुको कुरा आउँछ यसको विषयमा इतिहास छ कि भोमासुर नामक असुरले १६ हजार महिलाहरुलाई बन्दी बनाएको थियो र उनीहरुसँग विवाह गर्ने चाहना राखेको थियो । श्रीकृष्णले ती १६ हजार स्त्रीहरुलाई भोमासुर नामक असुरबाट मुक्त गरे । बन्दी बनाइएकी स्त्रीहरुले भोमासुरद्वारा अपहरित अवस्थाबाट आफूहरु मुक्त भएता पनि समाजले अस्वीकार गर्ने विचार व्यक्त गरेपछि स्त्रीहरुको आग्रहमा श्रीकृष्णले उनीहरुको सम्मानहेतु उनीहरुसँग विवाह गरे । यस आधारमा कोर्टले तय गरोस् कि जिजस क्राइस्ट र श्रीकृष्णमध्ये कसको चरित्र ठिक छैन ।”  विद्वानको यो तर्क सुनेपछि अदालतमा ताली गुञ्जियो र हरे कृष्ण हरे कृष्णको जयकारा लाग्नथाल्यो र ननद्वारा गरिएको केस खारेज भयो ।

    तर आज, सोही घटनाबाट शिक्षा लिनुको सट्टा समाज उल्टो बाटो हिँड्दैछ। श्रीकृष्णको “१६ हजार पत्नी” भन्ने प्रसङ्गलाई लिएर अज्ञानी मानिसहरू आफ्नो चारित्रिक विचलनलाई धर्मसँगत ठहर गर्न खोज्छन्। विवाहबाहेकका सम्बन्धलाई “प्रेम” भन्दै ढाकछोप गरिन्छ। कतिपय महिला पनि स्वेच्छाले गलत सम्बन्धमा सहभागी हुन्छन्। घर–घरमा झगडा, सम्बन्धविच्छेद, हिंसा र आत्महत्या बढ्दो क्रममा छन्।

    समाजमा गलत धारणा बनाइएको छ— “प्रेम र युद्धमा सबै जायज हुन्छ“। तर, यसमा लुकेको वैर, द्वेष, प्रतिशोधस्वार्थ जब कर्ममा मिसिन्छ, त्यो पाप बन्छ। श्रीकृष्णले जसरी निष्काम भावले प्रेम गरेका थिए— त्यो प्रेम थियो राधासँग, गोप–गोपिनीहरूसँग, मीरा बाईको हृदयमा। ती सम्बन्धमा शारीरिक स्पर्श होइन, आत्मिक अनुभूति थियो

    जोधपुरकी मीरा बाईको विवाह सन् १५१६ मा मेवाड राज्यका राजकुमार भोजराजसँग भएको थियो । तर, श्रीकृष्णप्रतिको उनको प्रेमले दाम्पत्य जीवनको पारम्परिक स्वरूपलाई पनि चुप बनायो। मीरा सन्त स्वभावकी थिइन् । उनी कहिल्यै विचलित भइनन् । विष दिइयो, अपमान गरियो, तर उनको प्रेम–श्रद्धा–भक्ति डगमगाएन।

    त्यस्तै, राधाको विवाह अयनसँग भए पनि उनको प्रेम श्रीकृष्णमै समर्पित रह्यो। श्रीकृष्णसँग उनीहरुले कहिल्यै शारीरिक सुखको अपेक्षा राखेनन्। यो हो प्रेम– जसको जग पवित्रता, त्याग, समर्पणआत्मिक सम्बन्ध हो।

    आजको समाजमा जब पारिवारिक सम्बन्धबाट प्रेम हराउँदैछ, जब स्वार्थ हावी हुँदैछ, जब अनैतिक सम्बन्ध सामान्यजस्तै देखिन्छ, तब सृष्टिमा नै विनाशको सङ्केत देखिन थाल्छ। पतिपत्नीबीच प्रेम छैन भने घर परिवार स्वरुपमा रहँदैन । प्रेम समर्पण र विश्वास हो । यसमा वैर, द्वेष र प्रतिशोध अथवा स्वार्थको कुनै स्थान छैन । यदि स्थान छ भने त्यो प्रेम नै होइन, केवल आकर्षण हो । प्रेमको जग नै पवित्रता हो, शान्ति हो, त्याग हो, समर्पण हो, विश्वास हो । प्रेमलाई भौतिक दुरीले कुनै असर गर्दैन । सृष्टि रचनाको आधार नै प्रेम हो । जहाँ प्रेम छैन त्यहाँ अज्ञान छ, हिंसा छ, अनैतिक सम्बन्ध छ, भ्रष्टाचार छ, अपमान र तिरस्कार छ । पतिपत्नी, मातापिता र उनका सन्तान, दाजुभाइ र मानिसहरुमा परस्पर प्रेम छैन भने त्यहाँ जीवनको पतन छ । जबजब मानिसको हृदयदेखि प्रेम विलय हुन्छ तबतब सृष्टिमा विनाशकारी प्रलय आउँदै छ भनेर जाने हुन्छ  ।

    छोराछोरीहरुले आफुखुसी समयपूर्व नै जीवनसाथी रोज्न थालिसके । लुकिछिपी आजभोलि सन्तानहरु अपरिचितसित सम्बन्ध बनाइरहेका छन् । स्कूल, कलेज जान घरदेखि निस्किन्छन् तर कक्षाकोठामा हुँदैनन्, डेटिङ्गलाई समय दिन्छन् । यस शारीरिक आकर्षणलाई उनीहरु प्रेम भनी सम्बोधन गर्छन् । परिवारमा मर्यादा र मातापिताप्रतिको दायित्व के हो, उनीहरुलाई स्मरण नै छैन । प्रेमको नाममा भ्रम पालेका सन्तानहरुको ब्रह्मचर्य नष्ट हुँदैछ भने छोरीहरु विवाहपूर्व नै सतीत्व गुमाउँदै छन् । समाज भयानक अन्धकारतर्फ अग्रसर छ । अमृत ठानी हलाहल विष ग्रहण गर्न अहिलेका पुस्ता तत्पर देखिन्छन् ।

    यसैले, आज अत्यावश्यक कुरा हो– प्रेमको शुद्ध स्वरूप बुझ्नु। राधाकृष्ण, मीराबाई, यशोदा नन्दन, र भक्त प्रहलाद जस्ता पात्रहरूले जुन प्रेम देखाए, त्यो आत्माको प्रेम हो। त्यो प्रेम स्वार्थरहित छ, अहंकाररहित छ, र जीवनलाई उज्यालो बनाउने अमूल्य शक्ति हो।

    हामी सबैले स्मरण गर्नुपर्छ–
    “प्रेम त्याग हो, समर्पण हो, शान्ति हो, सत्य हो। जहाँ प्रेम छ, त्यहाँ भगवान् छन्।”
    श्रीकृष्णलाई बुझ्न आत्मालाई शुद्ध पार्नुपर्छ, शारीरिक मोहलाई होइन।

    प्रकाशित : बुधबार, १४ साउन २०८२ , ०८:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend