logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: कसलाई र कतिजनालाई गुरु बनाउन सकिन्छ ?

सम्पादकीय: कसलाई र कतिजनालाई गुरु बनाउन सकिन्छ ?


  • शुक्रबार, साउन १६ २०८२
  • 2.1K
    SHARES

    गुरु बिना ज्ञान सम्भव छैन । ज्ञान अर्थात् नित्य रुपमा परमात्माको योगमा रहेको चेतना । सबै पाठकलाई लाग्दछ कि ज्ञान भनेको जानकारी हो, कुनै चिज, वस्तु, स्थान वा घटनासित अवगत हुनु हो । ज्ञानको वास्तविक अर्थ फरक छ र यही ज्ञान दुर्लभ मानिएको छ । जबकि जानकारी वा सूचना त पुस्तक, सामाजिक सञ्जाल वा कुनै सम्बन्धित निकायबाट सहजै पाइन्छ । मानवजीवनमा ज्ञानको भूमिकाले अत्यन्त महत्त्व राख्दछ किनकि यसको सम्बन्ध व्यक्तिको मोक्ष वा मुक्ति र आध्यात्मिकताको चरम अवस्थासँग रहेको हुन्छ । भगवद् चिन्तन नै ज्ञानको लाक्षणिक भाष्य हो । लाखौँ मार्गहरु छन् जुन एउटै स्थानमा गएर मिल्छन्, त्यो स्थान हो परमात्माको शरण । त्यहाँसम्म पुग्नका लागि निश्चित रुपमा जीवनलाई ज्ञानमय बनाउन सक्नुपर्दछ । यसका लागि ठुला ठुला विश्वविद्यालय गएर पढ्नुपर्छ भन्ने छैन । ज्ञानको सन्दर्भमा साधु, सन्त, ऋषिमुनिहरुको विचारमा एकरुपता देखिन्छ । श्रीहरिसँग भक्त प्रह्लादको अन्योन्याश्रित योगमय चेतना, मीराबाईको श्रीकृष्णसँग योगमय भाव ऊर्जा, पवनसुत हनुमानको श्रीरामप्रति समर्पणको सर्वाेत्कृष्ण दिव्य चैतन्य भाव स्वरुप आदिलाई ज्ञानको रुपमा लिन सकिन्छ । ज्ञान भगवान प्राप्तिको साधन हो । यो सन्दर्भमा भगवान दत्तात्रेयको गुरु चयन रुचिकर विषय रहेको छ जसलाई यहाँ वर्णन गरिएको छ ।

    भगवान दत्तात्रेयले २४ जना गुरु बनाए। उहाँ भन्नुहुन्थ्यो कि जुनसुकै जीव वा वस्तुबाट जतिसुकै पनि सिकाइ पाइन्छ भने त्यसलाई ग्रहण गर्न अवश्यै प्रयत्न गर्नु पर्छ। उहाँका २४ गुरु र तीबाट लिइएका शिक्षाहरू यसप्रकार छन्:

    पृथ्वी (धरती) – पृथ्वीबाट सहनशीलता र परोपकारको भावना सिक्न सकिन्छ। मानिसहरूले पृथ्वीमाथि कैयौं अत्याचार, खनन र अन्य क्रियाकलाप गर्छन्, तर पनि पृथ्वी माता सबै सहेर परोपकार गर्न छोड्दिन।

    सूर्य – सूर्यबाट यो शिक्षा मिल्छ कि जस्तै सूर्य एउटै भए पनि विभिन्न माध्यमबाट फरक–फरक देखिन्छ, त्यस्तै आत्मा पनि एउटै भए तापनि विभिन्न रूपहरूमा देखिन्छ।

    पिङ्गला – पिङ्गला नामकी वेश्याबाट भगवान् दत्तात्रेयले सिके कि जीवनको उद्देश्य केवल धन कमाउनु होइन। जब पिङ्गला धनको चाहनामा निदाउन सक्दिन थिई, त्यसपछि उसमा वैराग्य जाग्यो र बुझी कि साँचो सुख त परमात्माको चिन्तनमै छ।

    दत्तात्रेय महाराजले वेश्या समेतलाई गुरु बनाए। वेश्या त महात्मा थिईनन् नि! जब दत्तात्रेय महाराज जनकपुरमा विचरण गरिरहनु भएको थियो, त्यतिबेला एक वेश्या सिंगारिएर, सजधज गरेर पुरुषहरूको प्रतीक्षा गरिरहेकी थिईन्। बिहानदेखि रातसम्म कुरिरहिन्, तर कुनै पनि पुरुष उसँग संसर्ग, सम्भोग वा रतिको लागि आएन। यस्तो गरेर वेश्याको जीवनयापन हुन्थ्यो, किनभने आउने पुरुषहरूले शारीरिक मनोरञ्जन लिएपछि केही पैसा दिइहाल्थे।

    तर त्यस रात वेश्या केवल कुरिरहिन्। कुनै पनि वेश्यागमनकारी पुरुषको आगमन भएन। रातको १२ बजिसकेको थियो। ‘कोही पुरुष आओस्, पैसा दिओस्’ भनेर सोच्दै अझै प्रतीक्षा गरिरहेकी थिईन्। किनभने यस्तो अनैतिक कर्म गर्नेहरू रातको समयमा नै सक्रिय हुन्छन्। मध्यरात्रि बितिसकेपछि पनि कुनै पुरुष आएन। अब वेश्याको मनमा एकदमै फरक प्रकारका विचारहरूको तरंग उठ्न थाल्यो। उसको मनमा अचानक ठूलो परिवर्तन आयो। उसले आफैंका कर्महरूप्रति चरम घृणा गर्न थाली।

    ऊ सोच्न थाली– “म कति नीच छु! भगवान त मेरो हृदयमै बस्नुभएको छ, मैले आजसम्म भगवानलाई कहिल्यै बुझिनँ। यी संसारका पुरुषहरूलाई मैले कस्तो घृणित कार्यमा तानेँ! आजदेखि म संकल्प गर्छु– अब व्यभिचार गर्ने छैन, कुनै पुरुषलाई न छुने छु, न त छुन दिने छु । आजदेखि म परमपुरुष, परमात्माको शरण लिन्छु।”

    त्यही समय वरिपरि श्री दत्तात्रेय महाराज विचरण गरिरहनुभएको थियो। उहाँ त सबैका हृदय जान्ने हुनुहुन्थ्यो। जब वेश्याको हृदयबाट यी कुरा निस्कियो, दत्तात्रेय महाराजले उसलाई गुरुको स्थान दिनुभयो। भोगबाट वैराग्य प्राप्त गरेर परम पावन चरणहरूको आश्रय लिने व्यक्ति नै जीवनमा साँचो सुखी हुन्छ भन्ने कुरा पिंगला वेश्याले आफ्नो हृदयमा अङ्गीकार गरेकी थिईन्। त्यसैले गर्दा दत्तात्रेय महाराजले उनलाई गुरु माने। “आशा ही परमं दुःखम्, नैराश्य ही परमं सुखम्।” जब वेश्याले भोगी पुरुषहरूप्रति आशा गरिन्, दुःख पाइन्; र जब निराश भएर भगवानको शरणमा पुगिन्, तब परम सुखको अनुभूति हुन थाल्यो।

    कबूतर – कबूतरका बच्चाहरू जालमा परेपछि आमाबुबा पनि त्यहीं फस्छन्। यसबाट दत्तात्रेयले सिके कि अत्यधिक माया नै दुःखको कारण बन्न सक्छ।

    वायु (हावा) – वायु जस्तोसुकै स्थानमा गए पनि शुद्धता कायम राख्छ। त्यसै गरी हामीले पनि जस्तोसुकै वातावरणमा बस्दा आफ्नो स्वभाव र सद्गुणहरू कायम राख्नुपर्छ।

    मृग (हरिण) – मृग रमाइलोमा यति मस्त हुन्छ कि शत्रु कहाँ छ थाहा नै हुँदैन, र मारिन्छ। यसले सिकाउँछ कि जीवनमा अत्यधिक मौजमस्तीले लापरवाही ल्याउँछ।

    समुद्र – समुद्रको लहर निरन्तर चलिरहन्छ। त्यसै गरी जीवनमा उतारचढाव आए पनि निराश नहुई अघि बढ्नुपर्छ।

    पतंगा – पतंगा आगोप्रति आकर्षित भएर जल्छ। त्यसै गरी हामीले पनि झूटा मोह वा सौन्दर्यप्रतिको आकर्षणबाट जोगिनुपर्छ।

    हाथी – हात्ती हातिनीप्रति आसक्त भई नियन्त्रण गुमाउँछ। संन्यासी वा तपस्वीलाई स्त्रीप्रति आकर्षणबाट टाढा रहनु उचित हुन्छ।

    आकाश – आकाश जस्तै हामी पनि कुनै देश, काल वा परिस्थतिको आसक्तिबाट टाढा रहनु आवश्यक छ।

    जल (पानी) – जल सदा पवित्र रहन्छ। त्यसै गरी हामी पनि आन्तरिक र बाह्य रूपमा पवित्र रहनु आवश्यक छ।

    मधुमक्खी – मधुमक्खीले धेरै शहद जम्मा गर्छ, तर अन्त्यमा अरूले आएर सबै लुट्छन्। यसबाट सिक्न सकिन्छ कि आवश्यकता भन्दा बढी सम्पत्ति जम्मा गर्नु बुद्धिमानी होइन।

    माछा – माछा स्वादको लागि बाँच्दछ, तर त्यही स्वाद उसको मृत्युको कारण बन्छ। स्वादभन्दा स्वास्थ्यमा केन्द्रित भई सादा भोजन गर्नुपर्छ।

    कुरर पक्षी – कुररले मासुको टुक्रा चुँडेर राख्छ, तर अरू बलिया पक्षी आएर लिन्छन्। अन्ततः जब उसले मासु छोड्छ, तब मात्रै उसलाई शान्ति मिल्छ। यसबाट हामीले त्यागको महत्त्व बुझ्नुपर्छ।

    बालक – सानो बच्चा सधैं चिन्तामुक्त र हर्षित हुन्छ। हामीले पनि चिन्तारहित जीवन बाँच्न सिक्नुपर्छ।

    अग्नि (आगो) – आगो जहाँ–जहाँ जान्छ, त्यहाँ–त्यहाँको वातावरण अनुसार आफूलाई ढाल्छ। त्यसै गरी जीवनका सबै परिस्थितिमा आफूलाई ढाल्न सक्ने हुनुपर्छ।

    चन्द्रमा – चन्द्रमाको घटबढ भए पनि ऊ सधैं उज्यालो र शीतल हुन्छ। आत्मा पनि लाभ–हानिबाट अछुतो हुन्छ भन्ने बोध हुनुपर्छ।

    कुमारी कन्या – धान कुट्दै गर्दा चूडीको आवाजले पाहुनालाई पिर भए पछि कुमारी कन्याले चूडी तोडेर एउटा मात्रै राखी शान्तिपूर्वक काम गरिन्। यसले देखाउँछ कि एक्लै भएर पनि लक्ष्यमा दृढतापूर्वक अघि बढ्न सकिन्छ।

    तीर बनाउने व्यक्ति

    सडकको छेउमा बसेर एक जनाले बाण बनाउँदै थियो। ऊ त्यसको नोक तिखार्दै थियो। उता बाटो हुँदै राजा‌को सवारी गुज्रियो। दत्तात्रेय महाराज पनि त्यही बाटो हुँदै भ्रमण गर्दै जानुहुन्थ्यो। एक सैनिक आएर त्यो बाण बनाउने व्यक्तिलाई सोधे–
    “राजाको सवारी कति टाढा पुगिसक्यो?”

    बाण बनाउने व्यक्तिले जवाफ दियो–
    “मलाई थाहा छैन।”

    सैनिकले भन्यो–
    “सडकको छेउमै तैं बसी बाण बनाइराखेको, तैलाई थाहा छैन? झूट बोल्दैछस्!”

    बाण बनाउने व्यक्तिले शान्त भावमा जवाफ दियो–
    “म सत्य बोल्दैछु। म त बाणको सिधाइ र नोकमा यति धेरै तन्मय थिएँ कि मेरो कानले केही सुनेन। न घोडाहरूको टाप सुनेँ, न जयजयकारको आवाज, न ढोल–नगाडाको गडगडाहट।”

    दत्तात्रेय महाराजले त्यो बाण बनाउने व्यक्तिलाई गुरु मान्नुभयो – यस भावबाट कि साधु–सन्तको चित्त यति एकाग्र हुनु पर्छ  कि उसले संसाररुपी ढोल, नगाडा, बाजाको वास्तै नगरोस् ।

    जसरी त्यो बाण बनाउने व्यक्ति बाणको नोकको सटीकताको लक्ष्यमा यति डुबेको थियो कि उसको करिबबाटै राजाको सवारी पास भयो, तर उसलाई थाहा नै भएन। त्यसैगरी कुनै साधुले बजारको भिडमा पनि समाधिस्थ भई संसारबाट अनभिज्ञ हुन सक्नुपर्छ। यस गूढ भावलाई देखेर दत्तात्रेय महाराजले उस बाणकारलाई आफ्नो गुरु स्वीकार गर्नुभयो। तीर बनाउने व्यक्ति आफ्नो काममा यति तल्लीन थियो कि राजाको सवारी नजिकबाटै गयो तर उसलाई थाहै भएन । यसले देखाउँछ कि ध्यान र अभ्यासबाट मन नियन्त्रणमा गर्न सकिन्छ।

    सर्प (साँप) – साँप एक्लै बस्छ, अनि स्थायी घर बनाउँदैन। संन्यासीलाई पनि एक्लै जीवन बिताउनु र संसारमा घुम्दै ज्ञान बाँड्नु उपयुक्त हुन्छ।

    माकुरो (मकडी) – दत्तात्रेयले माकुरो (मकडी) बाट सिके कि भगवानले पनि मायाजाल सिर्जना गर्नुहुन्छ र अन्ततः त्यसलाई नै अन्त्य गर्नुहुन्छ। ठीक त्यसैगरी जस्तो एक माकुरोले आफैँले जाल बनाउँछ, त्यसमा विचरण गर्छ र अन्ततः सम्पूर्ण जाललाई आफैँ निलिदिन्छ । ठीक त्यसरी नै भगवानले पनि माया मार्फत सृष्टिको रचना गर्नुहुन्छ र अन्त्यमा त्यसलाई आफैँ समेट्नुहुन्छ।

    भृङ्गी कीरा – यो कीराले जुन कुरामा मन लगाउँछ, ऊ स्वयं त्यसैमा परिणत हुन्छ। यसले देखाउँछ कि मन जहाँ लगायो, हामी त्यही बन्छौं।

    अजगर – अजगर जे पाइन्छ, त्यही खाएर सन्तोष गर्छ। हामी पनि प्राप्तमा सन्तुष्ट हुन सिक्नुपर्छ।

    भमरा (भौंरा) – भौंरा जस्तै हामीले जहाँ–जहाँ उपयोगी ज्ञान छ, त्यहाँ–त्यहाँबाट तत्क्षण ग्रहण गर्नु पर्छ।

    को हुन् दत्तात्रेय ?

    दत्तात्रेय महाराजको जन्मकथा अत्यन्त अद्भुत, रहस्यमयी र आध्यात्मिक महत्त्वले भरिएको छ। उनी त्रिदेव – ब्रह्मा, विष्णु र महेश (शिव) – तीनै जनाका संयुक्त अवतार मानिन्छन्। यही कारणले गर्दा उहाँलाई “दत्तात्रेय” भनिन्छ, जसको अर्थ हुन्छ – “दत्त” अर्थात् प्रदान गरिएको र “अत्रेय” अर्थात् अत्रि ऋषिको पुत्र। अब विस्तारमा जन्मकथा प्रस्तुत गरिन्छ:

    दत्तात्रेय महाराजको जन्मकथा:

    ऋषि अत्रिकी अर्धाङ्गिनी माता अनसूया तपश्चर्यामा लीन थिए। अनसूया (अ–नसूया = जसलाई कहिल्यै ईर्ष्या हुँदैन) स्त्री धर्ममा अडिग, पवित्र, पतिव्रता र ब्रह्मवादिनी थिइन्। उनका तेज, तपस्या र पतिव्रता धर्मको यशले स्वर्गलोकसमेत स्पर्श गर्‍यो।

    तीनै देवता ब्रह्मा, विष्णु र महेशका आफ्ना अर्धाङ्गिनीहरूले अनसूयाको यस ख्याति सुनेर लोभ गरिन्। त्यसपछि ती देविहरूले आफ्ना पतिहरूलाई परिक्षा लिन पठाइन्।

    त्रिदेवहरूको परीक्षा:

    तीनै देवता ब्राह्मणको रूप लिएर अत्रि ऋषिको आश्रममा आए। त्यतिबेला ऋषि अत्रि वन गएका थिए। ती ब्राह्मणहरूले अनसूयासँग भिक्षा मागे – तर एक सर्तमा:
    “हामीलाई नग्न भएर भिक्षा दिओस्।”

    यो एक कठोर परीक्षा थियो। यदि उनले नग्न भएर भिक्षा दिइन् भने उनको पतिव्रता धर्म नष्ट हुनेछ, र अस्वीकार गरिन् भने अतिथि धर्मको उल्लङ्घन हुनेछ।

    अनसूयाले योगबल प्रयोग गरिन्। उनले ब्राह्मणहरूलाई नवजात शिशुमा परिणत गरिन् र प्रेमपूर्वक नग्न भएर स्तनपान गराउँदै भिक्षा दिइन्।

    त्रिदेवहरूको संयुक्त अवतार:

    यस घटनापछि ब्रह्मा, विष्णु र महेशले आफ्नो असली रूप प्रकट गरे र अनसूयालाई वरदान दिए –
    “हामी तीनै जनालाई तिमी पुत्ररूपमा प्राप्त गर।”

    त्यसपछि अनसूयाको गर्भबाट दत्तात्रेयको जन्म भयो – जो ब्रह्माको ज्ञान, विष्णुको प्रेम र शिवको वैराग्ययुक्त शक्ति लिएर पृथ्वीमा अवतरित भए।

    दत्तात्रेयजीको स्वरूप र विशेषता:

    • तीन टाउका, छ हात, गाई र कुकुरसहितको स्वरूपमा देखाइन्छ।

    • गाई – पृथ्वी माता र धर्मको प्रतीक।

    • चार कुकुर – चार वेदका प्रतीक।

    • एक हातमा कमण्डलु, अर्कोमा त्रिशूल, र अन्य हातहरूमा चक्र, शंख आदि आयुध हुन्छन्।

    उपदेश र कार्य:

    • उहाँ आजीवन संन्यासी भए।

    • २४ गुरुहरूसँग जीवनका विभिन्न पक्षहरूमा शिक्षा लिए।

    • योग, वैराग्य, ध्यान र आत्मज्ञानका महामार्गदर्शक हुन्।

    प्रकाशित : शुक्रबार, १६ साउन २०८२ , ०५:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend