सम्पादकीय
धन, सम्पत्ति र पैसाको मोह आज मानव जीवनको मूल प्रवाह बनेको छ। पैसाले मानिसको सोच, व्यवहार र सम्बन्धलाई यति प्रभावमा लिएको छ कि आज मनुष्य आफ्नो मौलिक अस्तित्व बिर्सिएर पैसाको गुलाम बनेको छ। जसका हातमा पैसा छ, ऊ नै सम्मानित ठहरिन्छ; जसकहाँ छैन, ऊ समाजका सबै दृष्टिले हीन ठानिन्छ। यही पैसाको लोभले मानिसलाई अनैतिक सम्बन्ध राख्न, राष्ट्रघात गर्न र मानवता लज्जित पार्ने कार्य गर्न समेत उक्साइरहेको छ।
आजको समाजमा सम्बन्ध पैसाले जोडिन्छन् र पैसाकै कारण टुट्छन्। आमा-बाबु, दाजुभाइ, इमान र धर्म सबैभन्दा ठुलो स्थान पैसाले कब्जा गरिसकेको छ। विद्यालयमा शुल्क नबुझाएसम्म विद्यार्थी परीक्षा दिन पाउँदैनन्, अनलाइन सेवा रोकिँछ, कर नतिरे कानुनी कारवाही सुरु हुन्छ—अर्थात् पैसा नभए जीवनको प्रत्येक पाटो असहज बन्छ। भोक मेटाउन, औषधि उपचार गर्न, शिक्षा लिन, चाडपर्व मनाउन, व्यवसाय सञ्चालन गर्न—सबैथोकको आधार पैसा बनेको छ।
यही कारण आज मानवीय मूल्य र नैतिकता क्षीण हुँदै गएको छ। मानिस सुकर्म बिर्सेर, भविष्य, इज्जत, अस्मिता र आत्मसम्मानलाई पैसाको भोकमा बलिदान गरिरहेको छ। कञ्चन (धन), कामिनी (स्त्री) र कीर्ति (यश) — यी तीनै मोहका दास बनेको छ मानिस। अहिले त कामिनी र कीर्ति दुवै पनि पैसाले खरिद हुने वस्तुजस्तै बनेका छन्। पैसाको अभावमा बौद्धिक क्षमता र सदाचार समेत मूल्यहीन बनाइन्छ।
तर प्रश्न यहीँ उठ्छ — के पैसा जीवनको अन्तिम लक्ष्य हो? के पैसाकै लागि धर्म, इमान र स्वाभिमान बेच्नुपर्छ? होइन।
पैसाको भूमिका जीवनमा अत्यावश्यक छ, तर त्यो साध्य होइन, साधन मात्र हो। यसलाई धर्म विपरीत प्रयोग गर्नु पाप हो। पैसाका लागि वफादारी गुमाउनु, मर्यादा भुल्नु र आत्मसम्मान बेच्छु भन्ने सोच स्वयं जीवनप्रतिको विश्वास गुमाउनु हो।
जीवनको मूल्य पैसामा होइन, कर्ममा छ। जसरी सास रहुञ्जेल प्राण शरीरको साथमा हुन्छ, त्यस्तै पैसा पनि केवल प्राण रहुञ्जेलको उपयोगी वस्तु हो। मृत्युपछि न पैसा साथ जान्छ, न कीर्ति, न सुख। त्यसैले आज आवश्यक छ— अहंकार त्यागेर, अध्यात्मको यात्रामा अघि बढ्ने।
भौतिक सुखका साधन क्षणिक हुन्, तर अध्यात्मको शान्ति अमर हुन्छ। हे जीवात्मा, सम्झ—तिमी शरीर होइनौ, सच्चिदानन्द स्वरूप आत्मा हौ। पैसाको दास होइनौ, परमात्माको अंश हौ।
त्यसैले समय खेर नफाली, सच्चा कर्ममार्गमा लाग।धर्तीमा आउँदा तिम्रो साथमा एक मोहोर पनि थिएन, मर्त्यलोकबाट अन्तिम विदाइ लिँदा एक रुपैयाँ साथमा लैजान्नौ । भौतिक संसाधनको घाटा नाफाको अनुभूति केवल भ्रम हो । सँगै लैजाने त कर्म हो ।
त्यसैले, धन कमाऊ, तर धर्म नहराऊ।
पैसाको प्रयोग गर, तर त्यसको दास नबन।
यही चेतना नै आजको समाजका लागि सबैभन्दा ठूलो जागरण हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
