संपादकीय
हात धुने स–सानो तर महत्त्वपूर्ण बानीले जीवन जोगाउने अद्भुत शक्ति राख्छ भन्ने कुरा मैले एक जना मित्रको अनुभव सुन्दै फेरि एक पटक महसुस गरें। उनले आफ्नो दैनिक क्रियाकलापमा साबुनको प्रयोगलाई यस्तो सुसंगठित तरिकाले अनुशासनमा राखेका थिए कि स्वास्थ्य र सरसफाइलाई जीवनशैलीको अङ्ग बनाइसकेको देखिन्थ्यो।
मसित एक दिन प्रसंगैप्रसंगमा एक जना मित्रले आफ्नो गोप्य बानीका विषयमा खुलेर कुरा गरे । उनी भन्दै थिए मैले अरुले प्रयोग गरेको साबुन प्रयोग गर्दिनँ । शौच क्रियाभन्दा पहिला हात भिजाएर गाज आउनेगरी साबुन लगाइसकेको हुन्छु । शौचक्रिया १० देखि १५ मिनेटमा सकिन्छ । तबसम्म हातमा लगाएको साबुन जस्ताको तस्तै राखेको हुन्छु । अनि शौच सकिएपछि साबुनसितको हातले मलद्वार धुन्छु । तबसम्म प्राक्षलन गर्छु जबसम्म हातको साबुन पूर्णतया पानीले सफा हुँदैन । त्यसपछि लगतै पुनः दाहिना हातलाई साबुन चरप्प समातेर भिजाउँछु अनि गाज नआउन्जेल त्यसलाई साबुन भुइमा नखसोस् भन्ने सावधानी राख्दै मिच्छु । अनि फेरि दुबै हात मज्जाले मिच्छु र पखाल्छु । त्यसपछि शौचालयमा पानी खनाएर सफा गरी बाहिरिन्छु । धारामा गएर पुनः साबुन लगाएर दुबै हात राम्ररी मिच्छु अनि स्नान गर्छु । यति गरेपछि शौचादि क्रियाका कारण हुने सिकसिक सकिन्छ ।
मैले साथीको कुरा सुन्दै गएँ । उनको त्यो बानी र दैनिकी रमाइलो लाग्यो नै तर ज्यादै अचम्म पनि मानें । एकपटकको शौचक्रियामा उनको तीन पटक साबुन लगाएर हात धुने बानी रहेछ । मैले भनेँ साबुन लगाएर एक मिनेट मिचेपछि पखाल्न मिल्छ अनि हात किटाणुमुक्त भइ त हाल्छ । यत्रो लम्बाचौडा प्रक्रियामा किन जानुपर्यो । तपाईँ संसारकै आठौँ आश्चर्यमा पर्नुहुन्छ जस्तो छ नि यो बानीका कारण । दुबै जना हाँसियो खितित्त । उनी गएपछि मेरो मनमा उनकै कुरा खेलिरह्यो । बानी त हो, बानीलाई जसरी राख्यो त्यसरी मानिसको क्रियाकलापमा उत्रिन्छ । यद्यपि म पनि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्ति हो । स्वास्थ्य विषयमा स्नातकोत्तर गरेको हुँ । शौचालय, मोबाइल आदि साह्रै फोहोर हुन्छन् । पिसाब फेर्दा पनि शौचालयको धारा, ढोकाको हातल र बत्तीको स्वीच छोइन्छ । तिनीहरुमा पनि किटाणु प्रशस्तै हुन्छन् । प्रत्यक्ष, अप्रत्यक्ष सम्पर्कबाट, हावाबाट, दूषित पानी वा खाद्य पदार्थबाट, जनावर, माखा, कुकुर, मच्छर जस्ता किटाणु वाहकबाट, रगत वा सुईबाट, आमाबाट बच्चामा विभिन्न रोगहरु सर्दछन् । हातको पहिलो सम्पर्क मुख, नाक, र आँखामा हुनेहुनाले हातको सरसफाइको अनिवार्यतालाई बुझ्नु आवश्यक छ । रुघाखोकी, हेपाटाइटिस ए, हैजा, झाडापखाला, टाइफाइड, कोरोना महामारी, दाज, स्केबिज, आँखा पाक्ने आदि सबै दूषित हातका कारण फैलिने रोग हुन् ।
सुरुमा साथीले अपनाएको प्रक्रिया अत्यन्तै लामो र जटिल जस्तो लाग्यो, तर स्वास्थ्य र सफाइको दृष्टिले उनी सही थिए।
स्वास्थ्य विशेषज्ञहरूको भनाइअनुसार खाना खानु अघि र पछि, शौचालय प्रयोगपछि, र अन्य आवश्यक अवस्थामा हात सफा राख्नु अनिवार्य छ। यस्तो स–सानो व्यवहारले झाडापखाला, टाइफाइड, फ्लु, कोरोना लगायतका भाइरल तथा ब्याक्टेरियाका रोगहरूबाट बचाउन सक्छ। तथ्याङ्कले देखाउँछ कि विश्वमा हरेक वर्ष करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु झाडापखालाका कारण हुने गरेको छ।
नेपालमा विगतमा माटो वा खरानी पानीले हात धुने परम्परा थियो, तर आधुनिक अनुसन्धानले साबुन र सफा पानीको प्रभावकारिता धेरै बढी भएको पुष्टि गरेको छ। साबुनले हातमा रहेका सूक्ष्म जीवाणुहरूलाई नष्ट गर्ने भएकाले रोग फैलिन रोक्छ।
यसै सन्देशलाई विश्वव्यापी रूपमा फैलाउनका लागि हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हातधुने दिवस (Global Handwashing Day) मनाइन्छ। सन् २००८ देखि सुरु गरिएको यो दिवसले स्वास्थ्य, सरसफाइ र रोग रोकथामका लागि जनचेतना जगाउँछ। यस वर्षको नारा — “Our Future is at Hand – Let’s Move Forward Together” (हाम्रो भविष्य हाम्रो हातमै छ, त्यसैले सबै मिलेर अगाडि बढौं) — ले हामीलाई स्मरण गराउँछ कि हात सफा राख्नु मात्र व्यक्तिगत जिम्मेवारी नभई समग्र समाजको स्वास्थ्य सुनिश्चित गर्ने उपाय हो।
हात धुने सही तरिका
-
सफा पानीले हात भिजाउने।
-
साबुन हालेर कम्तीमा २० सेकेन्ड मिच्ने।
-
हत्केला, औँला, नङ मुनि, औँलाका जोर्नी, नाडी सम्म साबुन पुर्याउने।
-
औँठी, घडी जस्ता गहना हटाएर सफा गर्ने।
-
अन्त्यमा पानीले पखालेर सफा कपडाले हात सुकाउने।
धारा वा बग्ने पानीको प्रयोगले जीवाणु हटाउन अझ प्रभावकारी हुन्छ। नियमित हातधुने बानीले केवल व्यक्तिगत स्वास्थ्य मात्र होइन, परिवार र समाजलाई पनि सुरक्षित राख्छ।
अन्ततः, मित्रको अनुशासन र वैज्ञानिक प्रमाणले हामीलाई यो स्मरण गराउँछ — हाम्रो भविष्य साँच्चै हाम्रो हातमै छ। हात सफा राखौँ, स्वास्थ्य र जीवन जोगाऔँ, र दिगो भविष्यका लागि सुस्वास्थ्य अभ्यासलाई दैनिक जीवनको हिस्सा बनाऔँ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
