logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: धनतेरस — बाह्य ऐश्वर्यभन्दा आन्तरिक समृद्धिको पर्व

सम्पादकीय: धनतेरस — बाह्य ऐश्वर्यभन्दा आन्तरिक समृद्धिको पर्व


  • शनिबार, कार्तिक १ २०८२
  • 728
    SHARES

    सम्पादकीय

    बडा दसैँको उल्लास मन्दिँदै जाँदा दीपावलीको उज्यालो पर्व नजिकिन्छ। तिहारको प्रथम दिनका रूपमा मनाइने धन त्रयोदशी (धनतेरस) आज देशभर श्रद्धा र आस्थाका साथ मनाइँदैछ। परम्परागत रूपमा यो दिनलाई लक्ष्मी र कुबेरको पूजा, भाँडाकुँडा खरिद, र धनसमृद्धिको प्रारम्भ मानिन्छ। तर, यस पर्वको गहिरो अर्थ भाँडाकुँडाको चमकभन्दा पर छ — यो आन्तरिक शुद्धता, समर्पण र आध्यात्मिक समृद्धिको स्मरण हो।

    धनसम्पत्ति भन्नासाथ मानिसको मस्तिष्कमा सुन–चाँदी, हजारका नोट, हीरा, मोती, आलिशान घर, मनग्य जग्गा आदिको छवि दौडिन थाल्छ। भारतमा प्रचलित उक्ति छ — “बाप न भैया, सबसे बड़ा रुपैया।” यस भनाइले रुपैयापैसा बाहेक अरू सबै पदार्थ व्यर्थ छन् भन्ने सोचलाई प्रश्रय दिएको छ। यही सोचले आजको समाजलाई धन–मोहमा डुबाइरहेको छ। मानवीय मूल्य, प्रेम, इमानदारिता, समर्पण, श्रद्धा र भगवद्‌भक्तिको स्थान धनको तौलमा नापिन थालेको छ। यही कारणले मानिस बाह्य रूपमा धनी भए पनि आन्तरिक रूपमा निर्धन, अशान्त र असन्तुष्ट बनेको छ। न वंश काम लाग्छ, न सम्पत्तिको अंश, न घर, न त थर । सबै विनाशी हुन् । बुद्धिमानी व्यक्ति त्यो हो जसले नाशिने वस्तुप्रति आस्था नराखेर अविनाशी दिव्यताको शरणमा समर्पित हुन्छ । त्यही बुद्धिमानी स्वभावलाई जागृत अवस्थामा ल्याउने दिन हो धनतेरस ।

    धन र तेरस — दुई शब्द मिलेर बनेको धनतेरस शब्दको अर्थ हो — धन, समृद्धि र वैभवमा तेह्र गुणा वृद्धि। आजको दिन सुनचाँदी, तामा, पित्तलका भाँडा खरिद गर्ने, नयाँ वस्तु घरमा भित्र्याउने परम्परा छ। जनविश्वास छ — आज किनिएको वस्तुमा तेह्र गुणा वृद्धि हुन्छ। तर, यो वृद्धि केवल भौतिक वस्तुमा मात्र सीमित हुनुपर्ने होइन; भक्ति, समर्पण, ध्यान र आध्यात्मिक चेतनामा पनि तेह्र गुणा वृद्धि हुनुपर्छ — यही हो धनतेरसको वास्तविक सन्देश।

    यस दिन लक्ष्मीको पूजा गर्नु भनेको केवल धनको आराधना होइन, शान्ति, प्रेम, भक्ति र ध्यानको प्रतीकको पूजा गर्नु हो। लक्ष्मीलाई नाशवान वस्तुहरूको प्रतीक होइन, अविनाशी दिव्य गुणहरूको मूर्तरूपका रूपमा लिनु नै साँचो ज्ञान हो। जब घर र हृदयमा श्रीहरिको कृपा बस्छ, लक्ष्मी स्वयम्‌ स्थायी रूपमा वास गर्न आउँछिन् — यो सनातन सत्य हो।

    धनतेरसले हामीलाई सम्झाउँछ — धनको अर्थ नोट, गहना वा जग्गामा सीमित छैन। साँचो धन भनेको सदाचार, प्रेम, समर्पण, सत्य, र भगवद्‌भक्ति हो। आज किनिने भाँडाकुँडाको चमक भोलि हराउनेछ, तर आजको दिनमा गरिने शुद्ध मनको ध्यान, सेवा, र भक्ति सदा चम्किरहने दिव्य सम्पत्ति हो।

    त्यसैले, धनतेरसलाई केवल बजारको उत्सवका रूपमा होइन, आत्मचिन्तन र आध्यात्मिक जागरणको अवसरका रूपमा लिनुपर्छ। जहाँ शुद्धता र श्रद्धा हुन्छ, त्यहीँ श्रीनारायण र लक्ष्मीको स्थायी वास हुन्छ। यही ज्ञान, यही विवेक, र यही आन्तरिक समृद्धिको प्रकाशले हाम्रो जीवनमा वास्तविक दीपावली ल्याओस् — यही सन्देशका साथ सबैलाई धनतेरसको मङ्गलमय शुभकामना।

    प्रकाशित : शनिबार, १ कार्तिक २०८२ , ०६:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend