सम्पादकीय
दलीय व्यवस्थाको असफलताले मानवसभ्यतालाई नयाँ पाठ सिकाएको छ जसलाई आत्मसात् गर्न सक्ने हो भने यसले आवश्यकता अनुसार नवीन कार्यदिशाको खाका कोर्न सहयोग गर्न सक्छ । नेपाली धरामा बहुदलीय व्यवस्थाले चरण राखेपछि नै देशको शान्तिपूर्ण स्थिति असन्तुलन बन्न शुरु भएको इतिहासले बताउँछ । पञ्चायती व्यवस्था, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै शासन पद्धतिहरुको परीक्षण नेपालमा एकपछि अर्काे गरी सम्पन्न भइसकेको छ । परीक्षणको नतिजा के आयो भनी राख्न नपर्ला । यद्यपि त्यसको यथोचित विश्लेषण भने गर्नुपर्ने देखिन्छ । खेलाडीहरुको टीममा पनि एउटै टीम हौँ भन्ने भावना अनुरुप एकअर्कालाई बेलाबेलामा सहयोग गर्नुपर्ने वा साथ दिनुपर्ने वातावरण निर्माण भएको हुन्छ । यो भावना तबसम्म खेलाडीहरुको टीमको जीत, विकास र उन्नतिमा बाधक बन्दैन जबसम्म यसमा मलिनताको प्रवेश हुँदैन । जुन दिन खेलाडीहरु बिच साथ सहयोगको भावना प्रदूषित बन्छ त्यस दिनदेखि प्रारम्भ हुन्छ सिंगो टीमको पतन ।
त्यसपछि टीमको सांगठनिक संरचना खलबलिन्छ । टीमका सबै सकारात्मक समभावनाहरु बिथोलिन्छन् । दायित्वहरु ओझेलमा पर्छन् । पक्षपात र ईर्ष्याको अभ्यासले व्यापकता पाउन थाल्छ । अहँकारलाई महत्त्व दिन थालिन्छ । थोरै योग्य, धेरै योग्य भन्ने विचारहरु हावी हुन्छन् । चार जनाको परिवारमा पनि यही सिद्धान्त लागु हुन्छ । ढुंगे युगमा कसैको संगठित परिवार हुँदैनथ्यो । जोसँग मन लाग्यो उसैसँग सहवास ग र्यो, सन्तान जन्मायो, त्यसलाई झुण्डमा मिसायो अनि समूहको आकार वृद्धि गर्दै गयो, यस्तै प्रक्रिया चल्थ्यो । पछि मन र विचार मिल्नेहरु समूहबाट छुट्टिए । परिवारको विकास भयो । हुँदाहुँदै विस्तारै वंश र थरलाई परिवारको पहिचानका रुपमा स्थापित गरियो । हजारौँ वर्षसम्म यही अभ्यास चल्यो जसको नीवमा आज जटिलतम समाजको निर्माण भएको छ । परिवारको विकास नहुँदासम्म सबैले प्रकृतिको आश्रय लिएर दैनिक आवश्यकता पूर्तिका लागि सामूहिक रुपमै सक्रिय भएर योगदान दिन्थे । परन्तु निजी परिवारको संख्या बढ्दै गएपछि सदस्यहरुले आफ्नो मात्रै परिवारको हित र कल्याणका लागि काम गर्नुपर्छ भन्ने अवधारणालाई व्यवहारिक जीवनमा लागु गर्दै गए ।
आफ्नो परिवारको उन्नति, खुशी र समृद्धिका लागि आजको मितिमा परिवारहरु एक्लै सँघर्षरत देखिन्छन् । अरुको परिवारका लागि न त आत्मीयता छ न कुनै चाँसो । परिवारको विकास हुनु अघि सबैले जुन समूहमा बस्थे त्यसैको हितका लागि अपनत्वको भावनासँगै कार्य गर्थे । आज मेरो परिवार भन्ने स्थानमा मात्रै व्यक्तिले आजीवन सहभागिता लिन्छ । आफ्नो परिवार नभए पनि यदि थर र वंश मिल्छ भने कम्तिमा त्यसका लागि आत्मीयताको भाव राख्दछ । विभिन्न थर, वंश र वैवाहिक सम्बन्धका आधारमा आज परिवारको संरचना तयार भयो । कतिले त वंशावलीलाई लिपिबद्ध पारेर पुस्तक नै प्रकाशन गरिसके । कतिपय स्थानहरुमा वंशकै आधारमा एनजीओ दर्ता गरेर सञ्चालनमा रहेका छन् । वंशकै आधारमा आफन्त र पराइ भन्ने सोच जन्मियो । आफन्त भनेपछि मरिहत्ते गर्ने, पराइलाई भने चाँसै नराख्ने । छिमेकीहरुमा ईर्ष्या, वैमनस्वता र अस्वस्थ प्रतिस्पर्धा छ । परिवारहरुमा उपल्लो र तल्लो भन्ने द्वन्द्व भावको गहिरो श्रृङ्खला छ । अठार पुराणहरुको सारका रुपमा महर्षि व्यासले दुई कुरा मात्र भने अरुको उपकार गरे पुण्य हुन्छ, दुःख (पीडा) दिएमा पाप । (परोपकारः पुण्याय पापाय परपीडनम्) पीडा मानसिक र शारीरिक दुबै किसिमका हुन्छन् । केही वर्गसमुदाय यस्ता छन् नेपाली समाजमा जसले मनगढन्त जातिको प्रश्न तेर्साएर केही समुदायलाई मानसिक पीडा दिन छोडेका छैनन् । यिनै पापका आधारमा गरुडपुराणमा विभिन्न नर्कहरुको वर्णन छ । यस्तो प्रतीत हुन्छ जस्तो कि ईश्वरीय सत्ताको आध्यात्मिक कानुन यिनीहरुलाई लागु नै हुँदैन । शास्त्रोक्त ईश्वर वचन छ— रुप, विद्या, बल, धन र जातिको अहँकार रहेसम्म जीवले भगवद कृपा पाउनै सक्दैन । सम्भवतः जातिको अहँकार गर्ने समुदायहरुलाई भगवद कृपा नै चाहिँदैन । बहुवंशीय अवधारणाले जन्माएको व्यवहारिक स्वेच्छाचार हो यो ।
ठिक यही अवस्था बहुदलीय व्यवस्थाले निम्तियो । दलहरु आफ्नो पार्टी र कार्यकर्ता भनेपछि मरिहत्ते गर्ने तर अरु राजनीतिक दलको विभिन्न दोषारोपणले खैरो खन्ने, खुट्टा तान्ने नीतिमा सक्रिय छन् । देश र जनताको हित त गौण विषय हो यिनका लागि । पार्टीका सदस्य र कार्यकर्ताको भ्रष्टाचार होस्, व्यभिचार होस् चाहे अपराध हर एक कुकर्मलाई ढाकछोप गर्ने चाहे त्यो देशद्रोह प्रकृतिकै किन नहोस् तर अन्य दलका हकमा सबुत प्रमाण पुष्ट नहुनुका बाबजुद थुनामा राख्नुपर्छ भन्ने सोचले कानुनको दुरुपयोग गर्दै जाने भएपछि दलहरु नेपालको अखण्डता, एकता, हित र समृद्धिको मार्गमा भड्खालो नै साबित भइसकेका छन् । दलहरु अहँकार, ईर्ष्या, प्रतिशोध जस्ता विकृतिहरुले चलायमान छन् भन्ने कुरा सबैले अनुभूत गरेकै तथ्य हो । यस्तो अवस्थामा नयाँ राजनीतिक दलहरु खोल्ने भन्दै धमाधम घोषणा भइरहेका छन् । नयाँ राजनीतिक दलका रुपमा चाहे राष्ट्रिय जेन जी पार्टी होस् चाहे हर्क साम्पाङको श्रम संस्कृति पार्टी, दलगत भावनाको बन्दी बनेर कसैले केही गर्नेवाला छैनन् । असफल राजनीतिक दलहरुको पृष्ठभूमिले बताउने निष्कर्ष यही हो । पुराना राजनीतिक दलहरु अस्तित्वमा रहेसम्म कुनै पनि दलले दुई तिहाइ बहुमतको सरकार बनाउनै सक्दैन । फेरि करोडौँको लेनदेनमा सांसद किनबेच तथा चुनावमा टिकेट दिने खेल शुरु हुन्छ । खर्च भएको त्यही करोडौँ रुपैयाँ सांसद, मन्त्री, मेयर वा अध्यक्ष बनेपछि क्षतिपूर्तिसहित फिर्ता ल्याउनका लागि नीतिगत भ्रष्टाचारलाई हतियार बनाएर राष्ट्रिय ढुकुटी लुटिन्छ ।
त्यसैले अब बहुदलीय व्यवस्था, गणतन्त्र र लोकतन्त्रलाई होइन, नागरिक व्यवस्था र नागरिक तन्त्रलाई राष्ट्रिय समृद्धि तथा खुशीको साधनका रुपमा साध्नुको विकल्प छैन । नागरिक व्यवस्था र नागरिक तन्त्र स्थापित गर्नुअघि संविधान संशोधन हुनु अनिवार्य छ । पूर्व सांसद ज्ञानेन्द्र शाहीले भने जस्तै स्थानीय तह, प्रतिनिधि सभा र राष्ट्रिय सभा सबै गैर दलीय हुनैपर्छ । त्यसैले यदि हामी चाहन्छौँ देश पुनः अर्काे दुर्घटनातर्फ नलम्कियोस्, फाल्गुन २१ को निर्वाचनलाई होइन संविधान संशोधन प्रक्रियालाई प्रमुख लक्ष्य बनाउनै पर्छ । देश किन आज यसरी अस्तव्यस्त बन्यो भन्ने सवालमा अन्य कुनै निरुपणको आवश्यकता छैन ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
