सम्पादकीय
आज भाइ टीका हो — वर्षभरिको पर्खाइको मिठो फल चाख्ने दिन।
यो केवल सामाजिक उत्सव मात्र होइन, आत्मिक ऊर्जा प्रवाहको महान् क्षण हो, जब दिदीबहिनीहरुको आशीर्वाद ग्रहण गरेर दाजुभाइले प्रगति, समृद्धि, सुखशान्ति र सकारात्मक ऊर्जाको द्वार खोल्दछन्।
दाजुभाइका निधारमा लाग्ने टीका केवल रंग होइन — त्यो चित्तशुद्धि, आत्मिक संरक्षण र भाइबहिनीबीचको दिव्य स्नेहको प्रतीक हो। तर प्रश्न उठ्छ — कस्ता दिदीबहिनीहरुको आशिष फलदायी हुन्छ?
शास्त्र भन्छ — जसको आचरण पवित्र छ, आहार विचार शुद्ध छ, र हृदय परमात्माप्रति समर्पित छ, त्यस्तो दिदीबहिनीको आशीर्वाद अमोघ हुन्छ। उनीहरुको टीकासँग केवल अक्षत र फुल मात्र होइन, आत्मशक्तिको तरंग मिसिएको हुन्छ। त्यस आशीर्वचनलाई कार्यान्वयन गर्न सकल ब्रह्माण्ड नै सहयोगी बन्छ।
पवित्र मनोभाव र भक्तिभावले युक्त दिदीबहिनीहरुको एक स्पर्शले पनि दाजुभाइको जीवनमा मंगलमय ऊर्जा प्रवेश गर्छ।
तर छलकपट, व्यभिचार, स्वार्थ, मांसमदिरा र असत्य प्रवृत्तिमा लिप्त दिदीबहिनीको टीकाले दैवी शक्ति बोकेको हुँदैन।
शुद्धता बिना टीका केवल रङ मात्र रहन्छ, आशीर्वाद होइन।
सात्त्विक आचरणका धनी दिदीबहिनीहरू भने कल्पवृक्ष समान हुन्छन् — जसका आशिषले दाजुभाइको जीवन मात्र होइन, सिंगो परिवार, समाज, देश र विश्वमा शान्ति र समृद्धिको बीज रोपिन्छ।
धार्मिक आचरण, सात्त्विक स्वभाव र निस्वार्थी मनोभावले युक्त दिदीबहिनीहरुले आशिर्वचन दिनु पर्दैन — उनीहरूको उपस्थिति नै कल्याणकारी तरंग हो। यस्तो दिदीबहिनीको हातबाट लागेको टीकाले भाइको हृदयमा दैवी कम्पन उत्पन्न हुन्छ, जुन सबै अनिष्ट शक्तिलाई परास्त गर्छ।
भाइ टीकाको पौराणिक पृष्ठभूमि
भाइ टीकाको उत्पत्तिबारे पौराणिक ग्रन्थहरूमा रमणीय कथा पाइन्छ।
कथानुसार, यमराजकी बहिनी यमुना अत्यन्त धर्मपरायणा र सात्त्विक थिइन्। उनले आफ्नो दाजु यमराजलाई बारम्बार घरमा बोलाउँथिन्, तर मृत्युका देवता व्यस्तताका कारण कहिल्यै आउन सक्दैनथे। अन्ततः एक दिन यमराज बहिनीको घर पुगे। यमुनाले दाजुलाई स्नान गराइन्, टीका लगाइन्, मिठा भोजन खुवाइन्, र उनको दीर्घायु, सुखशान्तिको कामना गरिन्।
दाजु यमराज बहिनीको शुद्धता र स्नेहले यति प्रभावित भए कि उनले प्रतिज्ञा गरे —
“जसले आजको दिन आफ्नी दिदी वा बहिनीबाट सात्त्विक मनले टीका थाप्छ, उसको जीवनमा अकाल मृत्यु नहोस्, दीर्घायु र समृद्धि प्राप्त होस्।”
त्यही दिनदेखि भाइ टीकाको परम्परा सुरु भयो।
यम–यमुना संवादको यो कथा केवल सम्बन्धको प्रतीक होइन, यो आत्मा र धर्मबीचको संवाद पनि हो — जहाँ पवित्रता, प्रेम र शुद्ध आचरणले मृत्युजस्तो शक्तिलाई पनि वशमा पार्छ।
संस्कृति र आधुनिकता बीचको सन्तुलन
नेपालमा भाइ टीका अनौठो तरिकाले मनाइन्छ।
पौराणिक परम्परा अनुसार, दाजुभाइले आफ्नी दिदीबहिनीको घरमा गएर टीका थाप्ने र चुलोमा पाकेको भोजन ग्रहण गर्ने प्रथा छ।
तर आज दिदीबहिनीहरू भ्याइनभ्याइ दाजुभाइका घर पुगेर टीका लगाउने प्रचलन बढेको छ।
संस्कृति परिवर्तनसँगै यो रूप परिवर्तन स्वाभाविक हो, तर यसको तात्विक आत्मा — शुद्ध आचरण, सात्त्विक जीवन र परमात्माप्रतिको श्रद्धा — कायम रहनु अत्यावश्यक छ।
आज भाइ टीकाको दिन हामी सबैका लागि आत्ममूल्यांकनको अवसर पनि हो —
के हाम्रो आशीर्वाद सात्त्विक छ?
के हाम्रो मन परमात्माको शरणमा छ?
किनकि भाइटीका केवल अनुष्ठान होइन, आत्माको शुद्धता र प्रेमको परीक्षाको दिन हो।
जहाँ शुद्धता, श्रद्धा र प्रेम बस्छ, त्यहीं भाइटीकाको वास्तविक स्वर्ग खुल्छ।
जहाँ छलकपट, स्वार्थ र असत्य बस्छ, त्यहीं त्यो पवित्र टीका नर्कमा परिणत हुन्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
