logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: एकताको मुखौटामुनि पुनः विभाजन — नेपाली राजनीतिमा दिशाहीन प्रयोग

सम्पादकीय: एकताको मुखौटामुनि पुनः विभाजन — नेपाली राजनीतिमा दिशाहीन प्रयोग


  • मंगलबार, कार्तिक १८ २०८२
  • 1.5K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेकपा माओवादी केन्द्रभित्र पुनः असन्तोष र विभाजन देखा परेको छ। पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेललगायतका नेताहरूले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान — ‘प्रगतिशील अभियान, नेपाल’ सुरु गरेका छन्। लामो समयदेखि पार्टीभित्र वैचारिक मतभेद र नेतृत्वप्रतिको असन्तुष्टिका स्वरहरूसँगै यो विभाजन अनपेक्षित थिएन। तर, यही बेला माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलगायत आठ दलसँग एकताको निर्णयमा पुगेको सन्दर्भमा आएको यो कदम, नेपाली वाम राजनीतिमा पुनः गहिरो द्वन्द्व र दिशाहीनताको सूचक बनेको छ।

    जनार्दन शर्माले पत्रकार सम्मेलनमा स्पष्ट रूपमा भनेका छन् — “विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ।”
    तर, यो आत्मालोचना जनताको विश्वास जित्ने दिशामा कति प्रभावकारी हुन्छ भन्ने प्रश्न अहिले सर्वत्र छ।
    देशलाई समृद्धिको बाटोमा लैजानुभन्दा दशकौँसम्म आफ्नै पार्टी र कार्यकर्ताहरूको उन्नतिमा केन्द्रित पुराना राजनीतिक दलहरू राष्ट्रवाद र नागरिकवादको सिद्धान्तमा टिक्नै सकेनन्। बरु, समाजवादका नाममा सामाजिक एकता, स्वाभिमान र राष्ट्रिय अखण्डतामाथि खेलवाड मात्र मच्चाए।

    अब तिनै पुराना दलहरू मिलेर पुनः “एकता” गर्ने मानसिकतामा छन् — तर यो एकता विकास र जनहितका लागि होइन, राजनीतिक अस्तित्व जोगाउने प्रयत्नजस्तो देखिन्छ। देश जोगाउने, देश बनाउने जुनुनसहितको सकारात्मक ऊर्जासामु आफ्नो शक्ति प्रयोग गर्नका लागि नकारात्मकताका प्रतीक पुराना दलहरू एक ठाउँमा एकत्रित हुनु आफैंमा अर्को ठुलो द्वन्द्वको संकेत हो भन्ने जनमत बढ्दो छ।

    यो खाले जनविश्लेषण सम्भवतः भविष्यमा देश पुनः दुर्घटनामा जान सक्ने यथार्थको सटिक आँकलन पनि हुन सक्छ। अहंकार र प्रतिशोधलाई नीति बनाइसकेका दलहरूले के अब पनि देश र जनताका लागि केही राम्रो गर्लान् भन्ने अपेक्षा राख्न सकिएला?
    आउँदै गरेका दिनहरूले अवश्य बताउनेछन्।

    केही राजनीतिक विश्लेषकहरूको मतमा — “बिगतका कमजोरी स्वीकार गर्ने” भनाइ केवल जनताको आँखामा धुलो छर्ने अर्को प्रयास हो। वास्तवमा अनेकौँ अवसरका बावजुद देश चलाउन असफल भएका पुराना दलहरूले कमजोरी सच्चाउनेभन्दा पहिले आफ्ना पुनः दोहोरिने गल्तीहरूका लागि आत्मपरीक्षण र पश्चाताप गर्नुपर्ने देखिन्छ।

    देशले अब दिशाहीन राजनीतिक प्रयोग होइन, इमानदार आत्मसमीक्षा र जनसेवाको राजनीति मागिरहेको छ। त्यसका लागि, राजनीतिक दलहरूले केही समयका लागि तटस्थ भएर जनताको आवाज सुन्ने आत्मसाहस देखाउनु नै देशका लागि सबैभन्दा ठूलो सेवा हुनेछ।

    प्रकाशित : मंगलबार, १८ कार्तिक २०८२ , ०५:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend