सम्पादकीय
विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्।
पात्रत्वाद्धनमाप्नोति, धनाद्धर्मं ततः सुखम्॥
“विद्याले विनय दिन्छ, विनयले पात्रता दिन्छ, पात्रताले धन दिलाउँछ, धनले धर्म, र धर्मले वास्तविक सुख प्रदान गर्छ।”
सनातन दर्शनको यो सूत्र केवल श्लोक मात्र होइन—सम्पूर्ण मानव सभ्यताको ज्ञान–यात्राको नाडी हो।
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा मानव जीवनमा ‘विद्या’को अर्थ के हो, विद्यार्थी भनेको वास्तवमा कस्तो हुने हो, र आधुनिक शिक्षाले हामीलाई कहाँ पुर्याइरहेको छ—यी प्रश्नको उत्तर खोज्नु अत्यन्त आवश्यक छ।
ज्ञान, सनातन धर्मको आधार
सनातन धर्ममा ज्ञान (विद्या) नै सबै मूल्य, संस्कार र आत्मोन्नतिको मूल स्रोत मानिन्छ।
ज्ञान बिना मानिस लक्ष्यविहीन पथिक, निर्णयविहीन चेतना, र आत्मविहीन व्यक्तित्व जस्तै हुन्छ।
विद्याले— आहारविहारको शुद्धि, मनको स्थिरता, विवेक, आत्मानुभूति, र परमात्मासँगको सम्बन्ध देखाउँछ।
धार्मिक, नैतिक, शारीरिक र मानसिक—चारै स्तरमा ज्ञानले मानवलाई समुन्नत बनाउँछ।
आधुनिक शिक्षाः भौतिकताको जाल मात्र
आजको शिक्षा पद्धति ‘मानवता निर्माण’ होइन, ‘यान्त्रिक मनुष्य निर्माण’तर्फ अग्रसर छ।
विद्यालय–कलेजले शिक्षा होइन—प्रतिस्पर्धा, तनाव, भ्रामक आकांक्षा र भौतिक मोह निर्माण गरिरहेका छन्।
विवेकभन्दा पैसा प्राथमिक, सेवा भन्दा पद प्राथमिक, चरित्रभन्दा प्रमाणपत्र प्राथमिक बनाइएको छ।
वस्तुहरूको भण्डारण बढेको छ तर मूल्यहरूको क्षय भएको छ। बाहिर आकर्षक देखिने मानिस भित्र— काम, क्रोध, लोभ, मोह, अहङ्कार जस्ता अशुद्धताबाट ग्रस्त छन्।
विद्यार्थीको वर्तमान अवस्थाः चिन्ताजनक अधःपतन
आजका धेरै विद्यार्थीः
विपरीत लिंगमा अत्यधिक आसक्त (चरित्रहीनता)
यौन–कौतुकमा फसिएका
मद्यपान, धूम्रपान, नशाद्रव्यमा आकर्षित
झुट, छल, बेइमानीलाई सामान्य मान्ने
अभिभावकको अवज्ञा गर्ने
पुस्तकमाथि होइन, मोबाइलमाथि समर्पित देखिन्छन्।
ज्ञानले मार्गदर्शन गर्नुपर्ने उमेरमा विकारले मनमस्तिष्क कब्जा गरेको छ।
यस्ता विद्यार्थीबाट समाज वा राष्ट्रको भविष्य उज्यालो कसरी हुने ?
वास्तविक विद्या के हो ?
वेद–पुराणले ‘‘विद्या’लाई दुई भागमा बाँडेको छन्—
१) परा विद्या — आत्मज्ञान, सत्य, धर्म, विवेक
यो विद्याले अनुशासन दिन्छ, चरित्र निर्माण गर्छ, जीवनको उद्देश्य देखाउँछ।
२। अपरा विद्या — लौकिक सीप, कला, विज्ञान, प्राविधिक ज्ञान
यो विद्याले जीवनयापनका साधन उपलब्ध गराउँछ।
आजको शिक्षा केवल ‘अपरा विद्या’मा सीमित छ।
‘परा विद्या’ पाठ्यक्रमबाट गायब छ—
त्यसैले शिक्षित मानिस सभ्य छैन, सभ्यता नै संकटमा परेको छ।
‘‘विद्या’ को महिमा: वेद–पुराणको दृष्टि
सनातन साहित्य भन्छ—
विद्यायाः अमृतमश्नुते — ज्ञान नै अमृत प्राप्तिको मार्ग हो।
धर्मो रक्षति रक्षितः — धर्मले रक्षा गर्छ, धर्मत्यागले विनाश ल्याउँछ।
श्रीमद्भगवद्गीताः
“ज्ञानिना तु तदज्ञानं येषां नाशितमात्मनः।”
अर्थात् ज्ञानले अज्ञान नष्ट गर्छ।
विद्याले नै—
स्वास्थ्य
सद्बुद्धि
दीर्घायु
मनको शुद्धि
सकारात्मक ऊर्जा
र आत्म–अनुभूति
प्रदान गर्छ।
शिक्षामा वैदिक ग्रन्थ किन आवश्यक ?
रामायण, महाभारत, वेद, अठार पुराण, श्रीमद्भगवद्गीता—यी जीवन विज्ञानका शास्त्र हुन्।
यी सिकाइका मूल मूल्य ः कर्तव्य, सत्य, अनुशासन, संयम, सेवा, करुणा, प्रकृतिप्रति सम्मान, आत्मबोध हो ।
यिनै मूल्य शिक्षाबाट हटेपछि—
समाज भौतिक रूपमा धनी, नैतिक रूपमा दीन भएको छ। मानिस योगी होइन भोगी बन्नतिर अग्रसर छ ।
विद्यार्थीः परिवर्तनका वाहक
शिक्षक, विद्यार्थी, अभिभावक, नीतिनिर्माता सबैले आज आत्मचिन्तन गर्नुपर्ने दिन यही हो—अन्तर्राष्ट्रिय विद्यार्थी दिवस।
विद्यार्थीले—
आफ्नो भित्र पात्रता,
चरित्र,
विवेक,
संयमता
र शुद्ध जीवनशैली
उत्पन्न नगरेसम्म कुनै पनि राष्ट्र प्रगतिशील बन्न सक्दैन।
विद्या भनेको केवल किताबमा रहेको अक्षर होइन, केवल परीक्षा पास गर्ने माध्यम होइन, केवल जागिरको टिकट होइन— मानव आत्माको जागरण हो।
विद्यार्थी दिवसले स्मरण गराओस्—
-विद्या ज्ञान आत्मनिर्माणको मार्ग हो, विद्या शिक्षा चरित्र निर्माणको मूल शिला हुन्,
-धर्म, सत्य, विवेक र सदाचारबाट टाढा बसेर आधुनिकता प्राप्त हुँदैन,
र शिक्षाको लक्ष्य मानव’ बनाउनु हो—मेशिन होइन।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
