सम्पादकीय
राजा परीक्षितलाई श्रीमद्भागवत पुराण सुनाउँदै गर्दा शुकदेवजी महाराजको छ दिन बितिसकेको थियो। अब तक्षक नागको डसाइबाट राजा परीक्षितको मृत्यु हुन केवल एक दिन मात्र बाँकी थियो। तर राजा परीक्षितको मन अझै पनि मृत्युको भय र शोकले भरिएको थियो। मृत्यु नजिकिँदै जाँदा उनको मन झन् अशान्त हुँदै गएको थियो।
त्यस बेला शुकदेवजी महाराजले राजा परीक्षितलाई एउटा गहिरो अर्थ बोकेको कथा सुनाउन थाल्नुभयो।
शुकदेवजी भन्नुहुन्छ—
हे राजन् ! धेरै पहिलाको कुरा हो। एक राजा शिकार खेल्न जंगल गयो। संयोगवश ऊ बाटो बिराएर घना जंगलमा पुग्यो। बाटो खोज्दै जाँदा रात छिप्पिँदै गयो, पानी पर्न थाल्यो। डरले काँप्दै ऊ रात काट्न कुनै सुरक्षित ठाउँ खोज्न थाल्यो।
अचानक उसले केही पर एउटा दियो बलेको देख्यो। त्यहाँ पुग्दा उसले एउटा बहेलिया (शिकारी) को झुपडी भेट्टायो। त्यो बहेलिया अपांगजस्तै थियो, धेरै हिँडडुल गर्न सक्दैनथ्यो। झुपडीभित्रै एक छेउमा दिसा–पिसाब गर्ने ठाउँ थियो। मारेका जनावरको मासु आवश्यक पर्दा खाने प्रयोजनले झुपडीको छानामा झुण्ड्याइएको थियो। झुपडी सानो, फोहोर, अँध्यारो र दुर्गन्धले भरिएको थियो।
झुपडी देखेर राजा अलमलमा पर्यो, तर अरू आश्रय पाउने कुनै उपाय नरहेकाले बहेलियासँग आफूलाई रातभर बस्न दिन बिन्ती गर्यो।
बहेलियाले भन्यो—
“यहाँ कहिलेकाहीँ यात्रुहरू आउँछन्। म बस्न त दिन्छु, तर भोलिपल्ट उनीहरू जान मान्दैनन्। यस झुपडीको गन्धमा यति बानी पर्छ कि यहीँ बस्न खोज्छन्। यसै कारण म धेरै झन्झटमा परेको छु।”
राजाले प्रतिज्ञा गर्यो—
“म बिहान भएलगत्तै झुपडी छोडेर जान्छु। मलाई त एक रात मात्र चाहिएको हो।”
त्यसपछि बहेलियाले सर्त राखेर राजालाई बस्न दियो। राजा रातभर झुपडीको एक कुनामा सुत्यो।
तर रातभरको दुर्गन्ध राजाको मनमा यति गहिरो बस्यो कि बिहान उठ्दा त्यही गन्ध उसलाई प्रिय लाग्न थाल्यो। उसले आफ्नो वास्तविक उद्देश्य नै बिर्सियो र बहेलियासँग त्यहीँ सधैं बस्न दिन अनुरोध गर्न थाल्यो।
बहेलिया रिसायो। राजा झुपडी छोड्न नचाहँदा दुवैबीच ठूलो विवाद भयो।
कथा सकाएर शुकदेवजी महाराजले सोध्नुभयो—
“हे परीक्षित ! त्यो राजाले त्यहीँ सधैं बस्न खोज्नु उचित थियो त ?”
राजा परीक्षितले भन्नुभयो—
“भगवन् ! ऊ त ठूलो मूर्ख रहेछ। यति फोहोर ठाउँमा, प्रतिज्ञा तोडेर, आफ्नो जीवनको उद्देश्य बिर्सेर बस्न चाहनु मूर्खता होइन र?”
त्यसपछि शुकदेवजी महाराज मुस्कुराउँदै भन्नुभयो—
“हे राजा परीक्षित ! त्यो मूर्ख त तपाईं स्वयं नै हुनुहुन्छ।”
“यो मल–मूत्रले युक्त शरीरमा तपाईंको आत्माले जति समय बस्नुपर्ने थियो, त्यो समय भोलि समाप्त हुँदैछ। अब तपाईं आफ्नो वास्तविक लोकमा फर्कनुपर्नेछ। तर तैपनि तपाईं यो शरीर छोड्न चाहनुहुन्न। के यो मूर्खता होइन ?”
यो सुनेपछि राजा परीक्षितको आँखा खुल्यो। उनको ज्ञान जाग्यो। उनी मृत्यु होइन, मोक्षको तयारी गर्न तयार भए।
यही नै जीवनको सत्य हो।
जब जीव आमाको गर्भमा हुन्छ, ऊ भगवानसँग प्रार्थना गर्छ—
“हे भगवान ! मलाई यहाँबाट मुक्त गर्नुहोस्, म बाहिर गएर तपाईंको भजन गर्नेछु।”
तर जन्म लिएपछि ऊ रोइरहन्छ—
“म यो कहाँ आइपुगेँ ?” सोच्दै त्यही राजाको भांति रुन थाल्दछ ।
सदा भक्ति, भजन र स्मरण गर्छु भनी भगवानप्रति वचनबद्ध अवस्थामा माताको कोखबाट बाहिरिएपछि बिस्तारै यही संसार, यही शरीर, यही गन्ध उसलाई अति प्रिय लाग्न थाल्छ। अनि ऊ मानव जन्मको वास्तविक उद्देश्य—भगवान् प्राप्ति—बिर्सेर यही अस्थायी संसारमा शरीरभोगको मोहसहित सधैं बस्न चाहन्छ। भागवत पुराण भाव प्रधान छ । सन्तहरुले भाव बुझाउनका लागि दृष्टान्त कथा सुनाउने परम्परा रहिआएको छ जसलाई ‘भावानुगत उपाख्यान’ भनिन्छ ।
वास्तवमा, यो कथा श्रीमद्भागवत पुराणको द्वितीय स्कन्धमा प्रतिपादित देह–नश्वरता, वैराग्य र भगवान् स्मरणको दर्शनलाई सरल रूपमा बुझाउन प्रयोग गरिएको उपदेशात्मक दृष्टान्त हो। अनन्तकालदेखिको अज्ञानजन्य बन्धनलाई स्वीकार्दै आएका र भगवानको भक्तिदेखि विमुख भएकै कारण जीवनको अन्तिम श्वाससम्म पनि शरीरमोह त्याग्न सक्दैन जीवात्माले । भगवानभक्ति भन्नाले सात्विक आहार अपनाई परब्रह्म राधाकृष्णको स्मरण, मनन र चिन्तन गर्नु हो । यो कार्य संसारी दायित्वसँगसँगै पनि विरक्त र गृहस्थ सबै व्यक्तिद्वारा सहजै सम्पादन गर्न सकिन्छ । अनन्त जन्मदेखिको अनन्त संचितबाट अल्पमात्रामा थोरै संचितकर्म झिकेर बनेको प्रारब्धभोगका लागि जीवात्मालाई निर्धारित समयका लागि मात्र परमात्माले मानव शरीर दिनुभएको हो । शरीरमा रही दुःखसुख मिश्रित प्रारब्धभोग सकेपछि आत्माले यसलाई छोड्नै पर्दछ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
