सम्पादकीय
मानिसको इतिहास हेर्दा एउटा कठोर यथार्थ बारम्बार दोहोरिएको देखिन्छ— जहाँ शक्ति, धन र पद हुन्छ, त्यहीँ भीड लाग्छ, जहाँ सत्य र चेतना हुन्छ, त्यहीँ प्रश्न उठाइन्छ।
धेरै धन भएका व्यक्तिको अधिनमा रहन सुन्दर स्त्रीहरू आकृष्ट हुन्छन्, कानुन र सत्ता नजिक रहन अपराधीहरू आतुर हुन्छन्, महँगा गाडी, बैंकमा करोडौँ रकम र पहुँच भएका मानिसलाई समाजले गर्वका साथ “हाम्रै मान्छे” वा ‘‘मेरो नजिकको मान्छे’’ भनेर बडो गर्वसाथ चिनाउँछ।
तर यही समाज, जब दुःख, पीडा, रोग, मृत्यु र असफलतासँग जुध्नुपर्छ, तब आफ्नै कर्मको ऐना हेर्नु सट्टा भगवान्लाई दोष दिन थाल्छ। विनाशी वस्तु, व्यक्ति र पदप्रति समर्पण गर्नेहरूले अविनाशी श्रीकृष्णको नाम लिन चाहँदैनन्, बरु उहाँको दिव्य चरित्रमाथि प्रश्न उठाएर आफ्नै भ्रमलाई सत्य सावित गर्न खोज्छन्।
यही भ्रमको भीड, यही अल्पज्ञानको आतंक, र यही आसुरी मानसिकताले श्रीकृष्णमाथि अनगिन्ती आरोपहरू लगाइरहेको छ।
छ सात महिना अघि भारतमा आत्महत्या गरेका एक व्यक्तिकी श्रीमतीसँग करिब एक साता पहिले मेरो फोनवार्ता हुँदा उनी भन्दै थिइन् भगवानले मेरो श्रीमान् खोस्यो । उसको नाम पनि लिन्नँ, पूजा पनि गर्दिनँ । यस्तो भ्रमावस्था करोडौँ मानिसहरुको रहेको छ । त्यसैले यो सम्पादकीय कृष्णको बचाउ होइन, मानिसको अज्ञानमाथि प्रहार हो। भ्रममा परेकाहरू भ्रमको घेराबाहिर निस्कून् भन्ने उद्देश्यले यहाँ श्रीकृष्णमाथि लगाइएका प्रमुख आरोपहरू र तिनको यथार्थ प्रस्तुत गरिएको छ।
आसुरीभावाश्रित व्यक्तिहरुले श्रीकृष्णमाथि निम्न आरोप लगाउँदै कृष्णभक्तहरुलाई भक्तिमार्गमा नलाग्न निरुत्साहित गरिरहेको देखिन्छ :
पहिलो आरोप : श्रीकृष्ण स्त्रीलम्पट हुन् ।
आरोपको कारण: गोपिनीहरुसँग रासलीला र १६,१०० स्त्रीहरुलाई पत्नीस्वरुप स्वीकार गर्नु ।
वास्तविकता: रासलीला भौतिक होइन अपितु आत्मा र परमात्माबिच अनन्य शुद्ध प्रेम अभिव्यक्ति हो । गोपिनीहरुमा न देहाभिमान थियो न त देहभोगको कामना । त्यस्तै नरकासुरले १६१०० स्त्रीहरुलाई बन्दी बनाएर उनीहरुको इच्छाविपरीत विवाह गर्ने योजना बुनेको थियो । त्यतिवेला श्रीकृष्णले नरकासुरबाट सबै स्त्रीहरुलाई मुक्त गर्नुभयो । नरकासुरको कैदखानामा केही दिन बिताएका हुनाले समाजले चरित्रदोष लागिसकेको ठानी स्वीकार्ने स्थिति रहेन । यस्तो अवस्थामा स्त्रीहरुको बारम्बार प्रार्थनापछि श्रीकृष्णले उनीहरुमाथि आफ्नो स्वामित्व ग्रहण गर्नुभयो अर्थात् शरणमा लिनुभयो । नरकासुर आसुरी प्रवृत्ति, अहँकारी भाव, माया, वासना र अज्ञानको प्रतीक थियो जसबाट बन्धनमुक्त गरी उहाँले तिनीहरुलाई मोक्ष प्रदान गर्नुभयो । उद्योगपति भन्दैगर्दा उद्योग र त्यसमा संलग्न व्यक्तिहरुबिच सम्भोग वा रति क्रियाले आश्रय पाउने शारीरिक सम्बन्ध कायम छ भनिएको होइन । उद्योगपति शब्दले उद्योगमाथि व्यक्तिको एकल स्वामित्व वा व्यक्तिहरुको सामूहिक स्वामित्वलाई जनाउँछ । श्रीकृष्ण अनन्त कोटि कोटि ब्रह्माण्डका स्वामी हुनुहुन्छ । १६१०० स्त्री (आत्मा) हरुको पति (स्वामी) कहलिनु प्रतीकात्मक रुपमा प्रस्तुत भएको आध्यात्मिक प्रसंग मात्र हो । रास भनेको केटा र केटीको नृत्य होइन अपितु जीवात्मा र परमात्माको मिलन हो ।
दोस्रो आरोप: अनैतिक र घृणित कार्य गर्नेवाला ।
आरोपको कारण: चीरहरण ।
वास्तविकता: श्रीकृष्ण येतिवेला केवल ७ वर्षको हुनुहुन्थ्यो । यो उहाँको बाललीला थियो नकि स्त्रीदेहासक्ति । जीवात्माहरुलाई सम्यक् प्रकारले विषयविकारबाट मुक्ति दिने करुणासिन्धु हुनुहुन्छ श्रीकृष्ण । कामना र आसक्तिको दास बन्नुपर्ने श्रीकृष्णको गुणधर्म होइन । अनन्त कोटि कोटि ब्रह्माण्डको सर्जक, नियन्त्रक, संहारक र सबै कारणहरुको पनि कारण स्वयं श्रीकृष्ण नै हुनुहुन्छ । आफ्ना चीर अर्थात् वस्त्रमाथि केही गोपिनीहरुलाई अहँकार थियो । अहँकारलाई पूर्ण शरणागतिमा बाधक मानिन्छ । अहँकारको उपस्थितिमा समर्पणभावले पूर्णता पाउँदैन । चीरहरण लीलाद्वारा अहँकाररुपी वस्त्र हरेर श्रीकृष्णले गोपिनीहरुको शरणागतिलाई सहज बनाइदिनुभएको थियो । १६१०० स्त्रीहरु आत्माहरुको प्रतीक हुन् । पति–पत्नी पूर्ण समर्पणको सर्वाेच्च उदाहरण हो । ६ दिनको शिशु अवस्थामा हुँदा नै पूतनाको वध गर्ने सर्वसार्मथ्य त्रिगुणातित श्रीकृष्णको लीला ब्रह्मा र महादेवका लागि पनि अगम्य छ । भौतिकताको दास बनेकाहरुको त के नै कुरा गर्नु र !
तेस्रो आरोप: धोकेबाज राजनीतिज्ञ थिए ।
आरोपको कारण: महाभारत युद्धका सूत्रधार र कौरवहरुको विनाश ।
वास्तविकता: १८ दिने महाविनाशक महाभारत युद्ध धर्मको पुनःस्थापनाका लागि हुनु आवश्यक थियो । लोभ, अहँकार, क्रोध, मोह, काम जस्ता विकारहरुको बन्दी बनेर सम्पूर्ण कुकृत्यको सीमा पार गर्ने कौरवरुपी अधर्मको अन्त्य नगरेसम्म धरामा धर्मको स्थापना सम्भव थिएन । श्रीकृष्णले गर्नुभएका अनेकौँ प्रयास र उहाँले दिनुभएको चेतावनी तथा अवसरका बावजुद कौरवरुपी अधर्मले ताण्डव गरिरहँदा सृष्टिको सन्तुलन गुम्ने स्थिति निम्तियो । भीष्म, द्रोणाचार्य, कृपाचार्य, कर्ण जस्ता महाहस्तीहरु पनि नुनको सोझो गर्नुपर्ने भ्रममा परेर दुर्योधनरूपी पापको पक्षमा उभिए । गान्धारी र धृतराष्ट्रले पुत्रमोहमा परी दुर्याेधनका एकपछि अर्काे अधर्मको साक्षी बनिरहे तर उसलाई रोक्ने आँट गरेनन् । शकुनी पनि दुर्याेधनको प्रत्येक पापमा भागीदार बन्दै मात्र गएनन् बरु पापमार्गमा अग्रसर हुन समेत उकसाए । उनीहरुको पापकर्मले फल पाउनुपर्ने वेला आइसकेको थियो । श्रीकृष्ण कर्मफलदाता हुनुहुन्छ । त्यसैले महाभारत युद्ध र कौरवहरुको विनाश निम्तियो ।
चौथो आरोप: आफ्नै कुलको नाशक ।
आरोपको कारण: मादक पदार्थ सेवन, आपसी कलह र यादव वंशको अन्त्य ।
वास्तविकता: श्रीकृष्णको अर्काे स्वरुप संहारक पनि हो । सत्कर्मी मनुष्य र साधु, सन्त, ऋषिमुनि जस्ता नित्य साधक एवं महापुरुषहरुको रक्षा र धर्तीदेखि पापको भार कम गर्न हेतु धर्ममार्गका सबै बाधा हटाइदिने कार्य गर्नुहुन्छ श्रीकृष्णले । श्रीकृष्णले जीवात्माको संरक्षण तबसम्म गर्नुहुन्छ जबसम्म अहँकार सुधारयोग्य छ । सुधारको सम्भावना बाँकी नरहेपछि विनाशरुपी शक्तिको प्रयोगबाट जीवात्माको विनाश गरिदिनुहुन्छ श्रीकृष्णले । यो विनाश पनि वास्तवमा कृष्णकृपा नै हो । यदुवंश पृथ्वीमा धर्मकार्यको सहजीकरणका लागि विस्तारित थियो । अवतरणको उद्देश्य सम्पन्न भएपछिको समय यदुवंशले पृथ्वीबाट प्रस्थान गर्नुपर्ने समय थियो । अर्काेतिर श्रीकृष्णका पछिल्ला वंशावलीमा शक्तिको अहँकार चरममा पुगेको थियो । साथै मदिरापान र परस्परको कलहमा वृद्धि पनि हुँदै गयो । आपसमै लडेर द्वापरयुगको अन्तिम चरणमा यदुवंशीहरु नासिए । यदुवंशीहरु आफ्नै कर्मले गर्दा विनाशलाई प्राप्त भएका थिए । समयचक्रले निर्धारण गरेको परिणति यही थियो । श्रीकृष्णले यलुवंशीको विनाशलीलामा कुनै हस्तक्षेप गर्नुभएन ।
पाँचौ आरोप: लड्न उक्साए, स्वयं लडेनन् ।
आरोपको कारण: अर्जुनलाई लड्न लगाउनु ।
वास्तविकता: श्रीकृष्ण कर्मातीत हुनुहुन्छ । कर्म गर्ने अधिकार र स्वतन्त्रता श्रीकृष्णले जीवात्मालाई पूर्णरुपेण दिनुभएको छ । श्रीकृष्णले जीवात्माको निर्णय र चयनमा हस्तक्षेप गर्नुहुन्न । काम, क्रोध, लोभ, मोह, मद, मत्सरलगायत मन, बुद्धि, अहँकार र इन्द्रियहरुको अनैतिक प्रयोग जीवात्माका लागि ठुला शत्रु हुन् । कौरवहरुको जीवनशैलीमा यी शत्रुहरुले भारी मात्रामा घुसपैठ गरिसकेका थिए । अर्काे शब्दमा काम, क्रोध, लोभ, मोह, मद, मत्सरलगायत मन, बुद्धि, अहँकार र इन्द्रियहरुको दुरुपयोगरुपी विषाणुहरुले कौरवहरुको जीवनमा आश्रय पाएका थिए । कौरवहरुमा देखा परेको यस संक्रमणलाई मार्गदर्शन, सल्लाहसुझाव र चेतावनीरुपी औषधिले निको पार्ने स्थिति थिएन । संक्रमणलाई फैलिँदै जान दिएमा धर्मको क्षतिमा थप वृद्धि हुने र पृथ्वीको सन्तुलन बिग्रिने देखेपछि संक्रमणलाई संक्रमणको आश्रयदातासहित मेटाइदिनु नै अन्तिम विकल्प थियो श्रीकृष्णका अघि । त्यसैले कुरुक्षेत्र मैदानमा अर्जुनमार्फत् सबैको संहार गर्नुभयो । वास्तवमा श्रीकृष्ण स्वयं पाण्डव स्वरुपमा व्यक्त लीला गर्नुभएको थियो । अर्जुनलाई महाभारतको नायकका रुपमा प्रस्तुत गरेर अर्जुनले जस्तै आफ्ना शत्रुहरुमाथि आफैँ विजय पाऊ है मानव जाति भनी सबैलाई सन्देश दिनुभयो श्रीकृष्णले । कौरवहरुको अनैतिक आचरण र अधर्मलाई पाण्डवहरुको ठुलो शत्रु भनी देखाइएको यो एउटा प्रतीकात्मक दृश्य थियो । वास्तवमा कौरवहरुको अनैतिक आचरण र अधर्म सिंगो मानव जातिका लागि गम्भीर संकट थियो । आफैँ लडेनन् अर्जुनलाई लड्न उक्साए भन्नु विद्यार्थीको सट्टा शिक्षकले परीक्षामा नलेखेर विद्यार्थीलाई लेख्न लगाए भने जस्तै हो ।
छैठौँ आरोप: हत्यारा ।
आरोपको कारण: राक्षस र राक्षसी प्रवृत्तिको मर्दन ।
वास्तविकता: श्रीकृष्ण कोटिकोटि अखिल ब्रह्माण्डका अविनाशी सर्वसमर्थ स्वामी हुनुहुन्छ । जीवात्माहरुमा उहाँ नै परमात्मा स्वरुपमा विद्यमान हुनुहुन्छ । जीवात्माहरु परमात्माकै अंश हुन् । तर ती जीवात्माहरु शरीर धारण गरेपछि शक्ति, सम्पत्ति, बल र बुद्धिको अहँकार गर्न थाल्दछन् । अहँकारवश अन्य जीवात्माहरुलाई प्रताडित गर्न तत्पर हुन्छन् । नरसंहार मच्चाउँछन् । साधु, सन्त, ऋषि, मुनिहरुको साधनामा बाधा उत्पन्न गर्दछन् । श्रीकृष्णको स्वरुप विष्णुले (चराचर जगतका पालनकर्ता) भक्तहरुको रक्षाका लागि अवतार लिनेदेखि संहार गर्नसम्मका कार्यहरु गर्नुहुन्छ । शास्त्रमा भएको वर्णननुसार ऋषि दुर्वासा छिट्टै रिसाउने ऋषिका रुपमा चिनिनुुहुन्छ । एकदिन ऋषि दुर्वासाले अम्बरीष नाम गरेका भक्तमाथि अकारण क्रुद्ध भई आफ्नो जटाबाट कृत्या नामक अग्नीरुपी राक्षसी शक्ति उत्पन्न गरेर राजा अम्बरीषलाई मार्न लगाउनुभयो । राजा अम्बरीष विष्णुका अनन्य भक्त थिए । तत्क्षण सुदर्शन चक्र भक्तको रक्षार्थ प्रकट भयो अनि कृत्यालाई नष्ट गर्यो । लगतै सुदर्शन चक्र ऋषि दुर्वासाको पछि पर्न थाल्यो । ऋषि दुर्वासा डराएर सुदर्शन चक्रदेखि बच्न ब्रह्मलोक, शिवलोक हुँदै अन्ततः विष्णुलोक पुग्नुभयो । कसैले सुदर्शन चक्रलाई रोक्न सकेनन् । अन्तिममा ऋषि दुर्वासाले राजा अम्बरीषको शरण परी क्षमा माग्नुभयो । राजा अम्बरीषको भक्तिबलले सुदर्शन चक्रलाई शान्त पार्या । यो प्रसङ्ग श्रीमद्भगवद् महापुराण नवौँ स्कन्धमा वर्णित छ । श्रीकृष्ण भक्तहरुको अधिनमा हुनुहुन्छ । कंश, हिरण्यकशिपु,जरासन्ध, कौरव, नरकासुर, बकासुर, प्रलम्बासुर आदि धर्म र भक्तविरुद्धको आचरणका कारण मारिएका हुन् । यसलाई हत्या होइन, धर्म र भक्तको रक्षा भनिन्छ ।
सातौँ आरोप: सबै प्राणीहरुको दुःखको मूल कारण श्रीकृष्ण हुन् ।
आरोपको कारण: रोग, शोक, भय मानिसहरु भोग्न बाध्य छन् ।
वास्तविकता: अंग्रेजीमा एउटा भनाई छ, लिटिल नोलेज इज डेन्जरस अर्थात् अल्पज्ञान घातक हुन्छ । यो तथ्य सबैमा लागु हुन्छ । मानिससित भएको पनि यही हो । सबै कुरा थाहा हुँदैन अनि लगाउन थाल्छ अनेकथरीका अडकलहरु । शास्त्रमा चौरासी लाख योनीहरुको वर्णन छ जसमध्ये मानव जन्म पनि एक हो । बुझ्नैपर्ने के हो भने चौरासी लाख योनीहरुमा एकमात्र मानिसलाई कर्म गर्ने अधिकार वा निर्णय लिने स्वतन्त्रता भगवानले प्रदान गर्नुभएको छ । अन्य प्राणीहरुलाई केवल भोगाधिकार छ, कर्म गर्न उनीहरु पाउँदैनन्, देवताहरुलाई समेत कर्म गर्ने अधिकार छैन । त्यसैले बाघ जस्ता हिंसक पशुहरुलाई अन्य पशुहरुको हत्या गरेमा दोष लाग्दैन । उनीहरुले कर्मफल पाउने विधान छैन । मानिस (जीवात्मा)को हकमा कर्मफलको सिद्धान्त लागु हुन्छ । जीवात्मा अनन्त बार जन्मिएको छ । अनन्त जन्महरुमा गरिएका अनन्त कर्महरु सञ्चित भएर बसेका छन् । तीमध्ये केही शुभकर्म र केही अशुभकर्महरु मिलाएर भगवानले जीवात्मालाई मानव जन्म प्रदान गर्नुहुन्छ । अशुभ कर्मको फलमा अनेक थरीका रोग, शोक, भय र अप्रिय घटनाहरु पर्दछन् । ती अशुभ फल मानिस आफैँले गरेका कर्मकै परिणति हुन् । यसमा भगवानको कुनै हात छैन । भगवानले भन्नुभएको छ ‘‘हे मानव, आफ्नो इच्छाले पुण्य वा पाप कर्म गर तर त्यसको फल पनि भोग्न तयार हुनूँ । किनकि कर्म तिम्रो (मानिसको) हातमा छ, कुन फल दिने मेरो (भगवानको) नियन्त्रणमा छ ।’’ कर्म गर्ने वेलामा चेत नपुर्याई गर्ने अनि त्यसको अप्रिय फल पाउँदा भगवानलाई दोष दिने आरोप अज्ञानकै कारण लगाइएको हो । मैले दुःख मात्रै, पीडा मात्रै पाएँ । यो सब भगवानले गराएको हो । अबदेखि उसलाई पुज्दिनँ, उसको नाम पनि लिन्नँ भनी रोष प्रकट गर्नुको कुनै औचित्य छैन ।
भगवानलाई नचिनेकै कारण मानिसहरुले भगवानमाथि वैनस्वता र आरोपहरु साधिरहेका हुन्छन् । अल्पज्ञानका कारण उनीहरुले भगवानसित शत्रुभाव राख्दछन् र अन्त्यमा पतनलाई प्राप्त हुन्छन् । चार प्रकारका जीवात्माले भगवानमा विश्वास गर्दैनन् । भक्ति, कीर्तन(भजन) पनि गर्दैनन् ।
श्रीमद्भगवद्गीताको अध्ययाय ७ को श्लोक १५ मा श्रीकृष्ण भगवानले भन्नुभएको छ –
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।।
अर्थात् अत्यन्त मूर्ख, नराधम, भ्रमित मनोधर्मी चिन्तकहरु र नास्तिक(असुर) हरु, यी चार प्रकारका जीवात्माहरु कहिल्यै पनि भगवानको शरणमा जाँदैनन् । भगवान् श्रीकृष्णका चरणमलको शरण लिएपछि मात्र मानिसले प्रकृतिका कठोरभन्दा कठोर नियमहरुलाई सहजै पार गर्न सक्दछ भन्ने अमृतज्ञान यिनीहरुलाई हुँदैन । पूर्व जन्म र यस जन्मका पुण्यकर्मकै अपार बलले मात्र श्रीकृष्णको चरणकमलको शरण नसीब हुन्छ । यो रहस्य सबैलाई थाहा हुनु आवश्यक छ । सात्विक आहारबाट भक्तिको यात्रा सुरु गरेर मानिस श्रीकृष्णको चरणकमलको शरणसम्म निश्चित रुपले पुग्न सक्दछ ।
श्रीकृष्णलाई बुझ्न नसक्नु सामान्य अज्ञान होइन, अहंकारजन्य जन्मजन्मान्तरको अन्धोपन हो। जो नश्वर धनको चरण समात्छ, उसले अविनाशी ईश्वरलाई दोष दिनु स्वाभाविक हो। जो आफ्नै कर्मबाट उत्पन्न पीडालाई स्वीकार्न डराउँछ, उसले भगवान्लाई अपराधी देख्नु अनिवार्य हुन्छ।
श्रीकृष्ण न दुःखका कर्ता हुन्, न अन्यायका संरक्षक। उहाँ कर्मफलदाता, धर्मसंस्थापक र भक्तको अन्तिम शरण हुनुहुन्छ। समस्या भगवान् होइन, समस्या हाम्रो दृष्टि हो। समस्या श्रीकृष्णको दिव्य चरित्र होइन, समस्या आफ्नै चरित्रको सामना गर्न नसक्ने हाम्रो साहसहीनता हो, अपात्रता हो।
जबसम्म मानिस भोगलाई सुख ठानिरहन्छ, अहंकारलाई बुद्धि सम्झिरहन्छ, र कर्मको फलबाट भाग्न भगवान्लाई दोष दिइरहन्छ— तबसम्म कृष्णको स्वरुप उसलाई “विवाद” नै लाग्नेछ। तर जुन दिन मानिसले कृष्णलाई दोषी होइन, शरणस्थान देख्न थाल्छ, सम्पूर्ण कारणहरुको कारणका रुपमा चिन्न थाल्दछ त्यही दिनबाट दुःखको दर्शन बदलिन्छ र जीवनको दशा एवम् दिशा पनि। श्रीकृष्णकै कृपाले चराचर जगत कृष्णमय प्रतीत हुन्छ भक्तलाई ।
जयजयश्री राधाकृष्ण !
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
