logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

सम्पादकीय: भीमा (निर्जला) एकादशी – तिर्खाभन्दा गहिरो आत्माको पुकार

सम्पादकीय: भीमा (निर्जला) एकादशी – तिर्खाभन्दा गहिरो आत्माको पुकार

निर्जला एकादशी भन्नाले जल त्याग मात्र होइन भोग–आसक्तिको त्याग हो।


  • बुधबार, माघ १४ २०८२
  • 741
    SHARES

    सम्पादकीय

    आजको मानिससँग सबै छ—अन्न, जल, सुविधा, प्रविधि। तर उसँग छैन भने संयम । शरीर थाकेको छ, मन अशान्त छ, आत्मा मौन छ। यस्तै मौन आत्मालाई झक्झक्याउन वर्षमा एक पटक आउने सनातन धर्मको अद्भुत अवसर हो— भीमा (निर्जला) एकादशी। आज साँझ ४ः३० (भारतीय समय) बजेदेखि भीमा एकादशी शुरु भई भोलि नेपाली समय दिउँसो करिब सवा दुई बजेसम्म रहने छ । त्यस कारण आजै दिउँसोको भोजनमा अन्न ग्रहण वर्जित छ । भोलि सवा दुई बजेपछि रात्रि भोजनमा भने भात खान सकिने छ । भीमा एकादशी व्रत आजै प्रारम्भ भएता पनि व्रत भने भोलि बस्नुपर्ने छ ।

    यो एकादशी व्रत केवल भोक र तिर्खाको परीक्षा होइन, यो त आसक्ति र अहंकारको विसर्जन हो। महाभारत र पद्मपुराणमा वर्णित अनुसार, जब महाबली भीमसेनले महर्षि वेदव्याससँग सबै एकादशी व्रत गर्न नसक्ने विवशता प्रकट गरे, तब गुरुदेवले समाधानस्वरूप भने— “हे भीम! ज्येष्ठ शुक्ल एकादशीमा जलसमेत नलिई व्रत बस। यस एक व्रतले वर्षभरिका सबै एकादशीको फल प्राप्त हुन्छ।” भीमले संयम धारण गरेर व्रत बसे । यही कारण यो एकादशी भीमकै नामबाट भीमा एकादशी कहलियो— बल होइन, संयमको विजयका कारण।

    निर्जला एकादशी भन्नाले जल त्याग मात्र होइन भोग–आसक्तिको त्याग हो। शरीरलाई एक दिन रोक्दा आत्माले पहिलोपटक बोल्ने अवसर पाउँछ। सनातन दर्शनले शरीरलाई साधन मानेको छ, साध्य होइन। तर आज हामी साधनलाई नै भगवान् बनाइरहेका छौँ। भोक लाग्यो—खानुपर्छ। तिर्खा लाग्यो—पिउनुपर्छ। मनले चाह्यो—पुरा गर्नुपर्छ। भीमा एकादशी यही प्रवृत्तिको विरुद्ध उभिएको व्रत हो। निर्जला व्रतले भन्छ— “तिमी शरीर होइनौ। शरीर तिमीले प्रयोग गर्ने यन्त्र मात्र हो।”

    जब मानिस एक दिन जलसमेत त्यागेर भगवान् विष्णुको स्मरणमा बस्छ, तब उसले बुझ्न थाल्छ— भोक आउँछ, तर जान्छ, तिर्खा आउँछ, तर जान्छ । पीडा आउँछ, तर टिक्दैन तर चेतना रहिरहन्छ। यही चेतनाको अनुभूति नै मोक्षमार्गको पहिलो ढोका हो।

    आजको युवा पुस्ता भन्छ— “हामीसँग पूजा, पाठ, व्रतका लागि समय छैन।” तर प्रश्न यो हो— के तिमीहरूसँग आफ्नो लागि एक दिन पनि छैन ?

    एक दिन मोबाइल नछोई, एक दिन स्वाद नखोजी, एक दिन ‘म र मेरो ’ भाव नबोकी बस्न सक्नु युवाको कमजोरी होइन— त्यो त असली शक्ति हो। भीमा एकादशी युवालाई सिकाउँछ— “जीवन भोग मात्र होइन, बोध पनि हो।”

    भीमा एकादशीको सार यही हो— “त्याग कुनै घाटा होइन, त्यो चेतनाको उचाइ हो।” जब तिमी जल त्याग्छौ, तिमी मृत्यु होइन, अमरत्वको अभ्यास गरिरहेका हुन्छौ। जल, त्याग्न सक्दैनौ भने कमसे कम अन्न त्यागसहित अनन्त कोटि कोटि ब्रह्माण्डका नायक श्रीहरिको स्मरणलाई जीवनको यो एक दिन समर्पण गर ।

    आज सूर्यले एक दिन अस्ताउने सत्य सम्झाउँछ, आज शरीरले सीमितता देखाउँछ, तर आज आत्माले भन्छ— “म शाश्वत, अजर (कहिल्यै बुढो नहुने) अमर (कहिल्यै नमर्ने) हुँ।” भीमा (निर्जला) एकादशी केवल धार्मिक विधि होइन, यो जीवनको पुनःसमीक्षा हो। जो यो व्रत श्रद्धा र विवेकसाथ बस्छ— ऊ केवल पुण्य कमाउँदैन, आफ्नो चेतनालाई चिन्छ र यही चेतनाको पहिचान वा अनुभूति नै  चेतनाको यात्रा हो।

    प्रकाशित : बुधबार, १४ माघ २०८२ , ११:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend