आज फेब्रुअरी १४ — संसारभरि “भ्यालेन्टाइन डे” भनेर चिनिने दिन। युवापुस्ताको लागि यो दिन प्रेम व्यक्त गर्ने अवसर हो भन्ने प्रचार गरिन्छ। तर हाम्रो समाजमा आज यो दिन प्रेमको पर्वभन्दा बढी वासनाको उत्सव, आकर्षणको व्यापार, र संयममाथिको हमला बनेको छ। प्रेमको नाममा शरीर बेचिने, मर्यादा तोडिने, विवाहेतर सम्बन्ध फैलिने, अनि सामाजिक मूल्य–मान्यता कमजोर हुँदै जाने दृश्य आज सामान्यजस्तै भइसकेको छ। प्रेम आत्मासित आत्माको पवित्र सम्बन्ध हो । यथार्थ प्रेमी स्वार्थ र शरीरभोगमा आसक्त हुँदैन । जहाँ वासना एवं स्वार्थ छ त्यहाँ प्रेमको कुनै स्थान छैन । प्रेम त्याग अनि समर्पणको शुद्धतम तथा उच्चतम स्वरुप हो । यो सत्यताप्रति आजको युवा पुस्ता पूर्णतया अनभिज्ञ छ। भोगजन्य शारीरिक आकर्षणलाई प्रेमको संज्ञा दिएर आजको पिढीले ठुलो गल्ती गरिरहेको छ । यही कारण हो आज बजारमा “प्रेम” सस्तो छ, असल चरित्र दुर्लभ हुँदै गएको छ।
भ्यालेन्टाइन डे : वास्तविक पृष्ठभूमि के हो ?
भ्यालेन्टाइन डेको इतिहासलाई लिएर धेरै कथा छन्। इतिहासकारहरूका अनुसार रोमन साम्राज्यको समयमा सम्राट क्लडियस द्वितीयले सैनिकहरूलाई विवाह गर्न निषेध गरेका थिए। त्यस समय सेन्ट भ्यालेन्टाइन नामका एक पादरीले गोप्य रूपमा प्रेमी–प्रेमिकाको विवाह गराइदिने गर्थे। त्यसै कारण उनलाई पक्राउ गरेर मृत्युदण्ड दिइएको भनाइ छ।
यही घटनालाई स्मरण गर्दै पश्चिमी समाजले पछि मृत्यु प्राप्त पादरीको सम्मान र सम्झनामा फेब्रुअरी १४ लाई प्रेम दिवसको रूपमा मनाउन थालेको पाइन्छ। तर यहाँ एउटा प्रश्न उठ्छ— के आज मनाइने भ्यालेन्टाइन डे त्यही प्रेम र त्यागको स्मृति हो ? कि यो आज फूल, कार्ड, चकलेट, होटल, क्लब, मदिरा र कन्डोमको बिक्री बढाउने व्यापारिक रणनीति मात्र हो ? साँचो कुरा के हो भने, आजको भ्यालेन्टाइन डे प्रेमभन्दा बढी भोगवादको पर्व बनेको छ।
प्रेमको नाममा चरित्र हत्या
आज धेरै युवा–युवतीहरू प्रेमलाई बुझ्दैनन्, केवल आकर्षणलाई प्रेम सम्झन्छन्। आकर्षण आँखा र शरीरमा हुन्छ। तर प्रेम आत्मामा हुन्छ।
आजको समाजमा “लभ” भन्नासाथ शारीरिक सम्बन्धलाई सामान्य ठानिन्छ। “प्रेम”को आवरणमा कुमारीत्व र ब्रह्मचर्य गुमाउनु गर्वको विषय बनाइएको छ। अझ चिन्ताजनक कुरा त के छ भने— विवाहित पुरुष परस्त्रीसँग, विवाहित महिला परपुरुषसँग सम्बन्ध जोड्ने क्रमले परिवार कमजोर बन्दै गएको छ। यसले निम्त्याउने परिणाम केवल व्यक्तिगत पीडा होइन, समाजको नैतिक पतन हो।
कन्डोम बिक्री बढ्नु “प्रगति” होइन, चेतावनी हो
कतिपय रिपोर्टहरूमा भ्यालेन्टाइन आसपास कन्डोम बिक्री अत्यधिक बढ्ने उल्लेख गरिन्छ। केहीले यसलाई “सुरक्षित यौन सम्बन्धको चेतना” भनेर प्रचार गर्छन्। तर हाम्रो संस्कृतिमा यो तथ्य सुरक्षा होइन, संकटको संकेत हो। किनकि जब समाजमा संयम कमजोर हुन्छ, तब बजारमा यस्ता वस्तुको माग बढ्छ।
यो प्रेमको जित होइन, मर्यादाको हार हो। असली प्रेम, शारीरिक भोग होइन, अपितु समर्पण हो । हाम्रो सनातन संस्कृति भन्छ—प्रेम केवल चाहना होइन, कर्तव्य हो।
प्रेम चर्ममोह होइन, धैर्यतामाथिको विश्वास हो। प्रेम बहकिहाल्नुपर्ने रात होइन, जीवनभरको साथ हो।
श्रीकृष्ण र राधा, राम र सीता, शिव र पार्वतीको प्रेमलाई हाम्रो समाजले केवल रोमाञ्चक कथा भनेर होइन, पवित्र आदर्शको रूपमा मानेको हो। यहाँ प्रेमको अर्थ वासनाको खेल होइन, धर्म, मर्यादा र आत्मिक एकताको यात्रा हो।
ब्रह्मचर्य विलासिता खरिद गर्ने मूल्य होइन, भविष्यको शक्ति हो । आजको आधुनिक समाजले ब्रह्मचर्यलाई “पुरानो सोच” भन्छ। तर सत्य के हो भने, ब्रह्मचर्य कुनै धर्मको कठोरता होइन— यो आत्मनियन्त्रणको विज्ञान हो। ब्रह्मचर्यले मानिसलाई बलियो बनाउँछ । अनुशासित बनाउँछ । मानसिक स्थिरता दिन्छ। लक्ष्यमा केन्द्रित बनाउँछ । जीवनमा महान उपलब्धि हासिल गर्न प्रेरित गर्छ । आज युवाहरूको ध्यान पढाइ, करियर, समाज निर्माणतर्फ होइन— क्षणिक रमाइलो र मोबाइलको भ्रममा हराउँदै छ। युवापुस्ताले बुझ्नुपर्छ— जे त होला भन्दै अस्मिता गुमाउने होइन, चरित्र जोगाउन जुन मूल्य चुकाउन परे पनि चुकाउन तयार हुनुपर्दछ । विवाह केवल सम्झौता होइन, पवित्र संस्कार हो । विवाह यौन तृप्तिका लागि “सामाजिक सम्झौता” होइन। यो समर्पण भावलाई पुष्ट पार्ने कसी हो । जब पति–पत्नीको सम्बन्धमा विश्वास कमजोर हुन्छ, तब बच्चाहरू अनाथजस्तै बन्छन्—बाबुआमा भएर पनि। आज धेरै घरभित्र आँसु छ। किनकि प्रेम विवाहपछि टिकेन। वासनाले प्रेमलाई खायो। स्वार्थले सम्बन्धलाई जलायो। सम्बन्धको पवित्रता नष्ट भयो भने समाजको आधार नै ढल्छ। घर भत्कियो भने राष्ट्र बलियो हुँदैन।
प्रेमलाई पवित्र भावले अपनाउनुपर्ने हुन्छ ।आजका युवाहरूलाई घृणा होइन, चेतनाको प्रकाशमा बाँच्न सिकाउनुपर्दछ । युवा प्रेम गर्छन्—गलत होइन। प्रेम गर्नु मानव स्वभाव हो। तर प्रेमको नाममा मर्यादा तोड्नु, कसैको भविष्य बिगार्नु, भावनामा खेल्नु, शरीरलाई प्रयोग गर्नु, अनि सम्बन्धलाई अस्थायी बनाउनु — यो अपराध हो। युवापुस्ताले सम्झनुपर्छ— साँचो प्रेम त्यो हो, जसले प्रेमिकालाई सुरक्षित बनाउँछ। साँचो प्रेम त्यो हो, जसले प्रेमीलाई जिम्मेवार बनाउँछ। साँचो प्रेम त्यो हो, जसले भविष्यको घर बनाउँछ। साँचो प्रेम त्यो हो, जसले आत्मालाई शुद्ध राख्छ।
आजको पुस्ता बिग्रियो भनेर केवल युवालाई दोष दिनु अन्याय हो। समाजले नै उनीहरूलाई सही मार्गदर्शन दिन सकेन। परिवारमा संवाद छैन । विद्यालयमा नैतिक शिक्षा कमजोर छ । सामाजिक सञ्जालमा अश्लीलता खुलेआम छ । फिल्म र गीतले वासनालाई “रोमान्स” भनेर बेचिरहेका छन् । युवालाई प्रेरणा दिनुपर्ने सरोकारवाला निकाय एवं व्यक्तिहरु आफैं गलत बाटोमा छन् । यस्तो अवस्थामा युवाले गलत बाटो समात्नु अस्वाभाविक होइन। तर अब समय आएको छ—सचेत हुने।
भ्यालेन्टाइन डे होइन, “संयम दिवस” मनाऔं । हामीले भ्यालेन्टाइन मनाउनु गलत होइन। तर हामीले यसलाई संस्कृति र चरित्रसँग जोडेर मनाउनुपर्छ। यो दिन प्रेमपत्र होइन, प्रतिज्ञा पत्र लेखौं । होटल र जंगल होइन, मन्दिर र पुस्तकालय जाऔं । मदिरा होइन, माता–पिताको आशीर्वाद लिऔं । विपरीत लिङ्गको शरीरसुखमा नभुलेर आत्मा अनुभूतिको दिव्य यात्रा गरौँ । अश्लीलता होइन, सम्मान सिकौं । युवाले प्रेम व्यक्त गर्न सक्छन्। तर प्रेमको पहिलो शर्त हो—मर्यादा। आँसु र पछुतोको प्रेम होइन, उज्यालो भविष्यको प्रेम चाहिन्छ । आज समाजमा धेरै युवतीहरूको जीवन भावनामा ठगिएर समाप्त भएको छ। धेरै युवाहरूले पनि क्षणिक वासनाका कारण आफ्नो अध्ययन, करियर, प्रतिष्ठा र भविष्य गुमाएका छन्।
भ्यालेन्टाइनको रात रमाइलो हुन्छ होला, तर त्यसपछि आउने दिनहरू अक्सर आँसु र पछुतोले भरिन्छ। त्यसैले प्रेम गरौँ, तर पवित्र। सम्बन्ध बनाऔँ, तर जिम्मेवारीसहित। आकर्षणमा होइन, चरित्रमा विश्वास राखौँ। प्रेमलाई सनातन धर्मका रुपमा अपनाउनु गलत होइन । वासनापूर्तिको आधार बनाइनु भूल हो । युवापुस्ताको उमेर ऊर्जा निर्माणको हो, विनाशको होइन। शरीरभोगको सुखभन्दा दायित्वबोधको सन्तोष ठूलो हो । चरित्रहीन पुस्ता समृद्ध र मर्यादित राष्ट्रको नीव बन्न सक्दैन ।
यस पालीको भ्यालेन्टाइनमा हामी सबैले प्रण गरौं— प्रेमका नाममा आफ्नो अस्तित्वमाथि संकट निम्त्याउने छैनौँ । संयमलाई शक्तिको रूपमा स्वीकार्नेछौं। विवाहलाई संस्कारको रूपमा बचाउनेछौं। समाजलाई पतन होइन, पुनर्जागरणतर्फ लैजानेछौं। किनकि राष्ट्रको भविष्य केवल सडक र भवनले होइन, चरित्रवान् युवा पुस्ताले बनाउँछ। प्रेमको नाममा वासनाको व्यापार बन्द गरौं।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
