logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

इनिसा विकको बलात्कार र हत्यामा कलियुग दोषी होइन, तामसिक आहार जिम्मेवार छ

इनिसा विकको बलात्कार र हत्यामा कलियुग दोषी होइन, तामसिक आहार जिम्मेवार छ

पाहुनाको सत्कार पनि मांसाहार र मदिरा बिना अपूर्ण ठान्ने मानसिकता विकसित भएको छ


  • बुधबार, फाल्गुन २७ २०८२
  • 1.4K
    SHARES

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै थियो। महिलाको अधिकार, समानता र सुरक्षाका कुरा भाषणमा गुञ्जिरहेका थिए। तर त्यही समय प्रदेश अस्पताल कालागाउँको शवगृहमा एक १६ वर्षीया किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो। त्यो शव थियो—गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी इनिसा विकको।

    इनिसाको जीवन कथा केवल एक परिवारको दुःख मात्र होइन, समग्र समाजको नैतिक पतनको कठोर संकेत हो। फागुन २३ गते बिहान उनी ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। आमा तिला विकले शनिबार भएकाले नजान आग्रह गरिन्। तर छोरीले दुई घण्टाभित्र फर्किने वाचा गरिन्। दुर्भाग्यवश, त्यो वाचा कहिल्यै पूरा भएन।

    केही घण्टापछि आएको एउटा अपरिचित फोनले परिवारलाई झसङ्ग बनायो—“तपाईंकी छोरी शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा छिन्।” हतारिँदै पुगेकी आमाले देखेको दृश्य हृदयविदारक थियो। रक्ताम्मे शरीर, लुछिएको कपाल, मडारिएको घाँस, छरिएका जुत्ता–मोजा, र शरीरमा कपडा समेत नभएको अवस्था। प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसामाथि सामूहिक बलात्कारपछि हत्या भएको संकेत दिएको छ। अझ भयावह कुरा के छ भने यस घटनामा संलग्न भनिएका चारै जना १८ वर्षमुनिका किशोर रहेका छन्।

    यो केवल अपराध होइन—यो अमानवीयताको चरम रूप हो। अझ भयावह पक्ष के हो भने यस्तो अपराधमा संलग्न हुनेहरू स्वयं किशोरहरू नै छन्। जुन उमेरमा ब्रह्मचर्यको पालन गर्दै शिक्षा र संस्कारबाट जीवन निर्माण गर्नुपर्ने हो, त्यही उमेरका युवाहरू कामवासनाको वेगमा बहँदै अपराधको दलदलमा फसिरहेका छन्। भोलिको समाज निर्माण गर्ने हातहरू नै आज समाजका लागि खतरा बन्न थालेका छन्।

    आज धेरैले यस्तो घटनालाई ‘कलियुगको प्रभाव’ भनेर व्याख्या गर्न खोज्छन्। वास्तवमा यो कलियुगको दोष होइन। यो मानिसको स्वार्थ, अविवेक र गलत संस्कारको परिणाम हो। कलियुगलाई दोष दिएर हामी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेका छौँ।

    किशोरकिशोरीहरूको नैतिक पतनका पछाडि तीन प्रमुख कारणहरू स्पष्ट रूपमा देखिन्छन्—राज्यको नीति, अभिभावकको आचरण र समाजको संस्कार।

    पहिलो, राज्यको शिक्षा नीति। हाम्रो शिक्षा प्रणालीले आध्यात्मिक शिक्षालाई आवश्यक ठान्दैन। पाठ्यक्रम विदेशी सांस्कृतिक प्रभावमा आधारित छ। विद्यार्थीहरूले आत्मा के हो, परमात्मा के हो, जीवनको उद्देश्य के हो, मृत्युको अर्थ के हो भन्ने विषयमा कुनै ज्ञान प्राप्त गर्दैनन्। हाम्रा ऋषि–मुनि, वेद, उपनिषद् र पुराणहरूले दिएका अमूल्य ज्ञान आजको शिक्षा प्रणालीमा लगभग अनुपस्थित छन्। परिणामस्वरूप नयाँ पुस्ता आध्यात्मिक चरित्रको विकासबाट वञ्चित हुँदै गएको छ।

    दोस्रो, अभिभावकको आचरण। सन्तानको पहिलो गुरु भनेकै मातापिता हुन्। तर आज धेरै अभिभावक स्वयं संयमित जीवनशैलीबारे अनभिज्ञ छन्। तामसिक आहार, अनियन्त्रित भोगवादी जीवन, अत्यधिक कामेच्छा र अनैतिक सम्बन्धको वातावरणमा हुर्किएका सन्तानबाट उच्च नैतिकता अपेक्षा गर्नु कठिन हुन्छ। शास्त्रले दाम्पत्य जीवनका लागि पनि संयम र मर्यादा निर्धारण गरेको छ। ऋतुकाल, व्रत–उपवास, तिथिहरू, ग्रहणकाल आदि समयमा संयम अपनाउन भनिएको छ। तर आज यी शिक्षाहरू लगभग लोप भइसकेका छन्। असंयमित वा अनुशासनहीन मातापिताका छोराछोरी संमयमित र अनुशासित हुने सम्भावना अति न्युन रहन्छ ।

    तेस्रो र सबैभन्दा गम्भीर पक्ष—समाजको संस्कृति। आज समाजमा खानपानदेखि मनोरञ्जनसम्म सबै क्षेत्रमा तामसिक संस्कारको वर्चस्व बढ्दै गएको छ। अण्डा, माछा, मासु र मदिरा जस्ता पदार्थहरूलाई सामाजिक सम्मानको प्रतीक बनाइएको छ। पाहुनाको सत्कार पनि मांसाहार र मदिरा बिना अपूर्ण ठान्ने मानसिकता विकसित भएको छ।

    धार्मिक दृष्टिकोणले तामसिक आहारले मानिसमा राक्षसी प्रवृत्ति बढाउँछ भनिएको छ। राक्षसी प्रवृत्ति भनेको के हो? उचितलाई अनुचित र अनुचितलाई उचित ठान्ने मानसिकता। यही मानसिकता बढ्दै जाँदा समाजमा बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरू सामान्य जस्तै बन्न थालेका छन्।

    इनिसा विकको हत्या केवल एउटा अपराध होइन; यो हाम्रो सामाजिक संरचनाको गम्भीर असफलताको संकेत हो। जबसम्म राज्यले शिक्षा प्रणालीमा आध्यात्मिक र नैतिक शिक्षालाई स्थान दिँदैन, जबसम्म अभिभावकहरूले संयमित जीवनशैली अपनाउँदैनन्, र जबसम्म समाजले सात्विक संस्कारलाई पुनःस्थापित गर्दैन—यस्ता घटनाहरू दोहोरिइरहनेछन्।

    समाधान स्पष्ट छ तर कठिन पनि छ। राज्यले शिक्षा प्रणालीलाई पुनर्संरचना गर्नुपर्छ, अभिभावकले आफ्नो आचरण सुधार्नुपर्छ, र समाजले सात्विक आहार तथा संस्कारलाई पुनः अंगाल्नुपर्छ। सन्तानलाई केवल आधुनिक शिक्षा मात्र होइन, चरित्र निर्माणको शिक्षा पनि दिनुपर्छ।

    यदि हामीले आज पनि आत्मपरीक्षण गरेनौँ भने, इनिसा विकजस्ता निर्दोष किशोरीहरूको बलिदान केवल समाचारका शीर्षकमा सीमित हुनेछ। तर यदि यो घटनालाई समाज परिवर्तनको चेतावनीको रूपमा लिइयो भने, सम्भवतः यही पीडाबाट एउटा नयाँ चेतनाको जन्म हुन सक्छ।

    कलिला सन्तानलाई सत्यको बाटो देखाउने जिम्मेवारी आज हामी सबैको काँधमा छ। समाजलाई दुर्घटनाबाट जोगाउन सात्विक आहार, संयमित जीवनशैली र आध्यात्मिक शिक्षाको पुनर्जागरण अनिवार्य भइसकेको छ। इनिसा विकको बलात्कार र हत्यामा कलियुग दोषी होइन, तामसिक आहार जिम्मेवार छ । अपराधीलाई दण्ड दिएर मात्रै मुलुक अपराधको प्रभावबाट सुरक्षित छैन, त्यसैले अब शिक्षा प्रणाली वेदान्तमा केन्द्रित बनाइनुपर्दछ र सात्विक आहारलाई प्राथमिकतामा राखिनुपर्दछ ।

    प्रकाशित : बुधबार, २७ फाल्गुन २०८२ , ०३:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend