सम्पादकीय
भौतिक जगतमा केही कुरा स्थिर र स्थायी छैन । यो तथ्य थाहा नपाउने यस धरामा सायद नै कोही होला । तथापि योगमायाले फिजाएको बाहिरी आकर्षण नै सबैलाई प्रिय छ । मानिस जान्दछ सबै छोड्ने हो ,फेरिपनि हर प्रकारका भोगका साधनहरु संग्रह गर्न दिनरात अनवरत व्यस्त छ । जीवनपछिको सूक्ष्म अगोचर यात्रामा जुन सत्कर्म बलको आवश्यकता पर्दछ त्यसको प्राप्तिकालागि एक क्षण पनि मानिससँग उपलब्ध छैन । आजको तीव्र गतिमा बदलिँदो संसारमा मानिस बाहिरी रूपमा जति आधुनिक र प्रविधिमैत्री बन्दै गएको छ, भित्री रूपमा त्यति नै अस्थिर, तनावग्रस्त र दिशाहीन हुँदै गएको अनुभूति गर्न थालिएको छ । सामाजिक सञ्जालको चमक, प्रतिस्पर्धाको दबाब, तात्कालिक सफलताको लालसा र देखावटी जीवनशैलीले विशेषतः युवापुस्ताको मनमा गहिरो प्रभाव पारिरहेको छ । यस्तो समयमा प्रेमानन्द गोविन्द शरण महाराजको करिब २६ वर्ष पुरानो डायरीमा लेखिएका दुई साधारण देखिने तर अत्यन्त गहन पङ्क्तिहरूले आधुनिक मानिसलाई आत्मबोधको नयाँ दिशातर्फ डो¥याउने शक्ति राख्छन् । ती पङ्क्ति हुन् “जैसा सोचोगे वैसा हो जाओगे, इसीलिए जैसा होना है वैसा सोचो” र “अहं शून्य जीवन ही परमात्मा के साम्राज्य में प्रवेश करता है” भन्ने यी वाक्यहरू केवल प्रेरणादायी शब्द मात्र होइनन्, सम्पूर्ण जीवन–दर्शनको सार हुन् । भारतीय सनातन चिन्तनले प्राचीनकालदेखि नै मनुष्यको विचारलाई उसको भविष्य निर्माण गर्ने मूल शक्ति मानेको छ । भगवद् गीतामा भगवान् श्रीकृष्णले मनुष्य स्वयं आफ्नै मित्र र शत्रु हुने बताउनुभएको छ भने उपनिषदमा “यद्भावं तद्भवति” अर्थात् जस्तो भाव हुन्छ, त्यस्तै अस्तित्व निर्माण हुन्छ भन्ने सिद्धान्त पाइन्छ । वास्तवमा मानिसको सोचाइ केवल क्षणिक मानसिक प्रक्रिया होइन; त्यसैले उसको व्यवहार, निर्णय, चरित्र र भविष्यलाई आकार दिन्छ । जो व्यक्ति निरन्तर भय, असफलता, ईष्र्या, क्रोध र नकारात्मकताको चिन्तन गर्छ, उसको जीवन क्रमशः त्यही अन्धकारतर्फ मोडिन थाल्छ । त्यसको विपरीत सेवा, प्रेम, अनुशासन, भक्ति, करुणा, आत्मविश्वास र परमसत्ताको चिन्तन गर्ने व्यक्ति भित्रैबाट ऊर्जावान बन्दै जान्छ । आधुनिक मनोविज्ञानले पनि “न्यूरोप्लास्टिसिटी” (मानिसको मस्तिष्कले नयाँ कुरा सिक्दै, सोच बदल्दै र अनुभव प्राप्त गर्दै आफूलाई परिवर्तन तथा विकास गर्न सक्ने क्षमता) जस्ता सिद्धान्तमार्फत बारम्बार दोहोरिने विचारहरूले मस्तिष्कको संरचना र व्यवहारलाई परिवर्तन गर्ने स्वीकार गरिसकेको छ ।
त्यसैले महाराजको पहिलो पङ्क्ति केवल आध्यात्मिक उपदेश नभई असीम सम्भावनायुक्त जीवन–निर्माणको वैज्ञानिक सूत्र पनि हो । दोस्रो पङ्क्ति अझ गहिरो आध्यात्मिक सत्यतर्फ संकेत गर्छ । “अहं शून्य जीवन ही परमात्मा के साम्राज्य में प्रवेश करता है” भन्ने वाक्यले मानिसको सबैभन्दा ठूलो बाधा बाहिरी संसार नभई उसकै भित्र रहेको अहंकार भएको स्मरण गराउँछ । यहाँ “अहं” भन्नाले सामान्य आत्मसम्मान होइन, आफूलाई नै सर्वोच्च, सर्वज्ञ र सबैभन्दा महत्वपूर्ण ठान्ने मानसिक अवस्थालाई जनाइएको हो । मानिससँग निद्रा, भोक, तिर्खा, दिसापिसाबसम्म नियन्त्रण गर्ने सामथ्र्य छैन तथापि ऊ ठान्दछ सबै कुरा उसकै बलबुद्धिले भएको हो, यसैलाई अहं अर्थात् अहँकार भनिन्छ जुन भवगद प्राप्तिमा मूल बाधक हो । सनातन धर्ममा भक्ति भनेको “म” बाट “तिमी” तर्फको यात्रा हो । जबसम्म मानिस आफ्नो अहंकारमा बाँधिएको हुन्छ, तबसम्म उसले प्रेम, करुणा, विनम्रता र परमात्माको सूक्ष्म अनुभूति गर्न सक्दैन ।
भगवद् गीतामा श्रीकृष्णले अहंकार, ममता र फलको आसक्तिबाट मुक्त व्यक्ति मात्र वास्तविक शान्तिमा पुग्ने बताउनुभएको छ । सन्तहरूले त्यसैले बारम्बार भनेका छन्— जहाँ अहंकार समाप्त हुन्छ, त्यहीँबाट अध्यात्म आरम्भ हुन्छ । आजको युवापुस्ता सूचना र प्रविधिमा धनी भए पनि मानसिक रूपमा असुरक्षित, तुलना–ग्रस्त र आन्तरिक रूपमा थाकेको देखिन्छ । उनीहरूलाई सफलताको भाषा सिकाइयो, तर आत्मशान्तिको मार्ग सिकाइएन । यस्तो अवस्थामा २६ वर्ष पुरानो डायरीमा लेखिएका यी दुई पङ्क्तिहरू युवाहरूका लागि जीवन बदल्ने सूत्र बन्न सक्छन् । यदि युवाले आफ्नो सोचलाई सकारात्मक, अनुशासित र उद्देश्यपूर्ण बनाउन सके भने उनीहरुको व्यक्तित्व, सम्बन्ध, भविष्य र सूक्ष्म शरीरको अगोचर यात्रा स्वतः उज्यालो बन्न सक्छ । त्यस्तै विनम्रता र अहंकाररहित व्यवहारले मात्र वास्तविक नेतृत्व, प्रेम र सामाजिक सद्भाव सम्भव हुन्छ । बाहिरी उपलब्धिले क्षणिक आनन्द दिन सक्छ, तर स्थायी शान्ति केवल निर्मल मनबाट प्राप्त हुन्छ । निर्मल मन परमसत्ताको शरणमा रहेर मात्र बन्न सक्छ । आज समाजलाई केवल सफल मानिस होइन, संवेदनशील, विनम्र र आत्मचेतनशील मानिसको आवश्यकता छ । प्रेमानन्द महाराजका यी पङ्क्तिहरू वास्तवमा आधुनिक युगका लागि मौन तर अत्यन्त शक्तिशाली आध्यात्मिक चेतावनी हुन् । यदि सोच बदलियो भने जीवन बदलिन्छ, र यदि अहंकार हरायो भने परमात्मासम्म पुग्ने ढोका आफैँ खुल्न थाल्छ । हामीले जस्तो सोच्छौँ त्यस्तै बन्छौँ, त्यसैले त्यस्तै सोचौँ जस्तो बन्नु छु ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
