logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: गर्मीयाममा चिसोको मोहजन्य स्वास्थ्य संकट

सम्पादकीय: गर्मीयाममा चिसोको मोहजन्य स्वास्थ्य संकट


  • शनिबार, जेष्ठ ९ २०८३
  • 637
    SHARES

    सम्पादकीय

    गर्मीयामको तीव्रता सकिन नपाउँदै वर्षायामको आगमन सुरु हुन्छ । मौसम परिवर्तनको यही संक्रमणकालमा मानव शरीर अनेक रोगहरूको आक्रमणको जोखिममा पर्छ । बाहिरी वातावरणमा बढ्दो तापक्रमसँगै मानिसको मन चिसोचिसो खाने–पिउने वस्तुतर्फ आकर्षित हुन्छ । फ्रिजमा राखिएको चिसो पानी, कोकाकोला, स्प्राइट, आइसक्रिमजस्ता पदार्थहरू आजभोलि केवल स्वादको विषय मात्र बनेका छैनन्, बरु दैनिक जीवनको अनिवार्य हिस्सा जस्तै बनाइएका छन् । तर, क्षणिक आनन्दका लागि गरिने यस्ता अभ्यासले दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पारिरहेको यथार्थलाई बुझ्न आवश्यक छ ।

    आयुर्वेदले मानव शरीरलाई प्रकृतिसँग जोडेर हेर्छ । प्रकृतिको नियमविपरीत गरिएको खानपान र व्यवहारले शरीरमा दोषहरूको असन्तुलन उत्पन्न गराउँछ । गर्मीयाममा शरीरभित्रको अग्नि अर्थात् पाचनशक्ति कमजोर हुने भएकाले हल्का, सात्विक र सजिलै पच्ने भोजन सेवन गर्न आयुर्वेदाचार्यहरूले सुझाव दिएका छन् । तर आजको समाजमा यसको ठीक उल्टो अभ्यास भइरहेको छ । अत्यधिक चिसो बनाइएका पेयपदार्थ, तारेका तथा मसलेदार भोजन, मांसाहार र कृत्रिम स्वादयुक्त पदार्थहरूको प्रयोग बढ्दो छ ।

    मांसाहार विशेषगरी गरिष्ठ भोजनको श्रेणीमा पर्दछ । यसलाई पचाउन शरीरलाई ८ देखि १० घण्टासम्म समय लाग्न सक्छ । कमजोर पाचनशक्तिको अवस्थामा यस्तो भोजन सेवन गर्दा शरीरमा विषाक्त तत्व उत्पादन हुन्छ, जसले अनेक रोगहरूको जन्म गराउँछ । आयुर्वेदको मूल मान्यता छ— “अजिर्णे भोजनं विषम्” अर्थात् नपचेको खाना विष समान हुन्छ । शरीरमा जम्मा हुने यही विषाक्तता पछि ग्यास्ट्रिक, मोटोपन, उच्च रक्तचाप, मधुमेहदेखि मानसिक अस्थिरतासम्मका समस्याको कारण बन्न सक्छ ।

    “जस्तो अन्न, त्यस्तै मन” भन्ने पूर्वीय दर्शनको गहिरो वैज्ञानिक आधार पनि छ । सात्विक भोजनले मनलाई शान्त, स्थिर र सकारात्मक बनाउँछ भने अत्यधिक चिसो, बासी, तामसिक तथा रजोप्रधान भोजनले मनमा चञ्चलता, आलस्य, क्रोध र असन्तुलन बढाउँछ । आज समाजमा बढ्दो तनाव, चिडचिडापन र असहिष्णुताको एउटा कारण अस्वस्थ खानपान पनि हो भन्ने कुरा नकार्न सकिँदैन ।

    विशेष चिन्ताको विषय त के छ भने, धेरै मानिसहरू “फ्रिजको चिसो पानी नखाएसम्म तिर्खा मेटिँदैन” भन्ने भ्रममा बाँचेका छन् । वास्तवमा अत्यधिक चिसो पदार्थले शरीरभित्रको तापमानलाई अचानक घटाएर पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ । शरीरको प्राकृतिक तापक्रम र बाहिरी चिसोपनबीचको असन्तुलनले घाँटी, फोक्सो, पाचनतन्त्र तथा जोर्नीसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । विशेषगरी वर्षायाम सुरु हुने बेला संक्रमणजन्य रोगहरू तीव्र रूपमा फैलिने हुँदा यस्ता असावधानी अझ घातक बन्न सक्छन् । मानिसहरु लस्सी (मोही) र उखुको जुसमा समेत आइस हालेर खान्छन् जुन निकट भविष्यमा स्वास्थ्यमाथि संकटको कारण बन्न सक्छ ।

    आयुर्वेदले ऋतु अनुसार आहारविहार परिवर्तन गर्न सिकाउँछ । गर्मीयाम र वर्षायामको संक्रमणकालमा मनतातो पानी, जौ, सत्तु, मौसमी फलफूल, हरियो सागसब्जी, दहीको सीमित प्रयोग, सुपाच्य दाल तथा हल्का भोजन उपयुक्त मानिन्छ । साथै समयमै भोजन गर्ने, अधिक खान नखाने, बासी तथा फ्रिजमा लामो समय राखिएको खाना त्याग्ने र प्राकृतिक जीवनशैली अपनाउने कुरा विशेष रूपमा जोड दिइएको छ ।

    दुर्भाग्यवश, आधुनिकताको नाममा हामी प्रकृतिबाट टाढिँदै गइरहेका छौं । स्वाद र क्षणिक सुखका लागि स्वास्थ्यलाई दाउमा राख्ने प्रवृत्ति बढेको छ । कतिपयले त मरेपछि के हुन्छ कसले देख्या छ र भन्दै खानपान सम्बन्धि स्वेच्छाचारलाई आचरणमा उतारिरहेका हुन्छन् । आजको आधुनिक मानिसहरु अस्पताल हाताभित्र घण्टौँ उभिन, डाक्टर कुर्न, अस्पतालमा भर्ना हुन, अनेकौँथरीका उपकरणीय चेकजाँचबाट गुज्रन र धन नाश गर्न तयार हुन्छन् तर जीवनशैलीमा परिवर्तन ल्याउन उनीहरुका लागि मान्य छैन । शरीरलाई रोगमुक्त राख्नु केवल औषधिको जिम्मेवारी होइन, सही भोजन र संयमित जीवनशैलीको पनि परिणाम हो । यदि समाजले अहिले नै खानपानमा सचेतता अपनाएन भने भविष्यमा जीवनशैलीजन्य रोगहरूको भार अझ भयावह बन्ने निश्चित छ ।

    त्यसैले आज आवश्यक छ— स्वादभन्दा स्वास्थ्यलाई प्राथमिकता दिने संस्कार । आधुनिकताका नाममा विकसित भएको स्वेच्छाचारी प्रवृत्तिलाई त्याग्ने समय आएको छ । आयुर्वेदले सिकाएको प्रकृतिसँग सन्तुलित जीवनशैली अपनाउने हो भने शरीर मात्र होइन, मन र समाज पनि स्वस्थ बन्न सक्छ । गर्मीयाम र वर्षायामको यस संवेदनशील समयमा प्रत्येक नागरिकले आफ्नो भान्सादेखि नै स्वास्थ्य सचेतना सुरु गर्नु अपरिहार्य देखिन्छ ।

    2083-02-9

    प्रकाशित : शनिबार, ९ जेष्ठ २०८३ , १०:४८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend