logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आफूलाई जस्ताको तस्तै बुझ्नु नै ‘सनातन धर्म’ हो ।

आफूलाई जस्ताको तस्तै बुझ्नु नै ‘सनातन धर्म’ हो ।


  • शुक्रबार, माघ ४ २०८१
  • 1K
    SHARES

    सम्पादकीय

    गंगामा प्रवाह हुने जलतत्व यमुना नदीमा मिसाउने हो भने के यो परिवर्तन हुन्छ ? यमुनामा बग्ने जल र गंगामा बग्ने जल के यी दुई भिन्न तत्व हुन् ? कालीगण्डकीको जल र कोशी नदीको जल के यी भिन्न तत्वले बनेका हुन् ? होइन । विज्ञानले भन्छ दुई अणु हाइड्रोजनको र एक अणु अक्सिजनको मिलेर पानी बन्छ ।

    यो रासायनिक सूत्र गंगामा बग्ने पानीमा मात्रै होइन, अपितु यमुना, त्रिशुली, कर्णाली, त्रिवेणी, नारायणी, अमेजन (दक्षिण अमेरिकाको नदी), नाइल, मिसिसिपी मिसौरी (उत्तर अमेरिकाको नदी) लगायत विश्वका सबै नदीहरुमा प्रवाह हुने जलमा यिनै अणुहरु विद्यमान छन् अर्थात् दुई अणु हाइड्रोजन अनि एक अणु अक्सिजन । तपाइँको एक अंजुली पानी, अंखरामा भरिएको पानी, प्लास्टिक वा धातुको बाल्टीमा राखिएको पानी, छतको टंकीमा रहेको पानी, तिनाउ नदीको पानी, रारा ताल वा फेवा तालको पानी, डेभिस फलको पानी, नुवाकोटको तादी झरना, रोल्पाको बहेद झरना, झापाको फुल्के झरना, इलामको शर्राै झरना, धनगढीको घोडेपानी झरना, चितवनको जलविरे झरना आदिको पानी सबैमा उही अणुहरु विद्यमान छन् ।

    सबैको अस्तित्वका लागि जलतत्व अपरिहार्य छ । ठिक यसैगरी सम्पूर्ण मानवहरु, जलचर, थलचर, नभचर, अण्डज आदिमा एउटै तत्व छ–परमात्मा तत्व । यो तत्व बिना मानिस होस् वा कुनै पनि प्राणी, उसको बल, बुद्धि, सामर्थ्य आदिले काम गर्दैन । पंचभौतिक शरीर प्राण बिना शव हुन्छ, त्यसैगरी परमात्मा तत्व बिना जीवमा प्राणको उपस्थिति र वा प्राण सञ्चार सम्भव छैन । बागमती नदीको एक थोपा जलमा पनि उही तत्व दुई अणु हाइड्रोजन र एक अणु अक्सिजन र प्रशान्त महासागरको एक थोपामा पनि उही अणुहरु विद्यमान छन् । यसैगरी विषाणु, जीवाणु, कमिला, हाथी, ह्वेल माछा, चरा, सर्प, मानव आदिमा पनि एउटै तत्व छ परमात्मा तत्व । महासागर (विशाल) को सम्पूर्ण जलराशि र तिलोत्तमा (सानो) नदीको जलराशिमा उनै अणुहरु विद्यमान छन् । परमात्मा तत्व र आत्मातत्व एउटै हुन् ।

    महासागरझैँ परमात्मा तत्व विराट् स्वरुपमा, तिलोत्तमा नदीझैँ आत्मा सूक्ष्म स्वरुपमा । यी दुईमा तात्विक भिन्नता कत्ति पनि छैन । मभित्र, प्रम केपी ओलीभित्र, डोनाल्ड ट्रम्पभित्र उही सूक्ष्म आत्मातत्व नै विद्यमान छ । म मेरो कर्मले गर्दा यो रुप र सामान्य कार्यमा छु, केपी ओली उनको कर्मले गर्दा त्यो रुप र पदमा छन्, डोनाल्ड ट्रम्प आफ्नै कर्मले गर्दा त्यो रुप र पदमा छन् । यसले के प्रमाणित गर्दछ भने खर्बाैँको धनसम्पत्ति, हीरा, मोती, सुनचाँदी, उच्च पद र मानसम्मान आदि जस्ता केही कुराको अर्थ छैन । यी सबै त छोडेरै जानुपर्छ । अर्थ छ, महत्त्व छ त केवल कर्मको । अगोचर यात्राका क्रममा यही कर्म हामीसँगै जान्छ ।

    जहाँ, जहिलेसम्म र जसरी रहेता पनि हामी मानवले आफ्नो स्वरुप (आत्मा स्वरुप) लाई बिर्सनु हुँदैन । ज्वरो र दुखाईमा प्रयोग गरिने सिटामोललाई कसैले पारासिटामोल (UK, India, Australia, Nepal) भनेर चिन्छन् कसैले एसिटामिनोफेन (United States, Canada) भनेर चिन्छन् । क्रोसिन भन्ने औषधि भित्र पनि उही सिटामोल छ, कालपोल ट्याबलेटमा पनि उही सिटामोल (एसिटामिनोफेन) छ । ट्रेड नेम जे भए तापनि कम्पोजिशन एउटै भने जस्तै मानिस वा प्राणीको जुन रुप भए पनि, जुनसुकै नाम भए पनि, जुनसुकै देश र समाजमा भए पनि ऊभित्रको तत्व त एउटै हो । यही तथ्यलाई जस्ताको तस्तै बुझ्नु सनातन धर्म हो ।

    माथि उल्लेखित तथ्य मेरो बुझाइमा आधारित छ अब बाबा प्रेमानन्दका अनुसार, सनातन धर्म
    कुनै एउटा निश्चित संस्थागत धर्म वा परम्परा मात्र होइन, सनातन धर्म सम्पूर्ण मानव जातिका लागि जीवन जीउने मार्ग हो। सनातन धर्म अनादि र अनन्त छ, जसको न कुनै शुरुवात छ न कुनै अन्त। यसका मूल तत्वहरू प्राकृतिक नियम, आध्यात्मिक अभ्यास, तथा मानव जीवनको उद्देश्यबारे स्पष्ट दृष्टिकोणमा आधारित छन्।

    उनका दृष्टिमा, सनातन धर्मका प्रमुख विशेषताहरू यस्ता छन्

    वसुधैव कुटुम्बकम् : सम्पूर्ण संसारलाई एउटा परिवारको रूपमा स्वीकार गर्नु।
    धर्म, अर्थ, काम, मोक्ष : जीवनका चार प्रमुख उद्देश्यलाई आत्मसात् गर्नु।
    अहिंसा र सत्य : जीवनको मूलभूत आधारको रूपमा अहिंसा र सत्यको पालन गर्नु। जुन कुरा कहिल्यै परिवर्तन हुँदैन, त्यो नै सत्य हो । जस्तै आत्मा र परमात्मा ।
    प्रकृतिसँग समरसता : प्रकृतिलाई देवत्वको रूपमा सम्मान गर्दै, यसको संरक्षण र सह–अस्तित्वमा विश्वास गर्नु।
    आध्यात्मिकता र ध्यान : आफ्नो सम्पूर्ण चिन्तनलाई एउटै कुरा (परमात्मा तत्व) अथवा आफ्नो स्वरुप (आत्मा तत्व) मा केन्द्रित गर्नुनै ध्यान हो ।आत्माको शुद्धि र परमात्मासँगको सम्बन्धलाई प्रगाढ बनाउन ध्यान, योग, तथा भक्ति मार्गलाई अपनाउनु।

    बाबा प्रेमानन्दले जोड दिएर भनेका छन् कि सनातन धर्म कुनै धर्मान्तरणमा विश्वास गर्दैन, बरु यो मानिसलाई आफ्नै मूलतत्व (परमात्मा, राधाकृष्ण) सँग जोड्ने माध्यम हो। उनका अनुसार, यो धर्मले सहिष्णुता, सार्वभौम प्रेम, र मानिसको आत्मविकासको मार्ग देखाउँछ।

    प्रकाशित : शुक्रबार, ४ माघ २०८१ , ०३:०६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend