logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

“यो कल्याणको बजार हो” — प्रेमानन्द महाराजको आध्यात्मिक सन्देशले आकर्षित हुँदैछन् लाखौँ भक्त

“यो कल्याणको बजार हो” — प्रेमानन्द महाराजको आध्यात्मिक सन्देशले आकर्षित हुँदैछन् लाखौँ भक्त

प्रेमानन्द महाराजका प्रवचनहरूमा बारम्बार दोहोरिने वाक्य


  • बिहिबार, जेष्ठ ७ २०८३
  • 611
    SHARES

    राधाचाकर राजु, बुटवल  ।

    वृन्दावनका प्रसिद्ध आध्यात्मिक गुरु श्री हित प्रेमानन्द महाराज पछिल्ला वर्षहरूमा केवल भारतमै होइन, नेपालसहित विश्वभरका सनातन धर्मावलम्बीहरूमाझ तीव्र रूपमा चर्चित बन्दै गएका छन्।

    गम्भीर मिर्गौला रोगका कारण स्वास्थ्य कमजोर रहे पनि उहाँका प्रवचन, भक्ति सन्देश तथा आध्यात्मिक चेतनाले लाखौँ मानिसलाई प्रभावित गरिरहेको देखिन्छ।

    हाल उहाँ नियमित डाइलायसिस प्रक्रियामा रहेको बताइए पनि भक्तजनहरूका अनुसार उहाँको आध्यात्मिक ऊर्जा र प्रवचनको प्रभाव झन् गहिरो हुँदै गएको अनुभूति भइरहेको छ।

    प्रेमानन्द महाराजका प्रवचनहरूमा बारम्बार दोहोरिने एउटा वाक्य अहिले सामाजिक सञ्जालमा अत्यन्त चर्चित बनेको छस्

    “मैं प्रतिदिन कोई न कोई संकेत देता हूँ।” (“म हरेक दिन कुनै न कुनै संकेत दिन्छु”)

    उहाँका अनुयायीहरू यसलाई केवल शब्द होइन, आध्यात्मिक चेतावनी र जागरणको सन्देशका रूपमा व्याख्या गर्छन्।

    महाराजले मानव जीवन केवल भौतिक उपलब्धिको यात्रा नभई चेतनाको जागरणको अवसर भएको बताउने गरेका छन्। उहाँका अनुसार संसारमा बढ्दो अशान्ति, मानसिक तनाव, सम्बन्ध विच्छेद, लोभ र अहंकारले मानिसलाई आत्मिक रूपमा कमजोर बनाइरहेको छ।

    “यो कल्याणको बजार हो”

    महाराजको अर्को चर्चित अभिव्यक्ति हो “यह कल्याण का बाजार है।” यसको अर्थ व्याख्या गर्दै उहाँले बारम्बार भन्ने गर्नुहुन्छ कि भगवानको नाम, सत्संग,
    भक्ति, सेवा, तथा साधना मानव जीवनलाई रूपान्तरण गर्ने माध्यम हुन्।

    उहाँका अनुसार संसारले मानिसलाई उपभोग सिकायो, तर भक्ति मार्गले आत्मिक शान्ति र कल्याण दिन्छ।

    धेरै भक्तजनहरू भन्छन् कि प्रेमानन्द महाराजको प्रवचन सुन्दा केवल ज्ञान मात्र होइन, “अन्तर्मनमा स्पर्श भएको अनुभूति” हुने गर्छ।

    “साधक वा जीवात्मा बोलिरहेको छैन, मभित्र अरू कोही बोलिरहेको छ”

    महाराजले एक प्रवचनमा भनेका थिए “साधक या जीवात्मा नहीं बोल रहा, कोई और मुझसे बुलवा रहा है।”

    भक्तजनहरूले यसलाई ईश्वरीय प्रेरणा वा दैवी चेतनाको अभिव्यक्ति मान्ने गरेका छन्। आध्यात्मिक विश्लेषकहरूका अनुसार भारतीय सनातन परम्परामा धेरै सन्तहरूले आफूलाई “माध्यम” का रूपमा प्रस्तुत गरेका उदाहरण पाइन्छन्। अर्थात् उनीहरू आफ्नो वाणीलाई व्यक्तिगत अहंकारभन्दा माथिको चेतनासँग जोडिएको मान्छन्।

    “मोक्षको आँधी आउँदैछ, तयार होऊ”

    प्रेमानन्द महाराजको अर्को अत्यन्त चर्चित सन्देश हो “यह मोक्ष का तूफान है, तैयार हो जाओ।” उहाँका अनुसार वर्तमान समय केवल भौतिक प्रगतिको युग होइन, आध्यात्मिक परिवर्तनको पनि समय हो।

    उहाँले युवापुस्तालाई मोबाइल र सामाजिक सञ्जालको लतबाट बाहिर निस्कन, राधाकृष्ण नामजप गर्न, परिवारसँग जोडिन, सनातन संस्कृतिलाई बुझ्न, तथा जीवनलाई ईश्वरकेन्द्रित बनाउन आह्वान गर्ने गरेका छन्।

    स्वास्थ्य कमजोर, तर आध्यात्मिक प्रभाव अझ गहिरो

    यद्यपि स्वास्थ्यका कारण उहाँको प्रसिद्ध वृन्दावन पदयात्रा केही समयका लागि रोकिएको समाचार सार्वजनिक भएको थियो, भक्तजनहरू भने उहाँको आध्यात्मिक प्रभाव अझ बढिरहेको विश्वास गर्छन्।

    कतिपय भक्तहरू भन्छन् “उहाँ शरीरले कमजोर देखिनुहुन्छ, तर वाणी र चेतनाले लाखौँलाई उठाइरहनुभएको छ।”

    युवापुस्तामाझ लोकप्रिय

    विशेषगरी आजको तनावपूर्ण जीवन, मानसिक अस्थिरता र सम्बन्ध संकटका बीच प्रेमानन्द महाराजका सन्देशहरूले युवापुस्तालाई आकर्षित गरिरहेको देखिन्छ। उनका प्रवचनहरूमा सरल भाषा,भक्ति,मनोवैज्ञानिक सान्त्वना,नैतिक जीवन,तथा राधाकृष्णप्रतिको प्रेमलाई केन्द्रमा राखिएको हुन्छ।

    विश्लेषकहरूका अनुसार आधुनिक युगमा जहाँ मानिसहरू बाह्य सफलताबीच पनि मानसिक रूपमा खालीपन अनुभव गरिरहेका छन्, त्यहाँ प्रेमानन्द महाराजजस्ता आध्यात्मिक व्यक्तित्वहरूले “अन्तर्मनको सहारा” प्रदान गरिरहेको अनुभूति धेरैमा देखिन्छ।

    प्रकाशित : बिहिबार, ७ जेष्ठ २०८३ , ०५:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend