पहिलो श्लोकमा अर्जुनले कर्मयोग र संन्यासयोगबीच स्पष्ट निर्णय मागेका थिए। त्यसको उत्तरमा भगवान् श्रीकृष्णले जीवनको अत्यन्त गहिरो दर्शन प्रस्तुत गर्न थाल्नुहुन्छ—कि बाहिरी त्यागभन्दा भित्री समता र कर्मयोग नै श्रेष्ठ हो।
यो श्लोकले “त्याग” र “कर्म” बीचको वास्तविक सन्तुलन स्पष्ट पार्छ।
श्लोक ५.२
श्रीभगवानुवाच
संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते॥
भावार्थ
भगवान् श्रीकृष्णले भन्नुभयो संन्यास (कर्मत्याग) र कर्मयोग दुवै मोक्ष दिने मार्ग हुन्। तर यी दुईमध्ये कर्मसंन्यास (केवल त्याग) भन्दा कर्मयोग श्रेष्ठ हो।
थप व्याख्या
यस श्लोकमा भगवान् कृष्णले अत्यन्त स्पष्ट सन्देश दिनुहुन्छ ः केवल कर्म छोड्नु मात्र मोक्ष होइन कर्मलाई सही भावले गर्नु नै वास्तविक योग हो । संन्यासको अर्थ केवल बाहिरी रूपमा सबै कुरा त्याग्नु होइन। यदि मनभित्र इच्छा, मोह र अहंकार बाँकी छ भने त्यो त्याग अधुरो हुन्छ।
अर्कोतर्फ कर्मयोग भनेको कर्म गर्नु तर फलको आसक्ति नराख्नु र ईश्वरप्रति समर्पण भाव राख्नु हो ।
कृष्ण यहाँ भन्छन् “भागेर होइन, जिम्मेवारी निभाएर पनि मुक्ति सम्भव छ।”
युवावर्गका लागि विशेष सन्देश
आजको जीवनमा धेरै युवाहरु (जीवात्माहरु) तनाव देखेर काम छोड्न चाहन्छन् जिम्मेवारीबाट भाग्न खोज्छन् वा “सबै त्यागिदिन्छु” वा “आत्माहत्या गर्छु” भन्ने सोच राख्छन् । यो श्लोकले स्पष्ट गर्छ भाग्नु समाधान होइन, सही भावले कर्म गर्नु समाधान हो।
जीवन–सन्देश : साँचो आध्यात्मिकता जीवनबाट टाढा जानु होइन, जीवनभित्रै सही दृष्टिकोण विकास गर्नु हो।
कर्मयोगले सिकाउँछ— कामलाई पूजा बनाऊ, जिम्मेवारीलाई साधना बनाऊ र अहंकारलाई त्याग । तन र धन संसारमा लगाऊ मन भगवानमा ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
