logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सनातन धर्म: हाम्रो मौलिक पहिचान र यसको महत्त्व

सनातन धर्म: हाम्रो मौलिक पहिचान र यसको महत्त्व


  • बुधबार, पुष १७ २०८१
  • 1.5K
    SHARES

    तिलोत्तमाको शंकरनगर स्थित न्यू लाइट सार्वजनिक शैक्षिक गुठीमा अध्यापनरतताकाको कुरा हो । घण्टी पूरा भएपछि म कक्षाकोठादेखि बाहिरिएर सिढीबाट तल झर्दै थिएँ । सम्माननीय डिल्लीनारायण पाण्डेय ज्यू आफ्नो विषयको घण्टीमा विद्यार्थीसामु सेवामा उपस्थित हुनलाई सिढी उक्लिसक्नुभएको थियो । यसै दौरान हाम्रो भेट हुन्छ । डिल्लीनारायण सरले तत्क्षण केही कुरालाई ख्यालमा राख्दै मसित प्रश्न सोध्ने विचार गर्नुभएछ । उहाँले शालीनतापूर्वक प्रश्न सोध्नु भयो—‘‘तपाइँले कुन धर्म मान्नुहुन्छ सर ?’’ मैले उहाँको प्रश्नको जवाफमा निवेदन गरेको थिएँ—‘‘सनातन धर्मलाई मान्छु ।’’ यस बारे थप विचारविमर्श वा कुराकानि गर्न तत्कालको परिस्थितिले समर्थन दिएको थिएन, किनकि हामीले आआफ्नो कक्षा कोठामा प्रवेश गर्नु थियो । उहाँ अगाडि बढ्नुभयो म पनि तलतिर झरेँ ।


    “हामी सबैलाई थाहा छ, जनगणना हाम्रो देशमा प्रत्येक दश वर्षमा हुन्छ।’’ त्यसका लागि प्रश्नावली तयार पारिएको हुन्छ जसमा हिन्दू, बौद्ध, सिख, इस्लाम, क्रिस्चियन, जैन, किराँत आदिलाई धर्म भनी उल्लेख गरिन्छ, परन्तु ‘सनातन धर्म’ को उल्लेख प्रश्नावलीभरी कतै छैन । त्यसैले मैले धर्म के हो भन्ने प्रश्नमा ‘अन्य’ भन्ने विकल्पलाई रोजेको हुन्छु । समय परिवर्तनशील छ । परिवर्तन समयको धर्म हो । यसले कसैको हानि गर्दैन अपितु सम्पूर्ण प्राणीहरूको हितका लागि अपरिहार्यताको प्रतिनिधित्व गर्दछ । मानिसको सोच भने अखण्डित रहन सकेन । यतिसम्म परिवर्तन भयो कि उसले स्वयंलाई सर्वेसर्वा मान्न थाल्यो । उसले क्षयीय मनुष्यत्वभाव र कालको प्रभावलाई बिर्सिएर आफूलाई कालभन्दा माथिको अजर अमर ठान्न थाल्यो । ऊ सनातन हो भन्ने कुरा उसले बिर्सिसक्यो । हाड, मासु, रगतले निर्मित उसको देह छुट्छ एकदिन भन्ने यथार्थसम्मलाई उपेक्षा गरिदियो । सनातनरुपी किलामा आफूलाई बाँधेर राख्न सकेको भए सम्भवतः यस्तो अहितकर परिवर्तन आउने थिएन । जे खाए नि हुन्छ, जे गरे नि हुन्छ । आफ्नो इच्छाको मालिक म आफैँ हो । मलाई मन पर्ने निर्णय लिन म स्वतन्त्र छु । मभन्दा माथि कोही छैन भन्ने खालको बुझाइले आज मानिस पतनको बाटोमा अग्रसर छ ।


    मानिस वास्तविक रुपमा सनातनी हो । उसको धर्म सनातन धर्म हो । हिन्दू, इस्लाम, बौद्ध, क्रिस्चियन आदि सबै मानव सिर्जित कुनै न कुनै मान्यतामा टिकेका सम्प्रदाय हुन् जसले तात्विक पहिचानलाईभन्दा सतही परिचयलाई प्राथमिकता दिन्छ । स्त्रीभाव वा पुरुषभाव पैदा गर्ने यो देहभित्र एउटा शुद्ध चेतना छ । यसलाई अखण्ड ज्योति, आत्मा, सच्चिदानन्द पनि भनिन्छ । यो न त स्त्री हो, न पुरुष । यसको आफ्नै मौलिक गुणविशेषताहरू छन् जसलाई सनातन धर्म भनेर चिन्नु पर्दछ । यी गुणविशेषताहरुको रचयिता स्वयं परमात्मा हुन् । देश, काल, भाषा, रुप, रंग, संस्कृति फरक हुनसक्छ तर तात्विक स्वरुप सबैको एउटै हो । त्यसैले सनातन धर्मका पारखी हाम्रा पुर्खाहरुले भनेका छन् ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सारा पृथ्वी एउटै परिवार हो ।


    सनातन धर्म अन्तर्गत सत्य, तपस्या, शौच (आचरण, खानपान, व्यवहार शुद्ध राख्ने काम), पवित्रता, तितीक्षा (सहिष्णुता), जगतमंगल, नाम जप, निरन्तर भगवत चिन्तन, सबैमा भगवत भावना, भगवत आश्रय, प्रेम, शान्ति, ईश्वरप्रति आभार भाव, विश्वास, सेवा आदि पर्दछन् । रसेन्द्रिय (स्वाद भोग गर्ने जिब्रो), जननेन्द्रिय (यौनाङ्ग) आदिको जथाभावी प्रयोग भइरहेको छ । सम्पत्ति, सम्मान र पद, आफन्तजन कसैले पनि निरन्तर निर्वाध रुपमा साथ दिन सक्दैनन् । जसले साथ छोड्दैन उही कृष्ण (परब्रह्म परमात्मा) हो । सनातन धर्मले युक्त बन्नु नै कृष्णमय स्थितिमा पुग्ने साधन हो । शुद्ध चेतना हाम्रो मौलिक स्वरुप हो । आफ्नो मूल स्वरुप अर्थात् सनातन धर्मलाई नत्यागौँ ।


    सन्त प्रेमानन्द भन्नुहुन्छ, ‘‘सनातनको एउटा मात्रै लक्षण हामी भित्र स्थापित भयो भने पनि हामी भित्र सबै सनातन आउँछ । मैले आफूलाई सनातन धर्ममा स्थित राख्छु, तिमीले आफूलाई सनातन धर्ममा स्थित राख, सबै (मानवजाति) सनातन धर्ममा स्थित बनौँ । विश्व सनातनमय हुन्छ । सनातन धर्मको रक्षा स्वयं परमात्माले गर्नुहुन्छ । सनातनको ठेकेदार हुने योग्यता हामीमा छैन ।’’ सन्त प्रेमानन्दजीले बताएअनुसार सनातन धर्मको रक्षाको नाममा हत्या, हिंसा, द्वेष, झगडा गर्नेहरु सबै नरकगामी हुन् ।

    ‘राधाचाकर’ राजू

    प्रकाशित : बुधबार, १७ पुष २०८१ , ०९:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend