logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार उडान तथा अवतरण प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार उडान तथा अवतरण प्रभावित

एयर इन्डियाका दुईवटा अन्तर्राष्ट्रिय उडान न्यूनतम भिजिबिलिटी नपुगेका कारण काठमाडौंमा अवतरण गर्न नसकी डाइभर्ट गरिए


  • बुधबार, माघ १४ २०८२
  • 1.2K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार उडान तथा अवतरण प्रभावित भएका छन्। भिजिबिलिटी घटेपछि केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा अन्तर्राष्ट्रिय उडान न्यूनतम भिजिबिलिटी नपुगेका कारण काठमाडौंमा अवतरण गर्न नसकी डाइभर्ट गरिएका हुन्। उनका अनुसार ती जहाजलाई सुरक्षित अवतरणका लागि आवश्यक पर्ने भिजिबिलिटी उपलब्ध नभएपछि वैकल्पिक विमानस्थलतर्फ मोडिएको हो।

    यस्तै, चीनबाट काठमाडौं आएको चाइना साउदर्न एयरलाइन्सको विमान र कतारको दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइड बडी विमानलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो। निगमको जहाज झन्डै आधा घण्टाभन्दा बढी समय होल्डमा बसेपछि मात्र अवतरणको अनुमति पाएको थियो।

    निमित्त महाप्रबन्धक सिटौलाका अनुसार केही जहाजलाई अवतरणका लागि कम्तीमा २२०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा उक्त समयमा विमानस्थल क्षेत्रमा भिजिबिलिटी २००० मिटरमा झरेको थियो, जसका कारण अवतरणमा समस्या आएको हो। विशेषगरी एयर इन्डियाका जहाजहरूलाई बढी भिजिबिलिटी आवश्यक पर्ने भएकाले ती उडानहरू डाइभर्ट गर्नुपरेको उनले स्पष्ट पारे।

    विमानस्थल कार्यालयका अनुसार अहिले मौसममा क्रमिक सुधार आएको छ र भिजिबिलिटी बढेर करिब २५०० मिटर पुगेको छ। भिजिबिलिटीमा सुधार भएसँगै होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानहरू अवतरण हुन थालेका छन्।

    खराब मौसमको प्रभाव आन्तरिक उडानहरूमा पनि परेको थियो। केही समयका लागि आन्तरिक उडान तथा अवतरण रोकिए पनि मौसममा सुधार आएपछि ती उडानहरू क्रमशः सञ्चालनमा आएको विमानस्थलले जनाएको छ।

    प्रकाशित : बुधबार, १४ माघ २०८२ , १२:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend