logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

विश्वकपमा स्पेनको आज क्याप भर्डेसँग प्रतिस्पर्धा, यामाल पूर्ण फिट

विश्वकपमा स्पेनको आज क्याप भर्डेसँग प्रतिस्पर्धा, यामाल पूर्ण फिट


  • सोमबार, असार १ २०८३
  • 650
    SHARES

    एटलान्टा । विश्व फुटबलको शक्तिशाली टोली स्पेनले विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा सोमबार डेब्यु टोली क्याप भर्डेविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज राति ९:४५ बजे सुरु हुनेछ।

    स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले युवा स्टार लमिन यामाल खेलका लागि पूर्ण रूपमा फिट रहेको पुष्टि गरेका छन्। ह्यामस्ट्रिङ चोटका कारण २०२५–२६ सिजनको अन्त्यतिरका केही खेल गुमाएका यामाल टोलीमा फर्किएपछि स्पेनलाई थप बल मिलेको छ।

    प्रशिक्षक दे ला फुएन्तेका अनुसार बार्सिलोनाका विंगर यामाल र अर्का विंगर निको विलियम्स दुवै चोटमुक्त भइसकेका छन्। यद्यपि उनीहरूलाई सावधानीपूर्वक प्रयोग गरिने भएकाले पूरा ९० मिनेट मैदानमा नराखिने सम्भावना रहेको छ।

    ‘लमिन पूर्ण रूपमा ठीक छन्। उनी हामीले अपेक्षा गरेकै अवस्थामा छन्। उनले केही मिनेट खेल्नेछन्, तर पूरा खेल भने होइन,’ दे ला फुएन्तेले बताएका छन्।

    स्पेनले मिडफिल्डमा रोद्री, पेद्री र फाबियन रुइजलाई प्रमुख आधारका रूपमा उतार्ने तयारी गरेको छ। आक्रमण पंक्तिमा फेरान टोरेस, मिकल ओयार्जाबाल र एलेक्स बाएना सुरुआती रोजाइमा पर्ने अपेक्षा गरिएको छ।

    यता, पहिलो पटक विश्वकपमा स्थान बनाएर इतिहास रचेको क्याप भर्डे पनि उच्च मनोबलमा मैदान उत्रने तयारीमा छ। प्रशिक्षक बुबिस्टाको नेतृत्वमा रहेको टोलीले पछिल्ला तीन अन्तर्राष्ट्रिय खेलमा लगातार जित हासिल गरेको छ। कप्तान रायन मेन्डेस र आक्रमणकारी डेलोन लिभ्रामेन्टो टोलीका मुख्य आशा मानिएका छन्।

    फिफा विश्व वरियतामा दोस्रो स्थानमा रहेको स्पेन समूह ‘एच’ को सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ। यद्यपि पछिल्ला विश्वकप संस्करणहरूमा स्पेनले अपेक्षाअनुरूप निरन्तर प्रदर्शन गर्न नसकेकाले यसपटक बलियो सुरुआत गर्ने लक्ष्य राखेको छ।

    समूह ‘एच’ मा स्पेन, क्याप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेका छन्। क्याप भर्डेविरुद्धको खेल स्पेनका लागि प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुआत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

    प्रकाशित : सोमबार, १ असार २०८३ , ०२:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend