लोकसारथि संवाददाता, काठमाडौं ।
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित गोदावरी मोडर्न टिचिङ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि आक्रोशित परिवारजनले ०८२ माघ १५ गते बिहान अस्पताल परिसरमा तोडफोड गरेका छन्।
मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीया निर्मला देवी यादव रहेको अस्पताल प्रशासनले जनाएको छ। यादवलाई माघ १४ गते पाठेघरको समस्याका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। शल्यक्रियाको तयारीका क्रममा एनस्थेसियाको इन्जेक्सन लगाइएको केही मिनेटमै उनको मृत्यु भएको परिवारजनको दाबी छ।
चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै परिवारजनले अस्पताल परिसरमा चर्को विरोध प्रदर्शन गर्दै तोडफोड गरेका थिए। तोडफोडबाट करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको अस्पतालका म्यानेजर सुशील शाहले जानकारी दिनुभयो।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी परिचालन गरिएको डीएसपी गणेश बमले जानकारी दिनुभयो। प्रहरीको हस्तक्षेपपछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ।
सोही दिन अस्पताल प्रशासन र मृतकका परिवारजनबीच पोस्टमार्टम प्रतिवेदनको आधारमा आवश्यक कानुनी प्रक्रियामा जाने सहमति भएको अस्पताल प्रशासनले जनाएको छ। मृतक यादवको शवको पोस्टमार्टम ०८२ माघ १६ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
