logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘मेरो मन’

‘मेरो मन’


  • बिहिबार, पुष १८ २०८१
  • 1.6K
    SHARES

    मेरो मन

    सधैँ गुन्गुनाउँथ्यो
    सधैँ भुन्भुनाउँथ्यो
    कहिले त आत्तिएर
    हुन्हुनाउँथ्यो पनि ।

    छन्द मिल्यो भने
    म स्वयं छन्दोवद्ध कविता हुन्थेँ
    कहिले अनुष्टुप हुन्थेँ
    छिटो दगुर्थेँ
    कहिले शिखरिणी हुँदै
    अलि ढिलो दगुर्थेँ
    मन्दाक्रान्ता हुन्थेँ मेसो मिल्यो भने
    जीवनको छन्द नमिलेको बेला
    म स्वच्छन्द कविता हुन्थेँ ।

    न कविताको फेँद हुन्थ्यो
    न टुप्पो भेटिन्थ्यो
    न बोक्रा न गुदी, न बिउ न विधि
    तान्दा तान्दा जीवनरेखा
    कहिले कथा बन्थेँ, उपन्यास बन्थेँ ।

    फेरि म किराना पसल बन्थेँ
    जिरा हुन्थ्यो ममा
    मेथी हुन्थ्यो मुग्रिलो हुन्थ्यो
    खुर्सानी, मरिच र टिमुर हुन्थ्यो
    सबै हुन्थ्यो तर खोजेको कुरा हुन्नथ्यो
    जीवनमा कुनै रोजेको कुरा हुन्नथ्यो ।

    वेग थियो आवेग थियो
    राग थियो बैराग थियो
    तर
    न कतै साख थियो
    न कसैको चाख थियो
    न इनाम, न बेइनाम
    न आलोचना न समालोचना
    थोत्रो मोटर जस्तो
    तर पनि अभिमान थियो
    त्यस्तो थिएँ म ।

    अहिले
    मैले मलाई चिनेँ
    कम्तिमा म मै हूँ
    न म अरु हूँ
    न अरु कोही म हुन् ।

    अक्कल र सक्कल
    मिल्दैन, दुर्लभ छ
    दुर्लभै दुर्लभको रासमा
    एउटा बेग्लै दुर्लभ भेटियो भने
    ऊ मै हो
    म उही हो ।
    यो थाहा पाएँ ।

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०७:५७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend