logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

अमेरिकामा आयोजित ओस्कार समारोहमा धर्मेन्द्रको नामसमेत नलिइएको भन्दै हेमा मालिनीको आपत्ति

अमेरिकामा आयोजित ओस्कार समारोहमा धर्मेन्द्रको नामसमेत नलिइएको भन्दै हेमा मालिनीको आपत्ति

अमेरिकामा आयोजित ९८औँ एकेडेमी अवार्ड (ओस्कार) समारोहमा विश्वभरका कलाकारलाई सम्मान गरिएको छ


  • मंगलबार, चैत्र ३ २०८२
  • 1.2K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    अमेरिकामा आयोजित ९८औँ एकेडेमी अवार्ड (ओस्कार) समारोहमा विश्वभरका कलाकारलाई सम्मान गरिएको छ। कार्यक्रममा ‘इन मेमोरियम’ नामक विशेष खण्ड पनि राखिएको थियो, जसमा गत वर्ष निधन भएका कलाकार, फिल्म निर्माता तथा प्राविधिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। तर भारतीय चर्चित अभिनेता धर्मेन्द्रको नाम उल्लेख नगरिएको भन्दै अभिनेत्री हेमा मालिनीले असन्तुष्टि व्यक्त गरेकी छन्।

    समारोहमा रोबर्ट रेडफोर्ड र रोब राइनरजस्ता धेरै अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वलाई सम्झना गरिएको भए पनि धर्मेन्द्रको नामसमेत नलिइएको भन्दै हेमा मालिनीले आपत्ति जनाएकी हुन्। उनका अनुसार यति ठूलो स्टारलाई यसरी बेवास्ता गर्नु उचित होइन।

    हालै एक अन्तर्वार्तामा बोल्दै उनले भनिन्, “यो अत्यन्त लज्जास्पद कुरा हो। संसारका धेरै स्थानमा मानिसहरूका लागि महत्वपूर्ण रहेका कलाकारलाई यसरी बेवास्ता गरिनु ठीक होइन। धर्मेन्द्रलाई विश्वभरका मानिसहरूले माया गर्छन् र चिन्छन्।”

    उनले धर्मेन्द्रले कहिल्यै पुरस्कारको पछि नलागेको पनि बताइन्। “उहाँलाई ओस्कारको आवश्यकता पनि थिएन। उहाँले यस्ता विषयमा कहिल्यै सोच्नुहुन्थेन। हामी दुवै आफ्नो कामबाट पाएको माया र देशबाट पाएको सम्मानमै सन्तुष्ट थियौँ,” उनले भनिन्।

    हेमा मालिनीले राम्रो काम गरे पनि कलाकारहरूले सधैँ सम्मान नपाउने उदाहरण पनि दिइन्। उनका अनुसार ‘लाल पत्थर’ र ‘मीरा’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरे पनि आफूलाई कुनै ठूलो पुरस्कार नपाएको अनुभव छ। “तर यसले खासै फरक पार्दैन,” उनले थपिन्।

    यस वर्षको ओस्कार समारोहमा ‘इन मेमोरियम’ खण्डलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो, जसमा केही महत्वपूर्ण व्यक्तित्वहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    उल्लेखनीय कुरा के छ भने हेमा मालिनीले आफ्नो फिल्मी करियरमा धेरै सफल चलचित्रहरूमा अभिनय गरेकी छन्। उनले धर्मेन्द्रसँग पनि धेरै फिल्ममा सँगै काम गरेकी छन्। एक समय यी दुईको जोडी हिन्दी फिल्म उद्योगमा अत्यन्त लोकप्रिय मानिन्थ्यो।

    प्रकाशित : मंगलबार, ३ चैत्र २०८२ , ०७:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend