logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

म धनी देखिन्न, तर म धनी छु (मनको)

म धनी देखिन्न, तर म धनी छु (मनको)


  • मंगलबार, फाल्गुन ६ २०८१
  • 2.6K
    SHARES

    धन, सम्पन्नता र सुखको परिभाषा के हो ? के महँगो गाडी, विशाल महल, अथाह बैंक ब्यालेन्स र विलासी जीवनशैली नै धनी हुनुको मापन हो त ? वा सन्तुष्ट मन, सन्तानको माया, परिवारको आत्मीयता र जीवनका साना(साना खुशीहरू असली सम्पत्ति हुन् ? म बाहिरी रूपमा धनी देखिन चाहन्न, तर म धनी छु—मनको धनी।

    मेरो परिचय त्यति विशिष्ट छैन, तर मेरो जीवनशैली र सोचाइले मलाई संसारकै धनी व्यक्ति बनाएको अनुभूति दिलाउँछ। म , ५० को दशकमा अर्घाखाँची जिल्लाको साविक वाङ्ला गा.वि.स.मा पिता इन्द्रमणि अधिकारी र माता सीता अधिकारीको कोखबाट एकमात्र सन्तानको रूपमा जन्मिएको हुँ। सानो, शान्त र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ मेरो पहिलो पाठशाला बन्यो।

    बाल्यकालको स्मृति अझै पनि मानसपटलमा ताजै छ। बिहान–बिहानै घाम नउगाउँदै आमाको मायालु स्वर, बाबाको अनुशासनयुक्त सल्लाह र गाउँले साथीसंगीहरूको हाँसो–ठट्टाले मेरो बाल्यकाल रङ्गिन थियो। मेरो प्रारम्भिक शिक्षा गाउँकै कमल नयन प्रा.वि.बाट सुरु भयो। त्यो बेला गाईवस्तुलाई घाँस काट्न गइने, नजिकैको खोल्सामा पौडी खेल्ने, र स्कुले झोलामा टिफिनको सट्टा आमाले दिएको गुन्द्रुकको अचारको स्वाद जीवनकै अनमोल सम्झना बनेका छन्।

    कक्षा ५ पछि श्री जीवनोद्धार मा.वि.बाट माध्यमिक तह पूरा गरें। सानैदेखि पढाइमा रुचि थियो। सँगै आमाबाबाको विश्वास, शिक्षकहरूको मार्गदर्शन र आत्मअनुशासनले गर्दा अपेक्षित नतिजा प्राप्त गरिरहेँ। विज्ञान संकायमा रुचि भएकाले सेन्ट जोसेफ इन्टरनेशनलबाट ं२ पूरा गरें। त्यसपछि अंग्रेजी विषय लिएर बुटवल बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरें। अंग्रेजी साहित्यले जीवनलाई गम्भीर रूपमा बुझ्न प्रेरित गर्‍यो। शेक्सपियरका नाटक, अर्नेष्ट हेमिङ्वेका कथाहरू र रवीन्द्रनाथ टैगोरका कविताहरूले मानव हृदयका सूक्ष्म भावनाहरू बुझ्न मदत गरे।

    औपचारिक शिक्षा समाप्त भएपछि सामान्य व्यवसायमा हात हालेँ। केही सर्टिफिकेट कोर्सहरू पूरा गरें। व्यापारमा फाइदा(नोक्सान दुवै भोगें। व्यापारिक सम्बन्धहरू बनाउने क्रममा समाज, मानिसको स्वभाव, र जीवनका कठोर यथार्थहरूसँग परिचित हुने अवसर पाएँ। सामान्य व्यवसाय भए पनि, जनसम्पर्क र सामाजिक सम्बन्धका क्षेत्रमा संलग्न हुँदै जाँदा जीवनका विविध आयामहरूसँग साक्षात्कार भयो। व्यवसायले पैसा कमाउने सीप सिकायो र परिवारले खुशी सँगाल्ने कला सिकाए। आजको म जसरी आत्मसन्तुष्ट छु, त्यसको जरो मेरो परिवार हो। म एक जिम्मेवार श्रीमान्, गर्विलो पिता र कर्तव्यनिष्ठ छोरा हुँ। मेरा लागि परिवारको हाँसो, स्नेह र सामूहिक समय संसारकै ठूलो सम्पत्ति हो।

    हाम्रो परिवारको दिनचर्या निकै सरल छ। बिहानै सबैजनासँग बसेर चिया पिउनु, दिनभरका योजना साटासाट गर्नु, र बेलुकी खाना खाने बेलामा दिनभरका अनुभव साझा गर्नु हाम्रो दिनचर्या हो। छोरिको चञ्चल हाँसो, श्रीमतीको मायालु गुनासो र आमाको आशीर्वादले हाम्रो घर एक वास्तविक मन्दिर बनेको छ ।आर्थिक रूपमा म सामान्य व्यक्ति हुँ। परिवारको दैनिक खर्च र आवश्यक औषधोपचार सहजै धान्न सक्छु। मेरो नाममा एक कटेज छ, जहाँ परिवारका साथ रमाउन सक्छु। ओहदा र महल होइन, सन्तोषको भावनाले मेरो मन धनी बनाएको छ।

    दुईपांग्रे सवारी साधनले मेरो यात्रा सहज बनाएको छ । महँगो गाडीको चाहना छैन। किनकि, मलाई थाहा छ—खुशी गाडीको ब्रान्डले होइन, सहयात्रीको माया र सम्बन्धको गहिराइले मापन हुन्छ । आज समाजमा पैसा कमाउने प्रतिस्पर्धा छ। मान्छेहरू विदेशिने होडमा छन्। म पनि विदेश जान सक्थेँ, तर परिवारको साथ छाड्न सकिनँ। पैसा कमाउने त हो, तर त्यसको मूल्यमा परिवारको स्नेह गुमाउनु मेरा लागि असम्भव थियो।

    मेरो साथी प्रकाश खनालको उदाहरण ताजै छ। उनका बुवाले उनको कहिल्यै विदेश नजाने निर्णयमा गुनासो गरे। “सबैजना विदेश गएर राम्रै कमाइरहेका छन्, तिमी किन गएनौ?” भन्ने प्रश्न बारम्बार गरियो। तर एकदिन अचानक बुवालाई मुटुको समस्या आयो। छोरा प्रकाश नेपालमै भएकोले तुरुन्तै अस्पताल पुर्‍याए, उपचार भयो, र जीवन जोगियो। आज बुवा सन्तुष्ट हुनुहुन्छ—छोरा विदेश नगएकोमा।

    धन भनेको मात्र नोटको गड्डी होइन। मेरो विचारमा धनी भनेको त्यो व्यक्ति हो, जो आफ्नो परिवारसँग हरेक दिन हाँस्न सक्छ, दुखसुख साट्न सक्छ र जीवनका साना साना क्षणहरूमा खुशी महसुस गर्न सक्छ।

    धेरैजसो साथीहरू युरोप, अमेरिका, अस्ट्रेलिया गएका छन्। उनीहरूको जीवनसँग तुलना गरें। उनीहरू आर्थिक रूपमा सम्पन्न छन्, तर अधिकांशलाई परिवारसँग बस्ने समय छैन। हरेक उत्सवमा भर्चुअल कलको सहारा लिनुपर्छ । त्यो वास्तबिक सम्पन्नता होइन ।
    संसारमा खुशीको मूल्य पैसाले किन्न सकिन्न। पैसा जीवनको साधन हो, लक्ष्य होइन। मेरो मन, मेरो परिवारको माया, र सँगै बिताएका अविस्मरणीय क्षणहरूले मलाई संसारकै धनी व्यक्ति बनाएको छ। म भौतिक रूपमा धनी देखिन चाहन्न, तर मन, सन्तुष्टि र आत्मीयताले भरिपूर्ण जीवन जिउँदैछु।

    प्रकाशित : मंगलबार, ६ फाल्गुन २०८१ , ०६:०४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend