logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

ट्रम्पले क्यानडा र मेक्सिकोमाथिको भन्सार महसुल अस्थायी रूपमा रोक्ने घोषणा

ट्रम्पले क्यानडा र मेक्सिकोमाथिको भन्सार महसुल अस्थायी रूपमा रोक्ने घोषणा


  • शुक्रबार, फाल्गुन २३ २०८१
  • 468
    SHARES

    वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोका सबै उत्पादनमाथि मंगलबारदेखि लागू हुने गरी घोषणा गरिएको २५ प्रतिशत भन्सार महसुल अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्। बिहीबार उनले अप्रिल २ सम्मका लागि भन्सार नलगाइने बताएका छन्।

    ट्रम्पले मंगलबार मध्यरातिदेखि क्यानडा र मेक्सिकोका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेका थिए। तर अमेरिकाभित्र व्यापक विरोध र सेयर बजारमा गिरावट आएपछि उनले पहिलो कार्यकालमा यी दुई देशसँग गरेको व्यापार सम्झौताअनुसार अस्थायी रूपमा महसुल स्थगन गरेका हुन्।

    व्यापार सम्झौता र अटो उद्योगको दबाब
    उनले मंगलबारदेखि लगाइएको २५ प्रतिशत भन्सार अधिकांश उत्पादनमा नलाग्ने ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको छ। गाडी उत्पादक कम्पनीहरूले पनि भन्सार लगाउने निर्णयको विरोध गरेपछि बुधबार ट्रम्पले अटो उद्योगलाई ३० दिनको राहत दिएका थिए। त्यसको भोलिपल्टै उनले फेरि त्रिदेशीय व्यापार सम्झौताअनुसार भन्सार महसुल स्थगित गरेका हुन्।

    यद्यपि, ट्रम्पले यो छोटो समयका लागि मात्रै रोकिएको बताउँदै अप्रिलदेखि पुनः भन्सार महसुल लगाउने चेतावनी दिएका छन्। निरन्तर भन्सार लगाउने र हटाउने ट्रम्पको निर्णयका कारण व्यापारीहरू अन्योलमा परेका छन्।

    क्यानडा र मेक्सिकोको जवाफी कदम
    ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सबै उत्पादनमा भन्सार लगाउने घोषणा गरेपछि ती देशहरूले पनि जबाफी प्रतिक्रिया दिएका थिए। चीन र क्यानडाले अमेरिकी उत्पादनमा भन्सार लगाइसकेका छन् भने मेक्सिकोले आइतबार जबाफी कदम घोषणा गर्ने तयारी गरिरहेको थियो।

    ट्रम्पको घोषणापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी उत्पादनमाथि झन्डै एक खर्ब डलर बराबरको भन्सार महसुल लगाउने योजना बनाएका थिए। क्यानडाले अमेरिकाबाट आयातित सामानहरूमा दुई चरणमा २५ प्रतिशत शुल्क लगाउने योजना सार्वजनिक गरेको थियो।

    तर ट्रम्पले बिहीबार आफ्नो निर्णय अस्थायी रूपमा फिर्ता लिएपछि क्यानडाले दोस्रो चरणको भन्सार लगाउने योजना रोकेको जनाएको छ।

    व्यापार युद्ध रोक्न गरिएको सहमति
    ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका छिर्ने अवैध आप्रवासी र लागुऔषध रोक्नुपर्ने माग गर्दै आएका छन्। अमेरिकी दबाबपछि मेक्सिकोले अवैध आप्रवासी तथा लागुऔषध तस्करी रोक्न १० हजार सैनिक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।

    यस्तै, अमेरिकाले पनि मेक्सिकोमा अमेरिकी शक्तिशाली हतियार जान नदिने सहमति जनाएको छ। क्यानडाले पनि अमेरिकी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

    एक महिनाअघि ट्रम्पले क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने धम्की दिएपछि विश्व बजार प्रभावित भएको थियो। अमेरिकाको सेयर बजारमा पनि गिरावट आएको थियो। लोकप्रियतामा असर पर्ने डरले अन्ततः ट्रम्पले भन्सार महसुल स्थगित गरेका हुन्।

    हालका लागि भन्सार महसुल रोकिए पनि अप्रिलपछि पुनः लागू हुने वा नहुने अन्योल कायमै रहेको छ।

    प्रकाशित : शुक्रबार, २३ फाल्गुन २०८१ , १२:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend