कपिलवस्तु, लोकसारथि संवाददाता – कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा गहुँबालीमा आगलागीका घटना बढ्दै गएका छन्। शनिबार यशोधरा गाउँपालिका–४ पोखरभिटवास्थित काट्न तयार अवस्थामा रहेको गहुँ खेतमा भएको आगलागीले २५ जना कृषकको लाखौँ मूल्य बराबरको गहुँबाली नष्ट भएको छ।
स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले आसपासका खेतमा समेत फैलिँदै ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। आगलागी कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो।
९ लाख ४२ हजार रुपैयाँको गहुँबाली जलेर नष्ट
बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाका अनुसार सो आगलागीबाट १८ घरधुरीको खेतमा गहुँबाली पूर्ण रूपमा जलेर नष्ट भएको छ। अनुमानित ९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीको यकिन कारण भने खुल्न सकेको छैन, तर यस प्रकारका घटनाहरूले किसानहरूमा चिन्ता र त्रास फैलाएको छ।
अर्को आगलागी कृष्णनगरमा, थप १ लाख ७१ हजारको क्षति
यसैबीच, कृष्णनगर नगरपालिका–७ अजिगरामा पनि अभिषेक चौधरीको खेतबाट सुरु भएको अर्को आगलागीमा ८ जनाको गहुँबाली जलेर नष्ट भएको छ। सो घटनाबाट १ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
लगातारका घटनाले किसान चिन्तित
कपिलवस्तुमा पछिल्ला केही दिनयता दिनहुँजसो गहुँ खेतमा आगलागी हुने क्रम बढेको छ। यस्ता घटनाले कृषकहरूको मेहनत, लगानी र आशामा पानी फेरिएको छ। सम्बन्धित निकायहरूले आगलागीको कारण यकिन गरी आवश्यक सुरक्षात्मक उपाय अपनाउनुपर्ने माग स्थानीयवासी र कृषकहरूबाट उठ्न थालेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
