लोकसारथि संवाददाता, काठमाडौं ।
खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीस्थित साप्सुखोलाबाट ६.६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन सुरु गरिएको छ। प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीद्वारा निर्माण गरिएको साप्सुखोला जलविद्युत् आयोजना २०७८ सालको पुस महिनादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
झण्डै १ अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाले चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडास्थित पावर हाउससम्म पानी ल्याएर ११० मिटरको पेनस्टक पाइपमार्फत प्रतिसेकेन्ड ७ हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गर्दै आएको छ।
तर आयोजनाले खोलामा न्यूनतम आवश्यक पानी नछाडी सम्पूर्ण बहाव ड्याममा मोडेको आरोप स्थानीयवासीले लगाएका छन्। जलविद्युत् सञ्चालनका क्रममा कम्तीमा दश प्रतिशत पानी खोलामै छाड्नुपर्ने कानुनी प्रावधान भए पनि कम्पनीले साप्सुखोला पूर्णरूपमा सुकाउने गरी जल दोहन गरेको स्थानीयको गुनासो छ।
स्थानीय कुमार बुढाथोकीले खोलामा पानी नछाडिएकाले खेतीपातीमा समस्या परेको बताउँदै भने, “खोलामा पानी सुकेर चैते धान रोप्नसमेत मुस्किल परेको छ। यसअघि प्रहरी कार्यालयमा गरिएको सम्झौतासमेत आयोजनाले पालना गरेको छैन।”
यस विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकेको स्थानीयको भनाइ छ। तर प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले भने आफूलाई हालसम्म औपचारिक जानकारी नआएको बताएका छन्। यद्यपि, रावाखोला जलविद्युत् आयोजनामा पनि यस्तै गुनासो आएपछि प्रजिअ घिमिरेले सम्बन्धित सञ्चालकलाई कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्न निर्देशन दिइसकेको जानकारी दिएका छन्।
साप्सुखोला असला माछाको प्रमुख स्रोत मानिने जलस्रोत हो। खोलामा पानी सुक्न थालेपछि चराचुरुङ्गीदेखि वन्यजन्तुसम्मलाई असर पुगेको स्थानीयले बताएका छन्।
यता, आयोजनाका प्रमुख प्रदीप दाहालले भने हिउँदको समयमा स्वाभाविक रूपमा खोलामा बहाव कम हुने भएकाले पानी घटेको र मापदण्डअनुसार नै दश प्रतिशत पानी छाडिएको दाबी गरेका छन्।
खोटाङ जिल्लाका दश स्थानीय तहहरूमध्ये हालसम्म तीन जलविद्युत् आयोजना – साप्सुखोला (६.६ मेगावाट), रावाखोला (३ मेगावाट) र मेवाखोला (१ मेगावाट) – राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका छन्। यद्यपि, खोलाको वातावरण र कृषिमा पारिरहेको असरलाई लिएर स्थानीयले उचित मापदण्ड पालनाको माग गरिरहेका छन्।