logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

राजनीतिसँगै कृषिमा पनि सक्रिय : उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रेरणादायी यात्रा

राजनीतिसँगै कृषिमा पनि सक्रिय : उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रेरणादायी यात्रा


  • शुक्रबार, जेष्ठ ९ २०८२
  • 1.5K
    SHARES

    – लोकसारथि संवाददाता, पर्वत ।

    राजनीतिक पदमा पुगेपछि धेरैले आफ्ना पुराना पेसा र व्यवसायलाई बिर्सने गरेका छन्। तर पर्वतको फलेवास नगरपालिका–१० की उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दासमेत आफ्नाे व्यावसायिक कृषिलाई निरन्तरता दिँदै उदाहरणीय कार्य गरिरहेकी छन्।

    क्षेत्रीले सात रोपनी जमिनमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएकी छन्। यो काँक्रा बीउ उत्पादनका लागि मात्रै प्रयोग गरिन्छ, उपभोगका लागि होइन। उनले हरेक वर्ष पाँचदेखि सात लाख रूपैयाँसम्मको काँक्राको बीउ बिक्री गर्दै आएकी छन्।

    दुई दशक लामो कृषिकर्मको अनुभव
    २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारी खेतीमा संलग्न रहेकी क्षेत्री तीन वर्षअघि २०७९ को स्थानीय निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी भइन्। जनप्रतिनिधिको व्यस्तताका कारण उनले गाईपालन रोक्दै व्यावसायिक काँक्राखेतीमा केन्द्रित हुने निर्णय गरिन्। यसअघि उनी दैनिक सय लिटरसम्म दूध बिक्री गर्थिन्।

    क्षेत्रीको कृषिकर्ममा श्रीमान् सोमबहादुर क्षेत्रीको पनि सक्रिय साथ रहेको छ। गत वर्षको तुलनामा यस वर्ष अनुकूल मौसमका कारण उत्पादन राम्रो भएको र आम्दानी पनि बढ्ने अपेक्षा रहेको उनले बताए।

    कृषिमा प्रेरणा बनेकी उपप्रमुख
    क्षेत्रीले काँक्राखेतीलाई निरन्तरता दिएपछि स्थानीय अन्य किसानहरू पनि व्यवसायिक बीउ उत्पादनतर्फ उन्मुख भएका छन्। कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छा क्षेत्रका किसानहरूले भक्तपुरे काँक्राको बीउ उत्पादन गर्दै वार्षिक करिब छ करोड रुपैयाँसम्मको कारोबार गर्न सफल भएका छन्।

    “हाम्रो परिवारले मात्रै सात लाखसम्मको बीउ बिक्री गर्छ, अरू किसानसमेत समावेश गर्दा यो बीउ करोडौँमा पुग्छ,” उपप्रमुख क्षेत्रीले बताइन्, “जनताको सेवासँगै कृषि पेसा पनि मेरो जीवनको अभिन्न हिस्सा हो।”

    कृषकको पक्षमा नीति निर्माण
    क्षेत्रीले आफू उपप्रमुख भएपछि फलेवास नगरपालिकाबाट किसानमुखी कार्यक्रमहरू ल्याउन सक्रिय भूमिका खेलेको बताइन्। कृषिसम्बन्धी आफ्नै अनुभवका कारण उनले नगरवासीका साझा समस्या बुझ्न सकेको र त्यसअनुरूप नीतिगत पहल गर्न सक्ने बताइन्।

    कृषिसँगको साइनो : होटल व्यवसायदेखि सहकारीसम्म
    क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालमा होटल व्यवसायबाट सुरू भएको थियो। त्यसैको क्रममा दूधको माग बढेपछि उनले गाईपालन सुरू गरिन्। २०७० सालमा चिर्दीमा चिसापानी दुग्ध सहकारी स्थापना गरी संस्थापक सचिवको भूमिकामा रहिन्। पाँच हजार रुपैयाँका दरले २० सेयर सदस्यबाट सुरू भएको सो सहकारी हाल सात सयभन्दा बढी किसानको आधार बनेको छ।

    सन्देश : कृषिमा कुनै लाज छैन
    “कृषिकर्म गरेर कोही पनि सानो हुँदैन,” उपप्रमुख क्षेत्रीको भनाइ छ, “जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यसलाई व्यावसायिक रूपमा अँगाल्नुपर्छ भन्ने सन्देश म सधैं दिन्छु।”

    राजनीति र कृषिकर्मलाई सँगै अघि बढाइरहेकी क्षेत्रीको यात्रा आजको युवापुस्ता र जनप्रतिनिधिहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

    प्रकाशित : शुक्रबार, ९ जेष्ठ २०८२ , ०७:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend