– लोकसारथि संवाददाता, काठमाडौं ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आशंका झन् बलियो बन्दै गएको छ। यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्पष्ट माग गरेको छ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्री लेखकले आफ्नो पदमा रहँदा छानबिन स्वतन्त्ररूपमा अघि बढ्न नसक्ने अवस्था देखिएको भन्दै राजीनामाको माग गरेका हुन्।
“छानबिनका क्रममा पावरको दुरुपयोग भइपर्ने सम्भावना छ। गृहमन्त्रीको पदमा रहेर छानबिनमा प्रभाव पार्ने सम्भावना उच्च छ, त्यसैले उहाँले तुरुन्तै राजीनामा दिएर निष्पक्ष छानबिनको बाटो खुला गर्नु पर्छ,” सापकोटाले स्पष्ट पारे।
सापकोटाका अनुसार अध्यागमन कार्यालयमार्फत नेपाली नागरिकहरूलाई भिजिट भिसामा विदेश पठाउने गिरोहमा गृहमन्त्रालयका कर्मचारीहरू समेत मुछिएको छ। प्रश्न उठेको अवस्थामा जिम्मेवार मन्त्रीको नैतिक दायित्व हुने भन्दै उनले लेखकको तुरुन्तै राजीनामा आवश्यक रहेको बताए।
शेखर कोइरालाको समर्थन, कांग्रेसभित्रै मतभेद
यता नेपाली कांग्रेसभित्र पनि गृहमन्त्री लेखकको राजीनामासम्बन्धी फरक मत देखिएको छ। पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्पष्ट रूपमा गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनको बाटो खुला गर्नुपर्ने धारणा राखेका छन्।
“मैले केही गलत गरेको छैन, तर नैतिकताका लागि राजीनामा दिएँ भने पनि त्यो उच्चताको प्रतीक हुन्छ,” कोइरालाले भने, “गम्भीर अनुसन्धानका लागि यसले उदाहरणीय मार्गचित्र देखाउँछ।”
उनीका अनुसार विगतमा अन्य मन्त्रीहरूले पनि अनुसन्धानलाई सहज बनाउन राजीनामा दिएका थिए र यसले उनीहरूको नैतिक उचाइ कायम गरेको थियो।
देउवा समूहको बचाउ : अफवाहका आधारमा राजीनामा नदिने
तर नेपाली कांग्रेसको आधिकारिक धारणा भने गृहमन्त्री लेखकलाई बचाउने पक्षमा रहेको छ। आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले राजीनामाको माग अस्वीकार गर्दै भने–
“सामाजिक सञ्जालका अफवाह वा मिडियामा आएका अड्कलबाजीको भरमा राजीनामा माग गर्नु अनौचित्य हो। न गृहमन्त्री लेखक छानबिनको प्रत्यक्ष दायरामा पर्नु भएको छ, न आरोप दर्ता भएको छ।”
उनले रवि लामिछाने प्रकरणमा भने आरोप दर्ता भएपछि मात्र संसदीय छानबिन समिति गठन भएको स्मरण गराउँदै, लेखकविरुद्ध हालसम्म कुनै ठोस प्रमाण वा प्रक्रिया सुरु नभएको जिकिर गरे।
छानबिनको बाटो खुला गर्न राजीनामा अपरिहार्य : नागरिक समाजको माग
यस प्रकरणमा विभिन्न दल, नागरिक समाज तथा स्वतन्त्र विश्लेषकहरूले भने गृहमन्त्री लेखकको नैतिक जिम्मेवारीबारे प्रश्न उठाउँदै राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमै सहभागी पार्टीले राजीनामाको माग गरिसकेको अवस्थामा, यो घटनाले सरकारभित्रै विश्वसनीयताको संकट र आन्तरिक मतभेद गहिरिएको सङ्केत गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
