logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

सरकारको अपूर्णता र जेनजी असन्तुष्टिः राष्ट्रपति पौडेलको सक्रिय पहल, शीतल निवासमा छलफल जारी

सरकारको अपूर्णता र जेनजी असन्तुष्टिः राष्ट्रपति पौडेलको सक्रिय पहल, शीतल निवासमा छलफल जारी


  • बिहिबार, असोज ३० २०८२
  • 624
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सरकार गठन भएको एक महिना पूरा हुन लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय भएका छन्। सरकारले अझै पूर्णता नपाएको र जेनजी (Gen Z) समूहले अघि सारेका मागहरू सम्बोधनमा कठिनाइ उत्पन्न भएपछि, राष्ट्रपति पौडेलले निकासका लागि सीधा पहल थालेका हुन्।

    शीतल निवासमा अहिले प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरू र जेनजीका प्रमुख प्रतिनिधिहरूबीच छलफल जारी छ। राष्ट्रपति पौडेलले यसअघि पनि जेनजी प्रतिनिधिहरूसँग भेट गरेर “एकजुट भएर आउनुहोस्, तबमात्र समाधान सम्भव हुन्छ” भन्ने आग्रह गरेका थिए।

    आजको छलफलमा जेनजी तर्फबाट सहभागी प्रतिनिधिहरूमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजव श्रीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी रहेका छन्।

    राष्ट्रपति पौडेलको सचिवालयका अनुसार छलफलमा जेनजीको नीति निर्माणमा प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता, र युवा सशक्तीकरणका कार्यक्रमहरूमा उनीहरूको भूमिकाबारे विस्तृत कुराकानी भइरहेको छ।

    स्रोतका अनुसार, जेनजी समूहका केही मागहरूमा सरकार सकारात्मक रहेको छ तर समूहभित्रै मतभेद र विभाजनका कारण सहमति जुट्न नसकेको बताइन्छ। राष्ट्रपति पौडेलले सबै पक्षलाई संवाद र सहमतिको बाटोबाट स्थायित्व खोज्न आग्रह गरेका छन्।

    शीतल निवासमा जारी यो छलफललाई सरकारको पूर्णता र युवा सहभागिताको दिशा निर्धारण गर्ने निर्णायक बैठकका रूपमा हेरिएको छ।

    प्रकाशित : बिहिबार, ३० असोज २०८२ , ०७:२३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend