logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

लमजुङमा मह उत्पादन : १८ करोडको मह बिक्री

लमजुङमा मह उत्पादन : १८ करोडको मह बिक्री


  • मंगलबार, माघ ८ २०८१
  • 2.1K
    SHARES

    लोकसारथि, ८ माघ । लमजुङ जिल्लामा यस वर्ष मह उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार, गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव ६ टनले मह उत्पादनमा वृद्धि भएको हो। यो वर्ष १७ हजार एक सय ९७ मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको जानकारी दिइएको छ।

    सूचना अधिकारी सरोज थापाका अनुसार, यस वर्ष महको बिक्री मूल्य प्रति किलो रु एक हजार पाँच सय रहेको छ र यसबाट किसानले कुल रु १८ करोड आम्दानी गरेका छन्। गत वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एक सय ११ दशमलव ३ टन मह उत्पादन भएको थियो, र महको बिक्री मूल्य प्रति किलो रु ९०० देखि १,००० सम्म रहेको थियो, जसबाट किसानले नौ करोडभन्दा बढी आम्दानी गरेका थिए।

    लमजुङमा मह उत्पादनमा बढ्दो वृद्धि देखिएको छ। २०७९ सालमा १० हजार २५ मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो भने २०७८ मा ११ हजार पाँच सय घारबाट ३० टन मह उत्पादन भएको थियो।

    सुन्दरबजार नगरपालिकामा यस वर्ष सबैभन्दा बढी मह उत्पादन भएको छ। यहाँ चार हजार पाँच सय घारबाट ३६ हजार केजी मह उत्पादन गरिएको छ र यसबाट रु पाँच करोड ४० लाख आम्दानी भएको छ। लमजुङका उत्पादित मह काठमाडौँ, पोखरा र चितवन लगायतका बजारमा बेचीन्छ।

    जिल्लामा अब किसानहरूले आधुनिक मौरीपालन प्रविधि प्रयोग गरेर मह उत्पादन गर्दै आएका छन्। नेपाल मौरीपालक महासंघका अनुसार, लमजुङका सुन्दरबजार, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका मह उत्पादनका प्रमुख क्षेत्रहरू बनेका छन्। यस क्षेत्रका तीन सय ८२ भन्दा बढी मौरीपालक किसानहरूले आधुनिक प्रविधिको प्रयोग गरेर मह उत्पादनमा वृद्धि गरेका छन्।

    कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले, पहिला सौखले मौरीपालन हुने गरेको भए पनि अहिले किसानहरूले यसलाई व्यवस्थित र आधुनिक प्रविधिमा आधारित बनाएका कारण मह उत्पादनमा वृद्धि भएको बताएका छन्।

    कृषि ज्ञान केन्द्रले यस वर्ष १२५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो, र कार्यालयले मौरीपालन सम्बन्धी तालिमहरू प्रदान गर्दै आएको छ।

    लमजुङमा मह उत्पादनमा वृद्धि हुने क्रमले जिल्लाका किसानहरूको आम्दानीमा सुधार ल्याएको छ र यस क्षेत्रको कृषि उत्पादनमा नयाँ आयाम थपिएको छ।

    प्रकाशित : मंगलबार, ८ माघ २०८१ , ०६:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend